सम्झँदै हिँड्न मन लाग्दैन यात्रु र चालकलाई, छैन कुनै विकल्प – Nepal Press
बुटवल–नारायणगढ सडकः

सम्झँदै हिँड्न मन लाग्दैन यात्रु र चालकलाई, छैन कुनै विकल्प

रुपन्देही । बुटवल–नारायणगढ सडक करिब १ सय किलोमिटर हो । बाटो सहज भए केही पहाडी क्षेत्रको बाटो भएपनि २ घन्टामा पार गर्न सकिन्छ तर यो निर्माण प्रकृयामा देखिएको अस्तव्यस्तताले भने यो बाटो भएर हिँड्ने यात्रु र चालकलाई तेब्बर समय लाग्ने गरेको छ ।

पूर्वपश्चिम राजमार्गको मुख्य सडक रहेको यो बाटोको अन्य विकल्प पनि छैन । बाटो निर्माणका लागि बनाइएका खाल्डाखुल्डी अनि धुलोको उस्तै हैरानी छ । सवारीधनी र चालकलाई पनि यो सडकमा गाडी हिँडाउन मन छैन तर नहिँडि विकल्प छैन ।

नारायणबाट–बुटवल सडकबाट दिनमा हजारौँ निजी तथा भाडााका सवारी साधन गुड्ने गर्दछन् । यही राजमार्ग हुँदै राजधानी तथा पूर्व पश्चिम क्षेत्रमा यात्रुहरू हिँड्नुपर्ने बाध्यता छ ।

अर्घाखाँचीको मालारानी घर भएका चेतनारायण घिमिरे काठमाडौँबाट दसैँका लागि घर आए । काठमाडौँबाट बुटवल आउन उनलाई १५ घण्टा समय लाग्यो । बुटवलको बसपार्कमा भेटिएका घिमिरे नारायणगढ–बुटवल सडक निर्माणका क्रममा खाल्टाखुल्टी, ठाउँठाउँमा बनाइएको ‘वान वे’जस्ता कारणले यात्रामा ढिला भएको बताउँछन् ।

रुपन्देहीको तिलोत्तमाका शंकर खनाललाई बाटोको अवस्था देखेर हिँड्न मनै लाग्दैन तर नहिँडी विकल्प छैन । विकलपमा रहेको भैरहवा काठमाण्डौको हवाई मार्ग पनि उस्तै महंगो छ । पहिले २ घन्टामा चितवन पुग्न सकिन्थ्यो, अहिले त्यहीँ पुग्न ६ घन्टा लाग्छ, कसरी हिँड्ने, सामान्य अवस्थामा त ठीकै हो, बिरामी परेकालाई अझै सास्ती छ, उनले भने ।

सामान्यतः काठमाडौँबाट ६/८ घण्टामा बुटवल आउने यात्रु अहिले १५ घण्टासम्म लगाएर यात्रा गर्न बाध्य छन् । काठमाडौँको आरआर क्याम्पस पढ्ने भण्डारीले दसैँमा घरमा आउँदा बुटवल–नारायणगढ सडकमा खाल्टाखुल्टीका कारण शरीर चलाउन नसक्ने हुने उनको भनाइ छ ।

बुटवल–नारायणगढ सडक निर्माण समयमा नहुँदा यात्रीले सास्ती व्यहोर्नु परेको हो । दुम्कीबासमा सडक छेउछाउमा गिट्टी र बालुवा तथा पर्खाल उठाउने कार्य भइरहेकोले गाडी पास गर्न कठिन भएको बुटवल–काठमाडौँ चल्ने लु१ख १६८६ नम्बरको बसका चालक भोजराज आचार्यले बताए ।

उनले बुटवल–काठमाडौँ रुटमा गाडी चलाउन थालेको ६ वर्ष भयो । उनलाई बुटवल–नारायणगढ सडकको दुरावस्थाले कहिलेकाहीँ दिक्क बनाउँछ । बर्खा लगिसकेपछि ठाउँठाउँमा पहिरोको समस्या त छँदैछ, त्यसमाथि निर्माणाधीन सडक समयमै नबन्दा सास्ती खेप्नुपरेको छ ।

उनलाई अहिले दुम्कीबास क्षेत्रको यात्रा सबैभन्दा झन्झटिलो लाग्ने गरेको छ । चालक आचार्यले काठमाडौँबाट बुटवल आउनेभन्दा अझै महेन्द्रनगर, धनगढी चल्ने लामो दुरीका चालकलाई बढी समस्या हुने गरेको बताए । उनले भने, ‘हामीलाई नै १५ घण्टा लाग्ने भयो अझै धनगढी, महेन्द्रनगर, सुर्खेत जानेहरु झन् समस्यामा छन् ।’

निर्माणाधीन अवस्थामा रहेको बुटवल–नारायणगढ सडकखण्डमा सवारी गुड्न त्यति सहज छैन ।

चालक आचार्यजस्तै भैरहवादेखि काठमाडौँ गाडी चलाउँदै आएका नारायण खनालले पनि सडकको अवस्थाले गर्दा हैरानी खेप्नुपरेको बताए । ‘ठाउँ ठाउँमा खाल्टाखुल्टी छ । प्यासेन्जरहरू उफ्रियो, ढिला भयो भनेर रिसाउनुहुन्छ,’ उनले भने, ‘सडक साँघुरो छ । त्यहीमाथि धुलो र हिलो, हैरानी छ नि हजुर । नयाँ गाडी बिग्रिसक्यो ।’

बुटवल–नारायणगढ सडक विस्तार गर्न थालेपछि यहाँ यात्रु, चालक सबैले दुःख पाएका छन् भने गाडीधनीहरूले सडकका कारण आफ्ना गाडी धेरै बिग्रिएको गुनासो गर्दछन् । यो रुटमा गाडीको टायरदेखि अन्य पार्टपुर्जा छिटो छिटो बिग्रने गरेको पश्चिम नेपाल बस प्रालिका अध्यक्ष दधिराम खरेलले बताए । उनले भने, ‘सडकको कारण गाडी खर्च ५० प्रतिशत वृद्धि भएको छ, महँगो तेल, पार्टपुर्जा उस्तै बिग्रने गरेका छन्, जसले गर्दा हामी मारमा छौँ ।’

उनले २ घण्टामा सरर जाने ठाउँमा ५÷६ घण्टा समय लाग्दा त्यसै तेल धेरै खाने र पार्टपुर्जा टिकाउन पनि गाह्रो हुने गरेको सुनाए ।
२०७५ चैत ८ गते बुटवल–नारायणगढ सडकखण्ड विस्तार आयोजनाको काम अगाडि बढेको हो । ११४ किलोमिटर सडक साढे ३ वर्षमा निर्माण सम्पन्न गर्ने र पाँच वर्षसम्म निर्माण कम्पनीले नै मर्मतको काम गर्ने गरी सम्झौता भएको थियो । तर समयमा निर्माण पूरा नभएपछि म्याद थपेर काम भइरहेको छ ।

यही असोज ४ गते बुटवल–नारायणगढ खण्डमा पर्ने बर्दघाटमा हाइस, ट्रक र माइक्रो बस एकै पटक दुर्घटना भए । एकतर्फी बाटो भएका कारणले हाईस र ट्रक ठोक्किँदा त्यसको असर माइक्रो बसलाई पनि परेको थियो । उक्त दुर्घटनामा मानवीय क्षति नभए पनि सवारी साधनमा क्षति पुगेको छ ।

असोज ७ गते नवलपरासीको ज्यामिरेमा सडकका कारणले नै लु१ख ७६४३ नम्बरको बस पल्टियो । साँघुरो सडकमा निर्माण सामग्री राखिएको थियो । अर्को सवारीलाई साइड दिँदा बस दुर्घटना भएको पश्चिम नेपाल बस प्रालिका सञ्चालक समिति सदस्य एवं दुर्घटना एकाइ संयोजक नारायण घिमिरेले बताए ।

उनले निर्माणाधीन सडकका कारणले असोज १ गते सुनौलामा लु१ख ५४२१ नम्बरको बस र भदौ २१ गते खैरेनीमा लु१ख ९९६५ नम्बरको बस दुर्घटना भएको बताए ।

घिमिरेले भने, ‘पछिल्ला दिन यहाँ सडकका कारणले धेरै दुर्घटना भएको हामीले महसुस गरेका छौँ ।’ यहाँ निर्माण सामग्री, ठाउँठाउँमा पर्खाल लगाउँदा साइड दिन अप्ठ्यारो, खाल्टाखुल्टी आदि कारण दुर्घटना हुने गरेका छन् ।

नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय, बुटवलका प्रमुख एसपी कृष्ण पछाईले दाउन्ने तथा दुम्कीबासलगायत ठाउँमा सडक त्यसै पनि अप्ठ्यारो र अहिले निर्माणाधीन हुँदा दुर्घटना हुने गरेको बताए ।

आधा भएन काम

चाइना स्टेट इन्जिनियरिङ कर्पोरेसनले गैँडाकोटको नारायणी नदी पुलदेखि बुटवलसम्म एक सय १५ किलोमिटर सडक आयोजनालाई दुई खण्डमा विभाजन गरेर ठेक्का सम्झौता गरिएको थियो । नवलपरासी (बर्दघाट सुस्तापूर्व)को गैँडाकोटदेखि दाउन्नेसम्म ६४ दशमलव ४२ किमी सडकलाई खण्ड ‘क’ र दाउन्नेदेखि बुटवलसम्मको ४८ दशमलव ५८ किमीलाई खण्ड‘ख’ कायम गरी विस्तारको काम भइरहेको छ ।

सडक बस्ती क्षेत्रमा छ लेन र जङ्गल क्षेत्रमा चार लेन तथा दाउन्ने पहाडमा तीन लेन विस्तार गर्ने गरी एसियाली विकास बैंक ९एडिबी०को ऋण सहयोगमा कूल रु १६ अर्ब ९९ करोड ५२ लाख लागतमा राजमार्गकोे विस्तार सुरु गरिएको हो ।

लागतको ८५ प्रतिशत रकम एडिबीले ऋण उपलब्ध गराएको छ भने बाँकी नेपाल सरकारकै लगानीमा काम हुने आयोजनाले जनाएको छ । एडिबीले एक दशमलव पाँच प्रतिशत ब्याजदरमा ३२ वर्षमा चुक्ता गर्ने गरी ऋण उपलब्ध गराएको हो ।

साढे तीन वर्षमा सडक निर्माणको काम सक्ने र पाँच वर्षसम्म निर्माण कम्पनीले नै मर्मतको काम गर्ने गरी सम्झौता भएपछि विसं २०७५ चैत ८ गते बुटवल नारायणगढ सडक खण्ड विस्तार आयोजनाको काम अगाडि बढेको थियो ।

यसैगरी नारायणगढ–बुटवल सडक खण्ड विस्तार आयोजना अन्तर्गत पूर्वी खण्डमा अहिलेसम्म ४१ दशमलव १७ प्रतिशत मात्र भौतिक प्रगति भएको छ ।

पूर्वपश्चिम राजमार्गको बुटवल–नारायणघाट सडक खण्डको नवलपरासी (बर्दघाट सुस्तापूर्व)को गैँडाकोटदेखि दाउन्नेसम्मको ६४ दशमलव ४२ किलोमिटरको भौतिक प्रगति मात्रै ४१ दशमलव १७ प्रतिशत पुगेको हो । साढे तीन वर्षमा सडक निर्माणको काम सक्ने र पाँच वर्षसम्म निर्माण कम्पनीले नै मर्मतको काम गर्ने गरी सम्झौता भएपछि २०७५ चैत ८ शिलान्यास गरिएको सडकको पटक पटक म्याद थप्दा पनि भौतिक प्रगतिले अपेक्षित गति लिन नसकेको हो ।

गत २०७९ साउनमा आयोजनाको म्याद सकिएपछि एक वर्षको समय पाएको निर्माण कम्पनीले थपिएको म्याद सकिँदा आयोजनाको भौतिक प्रगति मात्रै १८ प्रतिशत थियो । थपिएको एक वर्षमा पनि आयोजनाले अपेक्षित गति लिन नसकेको टिप्पणी भइरहेको छ । म्याद थपिएको एक वर्ष समय सकिँदासम्म आयोजनाको प्रगति मात्रै ३८ प्रतिशत पुगेको थियो । थपिएको समयमा पनि काम नसकिएपछि २०८० भदौ ११ गतेबाट लागू हुने गरी आयोजनाले काम सम्पन्न गर्न थप तीन सय ३० दिनको समय पाएको छ ।

गत भदौ ११ गते तेस्रो पटक म्याद थपिएको एक महिनाको समयमा तीन प्रतिशत काम सम्पन्न हुँदा आयोजनाको पूर्वी खण्डको समग्र प्रगति ४१ दशमलव १७ प्रतिशत पुगेको आयोजनाका पूर्वी खण्डका आयोजना व्यवस्थापक राकेश झाले बताए ।

“पूर्वी खण्डमा कामदार प्राविधिक गरेर दैनिक पाँच सय ९५ जनाले अहिले काम गरिरहेका छन् भने १३ वटा स्काभेटर, सात ग्रेडर, ११ वटा लोडर, चार वटा क्रेन २८ टिपर, १० पानी बोक्ने ट्याङ्की तथा पाँच कङ्क्रिट बोक्ने गाडीले नियमित काम गरिरहेका छन”, उनले भने, “थप गरिएको समयमा काम सम्पन्न गर्ने गरी निर्माणलाई अगाडि बढाइएको छ ।”

आयोजनाले सडक कालोपत्रे गर्नेकामलाई समेत निरन्तरता दिएको आयोजना व्यवस्थापक झाले बताए । उनका अनुसार अहिलेसम्म पूर्वी खण्डमा १६ किमी बाटो कालोपत्रे गरिएको छ । “नजिकिँदै गरेको चाडपर्वलाई ध्यानमा राखी भत्किएको बाटो मर्मत गर्ने कामलाई पनि अगाडि बढाइएको छ”, उनले भने, “गैँडाकोटबाट भत्किएको बाटो मर्मत गर्ने र खाल्डाखुल्डी पुर्ने कामलाई निरन्तरता दिइएको छ ।”

पूर्वी खण्डमा भएका साना पुलको काम सकिनुका साथै १२ ठूला पुलमध्ये ११ को सब स्ट्रक्चरको काम सकिएको सडक आयोजनाको पूर्वी खण्ड हेर्ने कार्यालयका सूचना अधिकारी एवं इन्जिनियर धीरज ढकाले बताए ।

“पूर्वी खण्डमा ५० प्रतिशतको हाराहारीमा बिजुलीको पोल सार्ने काम सकिएको छ”, उनले भने, “बजार क्षेत्र तथा कार्यालय भएका क्षेत्रमा बिजुली सट डाउन गर्न समस्या हुने गरेकाले बिदाको दिन मात्रै बिजुलीको पोल सार्ने गर्नुपरेकाले काममा ढिलाइ भएको छ ।”


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *