चाडबाडमा अपराध रोक्न रानी नाकामा तालिम प्राप्त कुकुरद्वारा चेकजाँच – Nepal Press

चाडबाडमा अपराध रोक्न रानी नाकामा तालिम प्राप्त कुकुरद्वारा चेकजाँच

विराटनगर । दसैँ तिहार लगायतका चाडबाडलाई लक्षित गरी सीमा अपराध हुन नदिन प्रहरीले तालिम प्राप्त कुकुर सहितको टोलीले चेकजाँच सुरु गरेको छ ।

चाडबाडका बेला सीमा क्षेत्रमा अपराध बढ्ने विश्लेषणका आधारमा प्रहरीले सुरक्षा सतर्कता बढाउँदै तालिम प्राप्त कुकुरको सहयोगमा चेकजाँच सुरु गरेको हो ।

मोरङको विराटनगर रानी स्थित सीमा नाकामा तालिम प्राप्त कुकुर सहितको प्रहरी टोलीले अहिले कडाइका साथ चेकजाँच सुरु गरिएको छ । कोशी प्रदेशको मुख्य नाका रहेको विराटनगरको जोगवनी तथा आसपासको सीमावर्ती क्षेत्रबाट हुन सक्ने लागु औषध ओसार पसार, विस्फोटक पदार्थ तथा अन्य आपराधिक गतिविधि नियन्त्रणको लागि २ वटा तालिम प्राप्त कुकुर सहितको प्रहरीले टोलीद्वारा चेकजाँच सुरु गरिएको कोशी प्रदेश प्रहरी प्रमुख डिआइजी राजेशनाथ बास्तोलाले बताए ।

उनका अनुसार कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरको “सुरक्षा सुनिश्चितता अभियान २०८०“ अन्तरगत सीमा क्षेत्रमा कडाइ गरिएको डिआइजी बास्तोलाले बताए ।

‘चाडबाडका बेला सबै जना रमाइलोमा केन्द्रित हुन्छन् यस्तो बेलामा सीमा वारपार अपराध बढ्न सक्छ ।’ बास्तोलाले भने, ‘सीमा वार पार अपराध नबढोस् भन्नाले सीमामा कडाइ गरिएको हो ।’

यस्तै सशस्त्र प्रहरीले चाडपर्वलाई लक्षित गरेर सीमा क्षेत्रबाट हुने आवतजावतलाई सहज एवं व्यवस्थित बनाउन प्रभावकारी ‘हेल्प डेस्क’को स्थापना तथा सञ्चालन गर्ने गरेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर