एनआरएनको कुम्भ मेलामा झाँक्रीको हुङ्कार र मेरो दुई आपत्ति
रामकुमारी झाँक्री अहिले सामाजिक सञ्जालमा भाइरल बनेकी छन् । एउटा भनाइ छ- यदि तपाईँले आफूलाई धेरै मानिसले चिनुन् भन्ने इक्षा राख्नुहुन्छ भने उटपट्याँग काम वा कुरा गर्नस् । रामकुमारी झाँक्रीले पनि यही बाटो अपनाइन् ।
सामान्यतया यदि कसैले तपाईँलाई अतिथी बनाएर निम्ता गरेको छ भने तपाईँले होस्टकै मञ्चबाट होस्टकै आलोचना गर्ने हिम्मत राख्नुहुन्न । यहाँसम्मकी हाम्रा नेताहरू अतिथि हुन पाउँदा यतिसम्म झुक्न सक्छन् कि तिमीले नै मलाई प्रधानमन्त्री बनाइदिएका हौ सम्म भन्न पुग्छन् । तर, रामकुमारी झाँक्रीले भने आफूलाई अलग्गै देखाउने हिम्मत गरिन् ।
अब जाऔं कुराको चुरो तर्फ
२००३ ताका रस्सामा बस्ने भीम उदास, उपेन्द्र महतो, जीवा लामिछानेलगायतका अगुवाहरूले गैर आवासीय नेपालीहरूको संगठन गठन गरेका हुन् ।
हरेक वस्तुमा द्वन्द्व भए झैँ एनआएनए पनि द्वन्द्वरहित रहन सकेन । हुन पनि हो एउटा संस्था भनेको विभिन्न चिन्तन, विचार एवं फरक फरक अनुभव संगालेका व्यक्तिहरूको जमघट हो । भिन्न विचार बोककेका मानिसहरूले संयुक्तरूपमा यसलाई चलायमान बनाउनु पर्ने हुन्छ । यसो गर्दा आफ्ना अभिव्यक्ति र कार्य सम्पादनबाट अरुलाई धक्का पर्न नदिने कला सिक्नु जरुरी हुन्छ । यदि आफूले आफ्ना अधिकार र स्वतन्त्रता लागू गर्दा अरुलाई धक्का पर्न गयो भने त्यहाँ विवाद सुरू हुन्छ । विवाद हुनु र वस्तु वा संघ संस्थामा द्वन्द्व हुनु फरक हो । जव द्वन्द्व विवादमा परिणत हुन्छ तब समस्याहरू उत्पन्न हुन थाल्छन् । जब समस्या उत्पन्न हुन्छ तब दुवै पक्षलाई नोक्सान हुन्छ ।
वर्षौंदेखि यही समस्या एनआरएनमा देखा परेको हो । चाहे क्षेत्रीय भेलामा होस् चाहे ग्लोबल भेलामा एनआरएनको कुम्भ मेला झगडा र विवादविना टुंगिएको सायद इतिहास छैन ।
विदेशमा छरिएर बसेका नेपालीहरूको छाता संगठन मानिने यो संस्थाले नेपालीहरूले विदेशी नागरिकता लिँदा स्वत: नेपाली नागरिकता खारेज हुने बाध्यात्मक कानूनी व्यवस्थाका कारण विदेशमा रहेका नेपालीहरूले पारिवारिक, आर्थिक, सामाजिकलगायतका विषयमा भोग्नु परिरहेका समस्याहरूको न्यूनीकरण होस् भन्ने उद्देश्यले दोहोरो नागरिकताको कुरा उठाएका हुन् ।
एनआरएनको राष्ट्रिय सम्मेलनमा नेपालमा आर्थिक उन्नतिका कुराहरू उठे । एनआरएन पक्षले सरकारले पूर्ण अधिकारसहितको दोहोरो नागरिकता नदिएकाले आफूले मुलुकको आर्थिक विकासका निम्ति चाहेजस्तो मनग्गे काम गर्न नसकेको भन्ने तर्क गरे भने अर्कोतिर नेपाल सरकारले एनआरएनले आफूले हल्ला चलाएजस्तो लगानी नगरेको, सहुलियत सुविधामात्रै खोजेको, थुप्रै माग बोकेर पटकपटक नेपाल झुल्किएको, समस्या मात्र तेर्स्याउने गरेको आरोप लगाएतापनि राजनितिक अधिकारविनाको नागरिकता दिए । यही बिन्दुमा नयाँ विवाद उठ्यो र केही व्यक्तिहरूले यसप्रकारको नागरिकता स्वीकार गरेका कारण फाँसी हुनसक्ने कुरा गरे । हो यहाँनेर आएर माहोल तात्यो ।
यसैबीच रामकुमारी झाँक्री मञ्चमा पुगिन् र भाषण सुरू गरिन् । भाषणको सुरूमा उनले आफ्नो पार्टी अध्यक्ष माधवकुमार नेपालको तर्क सापटी लिइन् । मैले यहाँ सापटी भने चोरी भनिन, किनभने उनीलाई सायद त्यस्तो भनाउन पठाइएको थियो । माधवकुमार नेपालले २०१२ को सेप्टेम्वरतिर हो जस्तो लाग्छ दोहोरो नागरिकताको सन्दर्भमा सोधिएको एक प्रश्नको उत्तरमा ‘यदि एनआरएनलाई दोहोरो नागरिकता दिएर चुनाव लड्न दिने हो भने उनीहरूले विदेशमा कमाएको पैसा खर्च गरेर यहाँ चुनाव जित्ने छन्’ भनेका थिए । त्यतिबेला मैले उनको यो भनाइलाई एनआरएनप्रति अत्यन्त पूर्वाग्रही सोचको रूपमा लिएको थिएँ । तर, अहिले सांसदको कुरो छोडिदिउँ जाबो एनआरएनको पद हत्याउनको लागि त पाउण्ड र डलरको खोलो बगेको छ अड्डा अदालत कचहरी धाउनु परेको छ भने सांसद हुनको लागि त यस्ता प्रवृत्ति बोकेका मानिसहरूले नदी नै बगाउने छन् भन्दा अत्युक्ति हुने छैन । एनआरएनहरूको यो गलत कार्यले नेपालका नेतालाई दोहोरो नागरिकता दिने सवालमा नकारात्मक सोच बनाउन झन् राम्रो सहयोग पुर्याएको छ ।
अब फर्कौं झाँक्री तिरै
झाँक्रीले माधव नेपालको तर्क सापटी लिएरै भएपनि ‘म कान खोलेर सुन्न भन्छु- तपाईंहरूलाई दिइएको आर्थिक, सामाजिक र सांस्कृतिक अधिकार हो । भोटिङ राइटको पोलिटिकल अधिकार होइन र यो हुन सक्दैन । तपाईंहरू खुशीले नागरिकता त्यागेर गएकाहरूलाई फर्किन इन्भाइट गरेको हो । यहाँ हाम्रो पनि स्वार्थ छ, तपाईंहरूको पनि स्वार्थ छ ।’
त्यो हदसम्म भन्ने हिम्मत गर्दा मलाई गलत लागेन तर उनले त्यसपछि जे जति भनिन् ती भने सह्यै छैनन् । पहिलो कुरा त उनले कामको अपमान गरिन् । म यहाँ के कतिजनाले विदेशमा भाँडा माझ्छन् वा कतिले माझ्दैनन् कति नेपालीले नेपालीहरूकै श्रम शोषण गरेका छन् थुप्रै उदाहरण भए पनि म यता जान चाहन्नँ । कम्तीमा पनि विदेशले नेपालीहरूलाई स्वाभिमान भनेको के हो भन्ने सिकाएको छ । जुन छोराहरू आफ्नो घरमा गाईगोठमा गोबर फाल्न हात गन्हाउँछ भनेर आमाबाबुलाई दंग्याएर खान्थे उनीहरूले कामको सवालमा हर काम प्रति सम्झौता गर्न सिकेका छन् र उनीहरूलाई के थाहा छ भने नेपाली नेताहरूले भ्रष्टाचार गरेर कमाएको अकुत सम्पत्तिभन्दा मेहनत गरेर कमाएको रोटी मिठो हुन्छ ।
अर्को कुरा उनले भनिन् बिहान जुरुक्क उठेर आँखाको चेप्रा नपुछ्दै नेपाली राजनीतिका बारेमा किन कमेन्ट गर्नुपर्यो ? यहीँ चिन्ता गर्ने मान्छे, यसका लागि मरेका, रगत बगाएका, हातखुट्टा भाँचिएका र सञ्जोगले बाँचेका हामी ज्यूँदै छौं । यो देशको चिन्ता हामीले गर्छौं । तपाईंहरूले यस्ता कुरा गर्नु सुहाउँदैन ।
उनका यी अभिव्यक्तिप्रति मेरा दुई आपत्ति छन् –
पहिलो रामकुमारी तपाई सायद ४४/४५ वर्षकी हुनुभयो होला मैले लगभग ५५ वर्षदेखि नेपाल कम्युनिष्ट पार्टी अनि मुक्ति मोर्चा हुदै माले, एमालेसम्म राजनीति र चिन्तन गर्दै आएको छु र म अहिले विदेशमा बस्छु तपाईँले यो अधिकार कहाँबाट पाउनु भयो कि तिमीहरूले यो मुलुकको चिन्ता नगर भन्ने ? जुन बेला तपाईँ यो संसारमा आउनुभएकै थिएन । हामी त भूमिगत जीवनदेखि पुलिसखोरको पाहुना कतिपटक भयौं । तपाईँले आफूलाई यति दम्भ गर्नुहुन्छ ? जबकि तपाईँ, हामीजस्ता पुराना कार्यकर्ताले अनेकौ दु:ख गरेर पाइला-पाइलामा खतरा मोलेर खुला राजनीति ल्याएपछि विद्यार्थी संगठनको राजनीतिमा टाउकोबाट दुई-चार थोपा रगत बगाउँदैमा तपाईँलाई यति दम्भ गर्न मनलाग्यो ?
तपाईँले आफ्नो राजनीतिक करिअर बनाएको पार्टीका लागि हामिले पार्टीलाई जीवित राख्न नेकपा, मुक्ति मोर्चाको पालादेखि र पछि नेकपा माले गठन भएपछि हामी जस्ता सयौं युवा गाउँगाउँमा गई एक-एक अण्डा, एक-एक माना मकै, कोदो चामल जम्मा गरेर पार्टी बचायौं र हुर्कायौं । तपाईँ सलक्क पार्टीभित्र पस्नुभयो र मन्त्री बन्नुभयो त्यसैले तपाईँमा यति दम्भ आयो । आफ्नो छातीमा हात राखेर भन्नुहोस्, एकपटक दुई-चार थोपा रगत चुहाउने, दुईचार पटक जुलुस प्रर्दशनमा अघि अघि हिँड्ने र नारा लगाउने र आफ्नो स्वार्थ सिद्ध हुने गौँडा ढुक्नेबाहेक तपाईँले पार्टीका लागि के योगदान दिनुभएको छ । ए हो साँच्चै तपाईँको ठूलो योगदान चाहिँ पार्टी फुटाउन माधवकुमार नेपाललाई डोर्याएर नयाँ पार्टी दर्ता गराउन लानुभयो । सायद तपाईँले यसैलाई आफ्नो ठूलो योगदान मान्नुहुन्छ होला । यो हर्कतका लागि तपाईँलाई इतिहासले धिक्कार्ने छ ।
दोस्रो कुरा, तपाईँको बौद्धिक र वैचारिक दरिद्रता देखेर दया लागेर आयो । तपाईँले आफूलाइ मार्क्सवादी भन्ठान्नुहुन्छ आशा गर्छु तपाईँले मार्क्स लेनिन पढ्नुभएको होला । अक्टोबर क्रान्तिका बेला रस्साबाट हजारौं बोल्सेभिक कम्युनिष्ट पार्टीका कार्यकर्ता विदेशिए । लेनिनसँगै काम गरेका नजिकका एक मित्रले हंगेरीबाट आफू विदेशिएकाले माफी माग्दै लेनिनलाई चिठ्ठी लेखेछन्, तपाईँलाई थाहा छ त्यसको जवाफमा लेनिनले के लेखेका थिए ? यदि तपाईँमा अलिकति पनि राजनैतिक चरित्र र नैतिकता थियो भने तपाईँले ती शब्दहरू प्रयोग गर्नु हुने थिएन । लेनिनले जवाफमा लेखेका थिए कि, धन्दा नमान्नुहोस्, तपाईँ जहाँ हुनुहुन्छ सुरक्षित रहनुहोस् र क्रान्ति सफलताको शुभेक्षा दिनुहोस् । मुलुक तपाईँ-हामी सबैको हो । जो जहाँ छ उसले त्यहीँबाट क्रान्ति सफल पार्न काम गर्नुपर्छ र तपाईँ हामी मिलेर हाम्रो मुलुक दासताको जन्जिरबाट मुक्त गराउनुपर्छ । तपाईँ अहिले कहाँ हुनुहुन्छ, कुन स्थान र कुन भूगोलमा हुनुहुन्छ भन्ने भन्दा तपाईँको मन वचन र कर्मले बढी महत्व राख्छ ।
कम्युनिष्ट मुलुक वा पार्टीको मात्र कुरा नगरौं भारतीय स्वतन्त्रता संग्रामका बेला आन्दोलनबाट छुटेका र बिछोडिएका भारतीयहरूलाई महात्मा गान्धीले चिन्ता नगर्न र आफू जहाँ छन् त्यहीँ सुरक्षित भएर बस्न आदेश दिन्थे भनेर जबारलाल नेहरूले हिन्दूस्थान कि कहाँनियाँ नामक पुस्तकमा पटक पटक दोहोर्याएर लेखेका छन् । यस अर्थमा कुनै पनि राजनितिक चिन्तन भएको मान्छेले तिमीहरू केही पनि होइनौं ममात्रै एक हुँ भन्ने खालको दम्भ गर्दैन ।
यो लेखले प्रखर र युवा नेतालाई थप उत्साहि र प्रेरणा प्रदान गर्नेछ र आफ्नो ओैगात प्रष्टयाउनेछ, जयहोस् ।
झांक्री राम कुमारी कुण्ठा ग्रस्त छिन्, माकुने
जस्तै। यिनको कुरालाई गम्भिर रूपमा लिनु हुंदैन।
कतिपय कुरा शशी पौडेलले उढाउनु भएको छ तत्कालीन अवस्थामा उहाँ नेपालीको क्रान्ति योद्धा भएको पाइयो तर उहाँ नेपाल मा त अहिले हुनुहुन्न रहेछ उहाँको विचारलाई सलाम , कतिपय विषयमा म रामकुमारी झाक्रीसगं सहमत छैन तर पनि NRNAका विषयमा नेपाल र नेपालीको तर्फबाट जुनजुन कुरा राखिन त्यो सन्दर्भमा रामकुमारी झाक्रीले उढाएका सवाल छन निकै समसामयिक छन नेपाल र नेपालीको तर्फबाट रामकुमारी लाई सलाम ।
जानकारीका लागि २०३६/०३७ देखि माले हुदै आजको एमालेलाई समर्थन गर्दछु
NRNA को संगठन बिस्तार २००३ , २००४ ताका निकैनै तातेर आएको थियो मध्यपूर्वका राष्ट्रहरूमा जतिबेला म पनि कामको सिलसिलामा उतै थिए। शुरुवाती दिनहरुमा उल्लेख्य काम गरेको यो सस्था २००८, ९ तिर आइपुग्दा चरम राजनीतिकरणमा चुर्लुम्म डुबिसकेको थियो ! माथि उल्लेखित शब्द सापटी लिने हो भने कुनैपनि बैठक/मीटिङ्गहरू कहिल्लैपनि बिना बिबाद र उथल पुथल रहित हुन सकेनन, थिएनन्। आजभोलि यो संगठन सर्बसाधारण वा स्पस्टरुपमा भन्नु पर्दा खाडी मुलुकहरुमा कार्यरत सर्बसाधारणहरुका लागि खासै तात्विक अर्थ राखेको देखिदैन। अर्थात् सदस्यता लिनेहरुलाई घामले पोल्छ भने NRNA भित्र रियल मात्र बोल्छ, सत्यता यही हो। मुट्ठीभर व्यवसायीहरुको हातमा रहेको यो संगठन:: रोजगारीको अभाव, गरिबी, शिक्षा र स्वास्थ्य सेवाको बेथिति र अरु धेरै कारणहरूको परिणामस्वरूप विदेशिने सर्वसाधारणहरुको लागि त “अर्थ न बर्थ गोबिन्द गाई” नै हो। तर, राजनीतिकरण र व्यवसायीहरुको चंगुलबाट निस्कन सके संगठन आफैमा नराम्रो चाही हुदै होइन। बाँकी, झाक्री जी को भनाइ प्रति नो comment , ठिकै लाग्यो सुन्दा, दम्भ छ तर यतार्थ पनि त्यही नै हो NRNA भित्रको ।