कहीँ नभएको जात्रा एनआरएनमा- निर्विरोध निर्वाचित भन्दै ‘हरुवा’ हरूको विजय उत्सव – Nepal Press

कहीँ नभएको जात्रा एनआरएनमा- निर्विरोध निर्वाचित भन्दै ‘हरुवा’ हरूको विजय उत्सव

परराष्ट्रमन्त्री र अर्थमन्त्रीले पराजित टीमलाई भेटे, जित्नेलाई भेट्न अस्वीकार

काठमाडौं । गैरआवासीय नेपालीहरूको संगठन (एनआरएनए) को ११ औं महाधिवेशन हास्यास्पदरूपमा भद्रगोल बनेको छ । ६ दिनअघि सुरू भएको महाधिवेशनको औपचारिक समापन अझै भएको छैन, तर प्रतिनिधिहरू आफैं आजित भएर महाधिवेशनस्थलबाट तितरवितर भइसकेका छन् ।

महाधिवेशनको तेस्रो दिन एनआरएनको नयाँ नेतृत्वका लागि चुनाव भएको थियो । त्यसको भोलिपल्ट अर्थात् शुक्रबार महाधिवेशन औपचारिकरूपमा समापन हुने तालिका थियो । तर, अनलाइन भोटिङको मतपरिणाम प्रकाशित गर्दा भएको एउटा प्राविधिक त्रुटिलाई उछालेर पराजित समूहले यति ठूलो बबण्डर मच्चायो कि एनआरएनए अन्ततः दुई फ्याक भएको छ ।

पराजितहरूले हिजो मध्यरातमा छुट्टै कार्यसमितिको घोषणा गरेका छन्, जसको अध्यक्ष छन् अध्यक्षमा पराजित उम्मेदवार आरके शर्मा । त्यसपश्चात असन्तुष्ट पक्षको कब्जामा रहेको एनआरएनको आधिकारिक इमेलबाट सञ्चारमाध्यमलाई विज्ञप्ति पठाइयो । जसमा महाधिवेशनको बन्दसत्रले शर्माको अध्यक्षतामा नयाँ कार्यसमितिको निर्विरोध निर्वाचित गरेको उल्लेख छ । त्यही विज्ञप्तिलाई सर्लक्कै समाचार बनाएर केही सञ्चारमाध्यमले आफ्नो हविगत पनि उजागर गरे ।

महाधिवेशनबाट अध्यक्षमा एमालेनिकट डा. बद्री केसी विजयी भएका थिए । माओवादीनिकट शर्मा मुख्य प्रतिस्पर्धी र कांग्रेस निकट महेशकुमार श्रेष्ठ तेस्रो भए । निर्वाचन समितिले केसीलाई विजयी घोषणा गरेसँगै हारेका दुई उम्मेदवार शर्मा र श्रेष्ठ उनीविरुद्ध एकगठ भए । अन्य पराजित उम्मेदवारहरू (एकाध विजयी पनि) ले उनीहरूलाई साथ दिए ।

चुनाव परिणाममा उपाध्यक्षका एक उम्मेदवार डा. केशव पौडेलको काठमाडौंबाट आएको मत संख्या प्राविधिक गडबडीका कारण शून्य देखिएको थियो । यो सामान्य प्रक्रियाबाट २४ घन्टाभित्र सर्टआउट हुनसक्ने समस्या थियो । तर, पराजितहरूले यसैलाई त्यान्द्रो बनाएर झुण्डिए । उनीहरूले भोटिङ सिस्टम नै ह्याक गरेर डा. केसी विजयी बनेको आरोपसम्म लगाए र परिणाम अस्वीकार गर्ने घोषणा गरे । स्मरणीय यो छ कि अष्ट्रेलियाको भेरो कम्पनीलाई अनलाइन भोटिङको जिम्मा दिने निर्णय अध्यक्षमा पराजित शर्मा र श्रेष्ठसहितको समितिले नै गरेको थियो ।

अष्ट्रेलियाको भोटिङ कम्पनी ‘भेरो भोटिङ’ २० वर्षअघि स्थापना भएको ख्यातीप्राप्त संस्था हो । यसले अष्ट्रेलियाका दर्जनौं सरकारी अनलाइन भोटिङ्ग सफलरूपमा सम्पन्न गराएको छ । यसले एनआरएनएको पनि ९ देशको अनलाइन भोटिङ्ग यसअघि गराएको थियो । अमेरिका, अष्ट्रेलिया कतार, माल्टा, बेलायत, क्यानडा, जापान, कतार लगायतका देशको निर्वाचन भेरोले गराएको हो । कुनै अमूक उम्मेदवारले यस्तो कम्पनीको सिस्टम ह्याक गरेर आफूलाई विजयी घोषणा गराउन सम्भव नै छैन । हारेका उम्मेदवारहरूले पराजय स्वीकार गर्न नसकेरै भेरोमाथि प्रश्न उठाएका थिए ।

खासमा जून शून्य भोटको विषयमा प्रश्न उठाइएको थियो, त्यसको निवारण भइसकेको छ । उपाध्यक्षका उम्मेदवार केशव पौडेलको अंग्रेजी स्पेलिङ ग्लोबल भोटिङ र नेपालको भोटिङमा फरक परेको थियो । त्यही भएर नेपालमा आएको भोट सिस्टमले काउन्ट गरेन । यस विषयमा निर्वाचन समितिले भेरोसँग पत्राचार गरेर बुझ्ने काम गर्‍यो । जुम मिटिङसमेत आयोजना गरियो । सबै निर्वाचन प्रक्रिया स्थगित गर्दै निर्वाचित अध्यक्ष डा. केसी, दुई प्रत्याशी शर्मा र श्रेष्ठ सहित निर्वाचन समितिका संयोजक यादव ढुङ्गाना, मना केसी, चिरञ्जिवी ढकाल, सोनम लामा, प्रकाश धमला ‘भेरो भोटिङ’ कम्पनीका सञ्चालक तथा प्राविधिकसँग जुम बैठकमा सहभागी भएका थिए । जुम बैठकमा पूर्वअध्यक्ष जीवा लामिछाने, कुमार पन्त, संस्थापक भीम उदास, रामप्रताप थापा पनि सहभागी थिए । यसैगरी जुम बैठक प्रतिनिधिहरूको लागि पनि खुल्ला गरिएको थियो ।

उपाध्यक्ष डा. विनोद श्रेष्ठका अनुसार निर्वाचनमा भएको प्राविधिक त्रुटि बारेमा डा. केसी, शर्मा र श्रेष्ठले ‘भेरो भोटिङ’ का सञ्चालकसँग पालै-पालो प्रश्न गरेका थिए । डा. केसीले सोधेका थिए, ‘कुनै कमजोरी गर्नुभएको छ भने तपाईँहरू अदालतमा उभिन वा कारवाहीको भागीदार बन्न तयार हुनुहुन्छ ?’ डा.केसीलाई ‘भेरो भोटिङ’ का सञ्चालकहरूको उत्तर थियो, ‘हामी त्यसको लागि तयार छौं ।’

‘भेरो भोटिङ’ को अनुसार डा. केशव पौडेलको अन्तिम स्पेलिङमा प्राविधिक त्रुटि भएको थियो । प्रवासबाट गरिएको मतदानमा डा. पौडेलको अन्तिम अल्फाबेट ‘भी’ कायम भएको थियो । तर, नेपालबाट भएको मतदानमा अन्तिम स्पेलिङ ‘बी’ कायम भएको थियो । पछि ‘चेक’ गर्दा नेपालबाट उनलाई ३ सय ५६ मत प्राप्त भएको देखियो । प्रवासबाट १२ सय ४४ र नेपालबाट ३ सय ५६ मत गरी १६ सय मत प्राप्त गरी उनी उपाध्यक्षमा विजय भएको ‘भेरो भोटिङ’ ले उल्लेख गरेको छ । तर, पौडेल यो परिणाम अस्वीकार गर्दै पराजित टीमतिर लागेका छन् ।

‘भेरो भोटिङ’ ले अपडेटिङ्ग र अडिटिङ्ग गरेर अन्तिम नतिजा सहितको घोषणापछि निर्वाचन समितिले शनिबार (४ कात्तिक २०८०) राजधानीको होटल सोल्टीमा निर्वाचन समितिले नवनिर्वाचित कार्यसमितिलाई पद तथा गोपनीयताको शपथ गरायो ।

शनिबार होटल सोल्टीमा डा. केसीसहितलाई शपथ गराइरहेको बेला उता राजधानीको होटल हिमालयमा अध्यक्षमा पराजित शर्मा र श्रेष्ठसहितले अर्को भेला गरिरहेका थिए । उनीहरूको उही दाबी थियो, ‘अनलाइन भोटिङ गराउने अष्ट्रेलियाको कम्पनी भेरो भोटिङ कम्पनीको सिस्टम कब्जा गरेर डा. केसी समूहले ‘धाँधली’ गर्‍यो ।’

शर्माले आईटी विज्ञ राखेर निर्णय गरौँला भनेर गरेका सहमति तोड्नुले नै धाँधली भएको स्पष्ट हुने बताए ।

उनले भने, ‘आइटी विज्ञ राखेर निर्णय गरौँला भन्नुभएको थियो, त्यो नभइसकेपछि उहाँहरूले धाँधली गरेर जितेको स्पष्ट हुन्छ ।’

मतपरिणाममा भएको त्रुटिबारे १५ दिनभित्र अनुसन्धान गर्ने सहमति विजयी पक्षले तोडेको उनको दाबी छ ।

शर्मा र श्रेष्ठलाई पत्र पठाउने संस्थापन पक्षको निर्णय

शनिबार सपथ ग्रहणलगत्तै संस्थापन पक्षबाट नवनिर्वाचित कार्यसमितिको बैठक केन्द्रीय सचिवालय बालुवाटारमा राखिएको छ । बैठकले मत परिणामको बारेमा उब्जिएको प्रश्नको छानबिन गर्न अन्तराष्ट्रिय समिति बनाउने र त्यसका लागि अध्यक्षका प्रत्याशी शर्मा र श्रेष्ठलाई पत्र पठाउने निर्णय गरेको छ ।

बैठकले डा. केसी, शर्मा र श्रेष्ठको प्रविधि विज्ञ अथवा तीनैजनाले तोकेको प्रविधि कम्पनी रहेको छानबिन समिति बनाउनका लागि नाम माग्ने निर्णय गरिएको उपाध्यक्ष डा. श्रेष्ठले बताए ।

सूचना प्रविधिसम्बन्धी अडिट गर्ने अन्तर्राष्ट्रिय संस्थाबाट निर्वाचन विवाद अडिट गराई प्राप्त हुने प्रतिवेदनलाई आफूहरूले स्वीकार गर्ने अध्यक्ष डा. केसीको भनाई छ ।

‘कहीँ कतै कमजोरी रहेछ भने हामी पद छोड्न तयार छौं,’ डा. केसीले भने ।

परराष्ट्रमन्त्री र अर्थमन्त्रीले भेटे असन्तुष्ट समूह

गठबन्धननिकट भएकाले पराजित समूहले बनाएको कार्यसमितिलाई सरकारको सहानूभूति छ । यद्यपि, अहिलेसम्म सरकारले दुवै समूहलाई मान्यता दिइसकेको छैन ।

असन्तुष्ट समूहको दबाबमा प्रधानमन्त्री पुष्पकमल दाहाल महाधिवेशन समापन कार्यक्रममा अनुपस्थित भएका थिए । त्यसपछि समापन कार्यक्रम नै हुन सकेको छैन । महासचिवको प्रतिवेदनसमेत पास भएको छैन । प्रतिनिधिहरू तितरवितर भइसकेकाले प्रतिवेदन पारित गर्न आवश्यक गणपूरक संख्या दुवै समूहले पुर्‍याउन सक्ने स्थिति छैन । तर, असन्तुष्ट समूहले भने यत्तिकै महासचिव र कोषाध्यक्षको प्रतिवेदन पारित भएको घोषणा गरेको छ ।

यता, दुवै समूह सरकारको समर्थन लिने प्रयासमा छन् । माओवादीनिकट भएकाले प्रधानमन्त्रीले नै शर्माको अवैध क्रियाकलापलाई संरक्षण गरेको आरोप लागेको छ । यद्यपि, दुवै समूहलाई अहिलेसम्म प्रधानमन्त्रीले भेट दिएका छैनन् ।

यसैबीच शर्मा नेतृत्वको कार्यसमितिले अर्थमन्त्री डा. प्रकाशरण महत र परराष्ट्रमन्त्री एनपी साउदसँग छुट्टाछुट्टै भेट गरेको छ । दुवै मन्त्रीले एनआरएनएको नवनिर्वाचित कार्यसमितिलाई बधाई तथा शुभकामना दिएको दाबि असन्तुष्ट समूहको विज्ञप्तिमा गरिएको छ । संस्थापन समूहको कार्यसमितिलाई भने अर्थमन्त्री र परराष्ट्रमन्त्री दुवैले भेट दिएका छैनन् ।

बालुवाटार कार्यालय खोसाखोस हुने

एनआरएनए फुटेसँगै बालुवाटारमा रहेको संस्थाको कार्यालय कब्जा गर्न दुवै समूहले प्रयास गर्ने भएका छन् । अहिले सो कार्यालय केसी नेतृत्वको टीमको नियन्त्रणमा छ । तर, सरकारले आफूहरूलाई मान्यता दिनेमा आशावादी देखिएको शर्माको टीम पनि बालुवाटार छोड्ने पक्षमा छैन । यसले आगामी दिनमा दुई समूहबीच गम्भीर मुठभेड हुन सक्ने स्रोत बताउँछ ।

अगूवाहरूको यस्तो शैलीले एनआरएन पंति भने दिक्क र लज्जित बन्न थालेका छन् । नेपालमा सुसंस्कृत राजनीतिको पाठ पढाउन आएकाहरू नै कुर्सीको घृणित खेलमा लागेकोप्रति उनीहरूको चिन्ता छ ।

‘हामीलाई एनआरएन भन्न लाज हुने अवस्था आयो, यति तल्लोस्तरको राजनीति त नेपालका नेताहरूले पनि गर्दैनन्,’ एक प्रतिनिधिले भने ।


प्रतिक्रिया

4 thoughts on “कहीँ नभएको जात्रा एनआरएनमा- निर्विरोध निर्वाचित भन्दै ‘हरुवा’ हरूको विजय उत्सव

  1. यी गठबन्धनका टट्टु हुन् । यिनले हारेपछि धाधलि भने । यिनलाई चाहिएको पद हो । एनआरएन भन्ने ,पैसा उठाउने खाने र गठबन्धनका लुटेराहरूलाइ बाँडने । यो झुण्ड लुटेराहरूको नोकर हो ।

  2. यी दुई मन्त्रीको पारा हेर फेरि । जित्नेलाई नभेटने हार्नेलाई माला लगाउन जाने । माला लगाए बापत दक्षिणा बुझ्न गएको हो कि ? लठबन्धन भनेको दिल्लीका टट्टुहरूको झुण्ड हो । यिनको काम देश लुटने, दिल्लीको गुलामी गर्ने र एमालेलाई दिल्लीकै आदेश बमोजिम कमजोर पार्ने हो । बद्री केसि एमाले निकट भएपछि यिनलाई दिल्ली ले हप्कायो । क्या देख रहे हो ? ओलि शक्तिशालि हो जा रहा हे । तुम लोगको यिसी लिए खिलाया था ? भनेर गालि गरेपछि लठबन्धनले यी झल्लुरामहरूलाई माला लगाउने नै भयो ।

  3. हरुवाहरुले आफुले आफैलाई बिजयी घोषणा गरेछन :: निर्वाचित गरेछन !!
    यो गठबन्दनको राजमा कत्ती हो हौ नौटंकी !! अब, कही कतै चुनाव भयो भने उनिहरुले जित्नै पर्छ नत्र ‘घर’ फोडिन्छ !! कत्ती बिक्रित, कत्ती अनैतिक कत्ती कत्ती गतिछाडा, कत्ती लाज्मर्दो : हैट :: कस्कस्ले देखेका छौ छोप है आँखा : गाह्रो भयो हेर्न !!

  4. कस्तो सरकार यो? रास्ट्रपति हत्यारालाई माफी दिने। मन्त्री हरूवालाई माला लगाईदिएर बधाई दिने।

Leave a Reply

Your email address will not be published. Required fields are marked *