यूएईविरुद्ध करणको महंगो बलिङ, नेपाललाई स्पिनरको कमि खट्कियो
काठमाडौं । घरेलु मैदानमा त्रिकोणात्मक टी–२० प्रतियोगितामा पहिलोपटक नेपालले प्रतिस्पर्धी टिमबाट बलियो चुनौति पाएको छ । यसअघिका तीनवटा खेलमा एकपक्षीयरुपमा जित हासिल गरेको नेपाललाई आज यूएईले कडा चुनौति तेस्याएकाे हो ।
टस जितेर नेपालले यूएईलाई पहिलो ब्याटिङमा निम्त्याएको थियो । यूएईले खराब सुरुवात गर्दै २८ रनमा दुई विकेट गुमाए पनि १६४ रनको बलियो स्कोर खडा गर्न सफल भयो । विकेट गइरहँदा पनि यूएईका ब्याट्सम्यानहरुले आक्रामक रवैयालाई निरन्तरता दिएका थिए ।
छैटौं नम्बरमा आउका बसिल हमिदले नेपालका बलरहरुको राम्रै धुलाइ गरे । उनले १९ बलमा ५ छक्कासहित ४५ रन जोडेपछि यूएईले बलियो स्कोर खडा गरेको हो ।
आजको म्याचमा नेपालका प्रमुख फास्ट बलर करण केसीको आँकडा निकै खराब रह्यो । उनको चार ओभरमा यूएईका बलरहरुले ५३ रन बटुले । बसिलले करणको एकै ओभरमा १८ रन लिएका थिए । अन्तिम ओभरमा सान्त्वनाका रुपमा एक विकेट करणलाई प्राप्त भयो, तर त्यतिबेलासम्म उनको बलिङलाई यूएईका ब्याट्सम्यानलाई धुजाधुजा बनाइसकेका थिए ।
सोमपाल कामीले सुरुवातमै दुई विकेट लिएर यूएईलाई दवावमा राखेका थिए । तर, उनले पनि रनका फ्लोमा अंकुश लगाउन सकेनन् । सोमपालले ४ ओभरमा ३३ रन खर्चिए । अर्का फास्ट बलर अविनाश बोहराले अलि राम्रो बलिङ गरे । उनले ४ ओभरमा २८ रन खर्चिएर दुई विकेट लिए ।
नेपाललाई स्पिनरको अभाव खट्कियो । चार जना फास्ट बलर खेलाएको नेपालले प्लेइङ ११ मा कोही पनि स्पेसलिस्ट स्पिनर राखेको थिएन । तर, स्पिनरलाई आजको पिचमा मौका थियो भन्ने कुशल मल्लको बलिङबाट देखिन्छ । उनले ४ ओभरको बलिङ कोटा पूरा गर्दा १० रन मात्रै खर्चिएका छन्, यद्यपि, विकेट लिन सकेनन् ।
अलराउन्डर दिपेन्द्र सिंह ऐरीलाई बलिङमा कप्तानले १ ओभर मात्रै दिए । आफ्नो पहिलो ओभरमा उनले १८ रन खर्चिएपछि फेरि बलिङ गर्ने मौका पाएनन् ।