लुम्बिनीका ८ उत्कृष्ट किसान सम्मानित – Nepal Press

लुम्बिनीका ८ उत्कृष्ट किसान सम्मानित

रुपन्देही । लुम्बिनी कृषि विकास निर्देशनालयले प्रदेशका ८ जना उत्कृष्ट किसानलाई नगदसहित पुरस्कृत गरेको छ ।

मंगलापुरमा आयोजित विशेष कार्यक्रममा उनीहरूलाई नगद ८ हजार (कर कट्टी) सहित सम्मान गरिएको हो ।

कृषि तथा भूमि व्यवस्था मन्त्रालयका सचिव यामनारायण देवकोटा, निर्देशनालयका निमित्त प्रमुख रामप्रसाद पाण्डे, मन्त्रालयका प्रवक्ता तथा प्रमुख नापी अधिकृत भूमिश्रोत नक्सांकन महाशाखा प्रमुख अनिल मरासिनी, वरिष्ठ बाली संरक्षण अधिकृत खाद्य सुरक्षा तथा कृषि व्यवसाय प्रवर्द्धन महाशाखा प्रमुख घनश्याम चौधरी , पशुपंक्षी तथा मत्स्य विकास निर्देशनालय बुटवलमा निमित्त प्रमुख डा. प्रवेश सिंह कुँवर, प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना रुपन्देहीका प्रमुख नारायण काफ्लेले संयुक्त रूपमा किसानलाई सम्मान गरे ।

सम्मानित हुनेमा खाद्यान्न बालीतर्फ राजापुर बर्दियाका किसान पहारी चौधरी, रोल्पाका किसान तिलक खड्का, दाङका मौरी किसान माधव केसी, नवलरासीका च्याउ किसान नरेश जयसवाल, पाल्पाका तरकारी किसान सुदर्शन पन्त, दाङका तरकारी किसान राजु थापा, मसलवालीतर्फ पाल्पाका किसान जनकप्रसाद आचार्य र मसालावी तराईतर्फ लुम्बिनी साँस्कृतिक नगरपालिका १२ का किसान प्रकाश गुप्ता छन् ।

कार्यक्रममा कृषि तथा भूमि व्यवस्था मन्त्रालयका सचिव यामनारायण देवकोटाले किसानको मिहिनेतबाट नै प्रदेश सरकार सफल हुने भन्दै उत्कृष्ट किसानलाई बधाई ज्ञापन गरेका थिए । उनले खाद्य सुरक्षामा प्रदेश कमजोर नभएको बताउँदै उत्पादित वस्तु खाद्यान्नको लागि मात्रै प्रयोग गर्ने, खाद्यान्नमा पनि विविधिकरण गरेर उपभोग गर्ने बानीको विकास गर्नसकेमा यसले खाद्य सुरक्षामा महत्वपूर्ण भूमिका निर्वाह गर्ने बताएका थिए ।

कार्यक्रममा प्रदेशमा खाद्य तथा पोषण सुरक्षाको अवस्था, भावी, कार्यदिशा तथा अवलम्बन गर्नुपर्ने पक्षहरुको विषयमा प्रदेशको कृषि तथा भूमि व्यवथा मन्त्रालयका वरिष्ठ बाली संरक्षण अधिकृत घनश्याम चौधरीले कार्यपत्र प्रस्तुत गरेका थिए ।

यस्तै जीवन र खाद्यको आधार पानीको विषयमा प्रदेशको पशुपंक्षी तथा मत्स्य विकास निर्देशनालयका निमित्त प्रमुख परवेश सिंह कुँवरले कार्यपत्र प्रस्तुत गरेका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर