दुर्गा प्रसाईँले ओलीविरुद्ध किन लिए ३ वर्ष पुरानो गोदी मिडियाको ‘फेक रिपोर्ट’ को सहारा ? – Nepal Press

दुर्गा प्रसाईँले ओलीविरुद्ध किन लिए ३ वर्ष पुरानो गोदी मिडियाको ‘फेक रिपोर्ट’ को सहारा ?

लिम्पियाधुरासहितको चुच्चे नक्सा जारी गरेपछि ओलीविरुद्ध भारतीय मिडियाले लगाएका थिए चिनियाँ राजदूतसँग ‘इश्कियाँ’ र कम्बोडियाको टेलिकममा लगानी गर्न खोजेको आरोप

काठमाडौं । एमाले अध्यक्ष केपी शर्मा ओलीलाई हजुरबुवा भन्ने पूर्वएमाले केन्द्रीय सदस्य दुर्गा प्रसाईँले कम्बोडियाको टेलिकममा ओलीको लगानी रहेको आरोप लगाएपछि ४ वर्षअघि एक भारतीय च्यानलले प्रसारण गरेर माफीसमेत मागिसकेको भिडिओ क्लिप भाइरल बनाइएको छ ।

एमाले महासचिव शंकर पोखरेलसहितका नेताहरूले नेपालले चुच्चे नक्सा जारी गरेपछि ओलीविरुद्ध आधारहीन आरोप लगाइएका भारतीय समाचारका क्लिप भाइरल गराउने कार्यमा राजावादीहरू संलग्न रहेको बताएका छन् । प्रसाईँ पछिल्लो समय राजवादी बनेका छन् ।

दुर्गा प्रसाईँले हालै युट्युवरहरू जम्मा गरेर नेताहरूमाथि गाली गर्ने क्रममा ओलीले कम्बोडियाको टेलिकममा लगानी गरेको रिपोर्ट नै बाहिर आएको बताएका थिए । प्रसाईँले भनेको रिपोर्ट सोसल मिडियामा अहिले भाइरल बनाइएको छ । तर, यसको पुष्टि गर्ने आवश्यकता भने उनले आफूलाई नभएको समेत बताएका छन् ।

प्रसाईँकै आरोपपछि उत्खनन् गरिएको तथा टिकटकमा अपलोड भएको सो भिडिओ पोस्ट गर्दै कांग्रेस सांसद तथा राज्य व्यवस्था समितिका सभापति रामहरी खतिवडाले समेत यो समाचार के हो ? भन्दै प्रश्न उठाएका छन् । जबकी ३ वर्षअघि नै सो फेक रिपोर्टको कांग्रेसकै नेता डा. मिनेन्द्र रिजालले समेत भारतीय मिडियामै प्रतिवाद गरेका थिए ।

भारतीय टेलिभिजन च्यानल जी न्यूजको भगिनी संस्था डब्लूआईओएनले १५ जुलाई २०२० मा ग्लोबल वाच रिपोर्ट भन्ने संस्थालाई हवाला दिँदै नेपालका तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीलाई सम्पूर्णरूपमा चीनले चलाइरहेको आरोप लगाएर करिब ३ मिनेटको आधारहीन रिपोर्ट प्रसारण गरेको थियो ।

चुच्चे नक्सा जारी भएपछि ओलीमाथि आधारहीन आरोप लगाएर चीनपरस्त प्रमाणित गर्न भारतीय मिडियाले पत्रकारिताको सामान्य सिद्धान्तको समेत हद पार गरेका थिए त्यसबेला । प्रसाईँले अहिले जुन रिपोर्टलाई हवाला दिएर ओलीमाथि आरोप लगाएका छन्, त्यसबेला उनीसहित सिंगो देशले भारतीय मिडियाको सो हर्कतको भर्त्सना गरेका थिए ।

कुनै संस्थालाई जिम्मेवार नबनाइएको र सम्बन्धित कसैको पनि भनाइ नराखी भारतीय च्यानलको पहिचानबमोजिम नै मनगढन्ते कहानी बनाइएको सो रिपोर्टमा ओलीले पहिलोपटक नेपालको प्रधानमन्त्री भएको बेला कम्बोडियाको टेलिकम सेक्टरका लगानी गर्न चाहेको र त्यसमा तत्कालीन चीनियाँ राजदूतले सहयोग गरेको आरोप थियो ।

ओलीले कम्बोडियाको टेलिकम सेक्टरमा लगानी गर्न चाहेको भनिएको सो रिपोर्टमा त्यसपछि के भयो भन्ने पनि उल्लेख छैन । कम्बोडियाको कुन टेलिकम कम्पनीमा लगानी गर्न चाहेको भन्ने पनि छैन । जबकी कम्बोडियाको टेलिकममा आईएफसीबाहेक अरु विदेशी कम्पनीको लगानी रहेको पाइँदैन । ओलीले परिवारका नाममा ४१ करोड विदेशी बैंकमा राखेको आरोपसमेत लगाइएको थियो ।

ओली नेतृत्वको सरकारले भारतले अतिक्रमण गरेका लिम्पियाधुरा, लिपुलेक र कालापानीसहितको भू-भाग समेटेर नेपालको नयाँ राजनीतिक तथा प्रशासनिक नक्सा जारी गरेपछि भारतीय मिडियाले मनगढन्ते आरोपको बाढी नै लगाएका थिए । त्यसको प्रतिवाद भारतीय मिडियामै तत्कालीन विपक्षी दलका सांसद मिनेन्द्र रिजालले समेत गरेका थिए ।

ओलीमाथि आरोप लगाउने क्रममा सो आईओएनको रिपोर्टमा नेपालका सबै जलविद्युत आयोजना तथा सडकहरू चीनलाई जिम्मा लगाएर ओलीले भ्रष्टाचार गरेको रिपोर्ट भन्दै हावादारी प्रसारण गरेका थिए । उनीहरूले त्यसक्रममा तत्कालीन चिनियाँ राजदूत यान्छी र प्रधानमन्त्री ओलीबीच ‘इश्कियाँ’ रहेको भन्दै चरित्रहत्या समेत गरेका थिए ।

पछि नेपालस्थित भारतीय राजदूतावासले समेत ध्यानाकर्षण गरेपछि सम्बन्धित च्यानलले आधारहीन आरोपप्रति माफी मागेका थिए । प्रसाईँले सोही ‘फेक रिपोर्ट’ लाई अहिले ओलीको विरोधमा पुरानो क्लिपसमेत भाइरल भइरहेको हो । भारतमै गोदी मिडिया भनेर घृणा गरिने त्यस्ता च्यानलको रिपोर्टलाई कसैले पत्याउने कुरा थिएन ।

अंग्रेजी भाषाको डब्लूआईओएन अर्थात वर्ल्ड इज वान न्युज र जी न्युज भगिनी संस्था हुन् । यही च्यानलले लिम्पियाधुरा, लिपुलेक र कालापानीसहितको नक्सा जारी भएपछि ओली चिनियाँ राजदूत यान्छीको ‘प्रेमजाल’ मा परेको भन्दै १७ मिनेट लामो मनगढन्ते बुलेटिन देखाएको थियो ।

‘ओलीकी इश्कियाँ’ नाम दिइएको उक्त बुलेटिनमा जी-न्यूजले पत्रकारिताको सामान्य सिद्धान्त र शिष्टाचारको सामान्य सीमासमेत नाघ्दै ओली चिनियाँ राजदूतसँगको ‘प्रेम सम्बन्ध’ का कारण प्रायोजित रूपले भारतविरुद्ध लागेको र चुच्चे नक्सा जारी गरेको आरोप लगाएको थियो ।

उक्त रिपोर्टमा चिनियाँ राजदूतलाई नेपालसँग मिलेर भारतविरुद्ध षड्यन्त्र गरिरहेकी जासूसको संज्ञा दिँदै विषकन्या भनेर यान्छीलाई सम्बोधन गरिएको थियो । चिनियाँ राजदूतले ओलीलाई ‘हनी ट्रयाप’ मा पारेर भारतविरुद्ध उक्साइरहेको आरोप सो रिपोर्टमा थियो ।

यतिसम्मकी उक्त च्यानलले चीनसँग ओली र यान्छीका केही व्यक्तिगत फोटा र भिडिओ छन्, जसको बलमा उसले ओलीलाई भारतविरुद्ध नचाइरहेको आरोप लगाएको थियो । भारतीय टेलिसिरियलका कहानीजस्तै शैलीमा प्रस्तुत उक्त कथित रिपोर्टको त्यसबेला नेपालमा सबैले विरोध गरेपछि उक्त च्यानल नै केही नेपालमा देखाउन केबल अपरेटरले बन्द गरेका थिए ।


प्रतिक्रिया

4 thoughts on “दुर्गा प्रसाईँले ओलीविरुद्ध किन लिए ३ वर्ष पुरानो गोदी मिडियाको ‘फेक रिपोर्ट’ को सहारा ?

  1. दुर्गा प्रसाई जे पनि बोल्छन्। यिनको कुरा गम्भिर रूपमा लिनु हुंदैन।

  2. दुर्गा प्रसाइ जस्ताे महान मान्छेले भनेकाे कुरा कस्ले नपत्याउने, सत्य मेव जयन्ते ।

  3. भारतका नेता र पत्रकार पत्रु हुन् । नेपालको दुर्गा प्रसाईं बैंकको ऋण नतिर्न र ओलिले टिकट नदिएक‍ो रिस फेर्न घिनलाग्दो काम गर्दैछ । यसलाई अहिले प्रचण्ड, भारत र राजावादीले पैसा दिएर उचालिरहेका छन् । मान्छे मार्ने पेशेवर गुण्डा र दुर्गाको काममा भिन्नता छैन । ओलि, एमालेलाई जोडेपछि दलाल मिडियाले प्राथमिकता दिन्छन् र प्रचार प्रसार हुन्छ भनेर दुर्गा भन्ने सडकछाप त्यहि काम गर्दैछ । घटिया गु्ण्डाहरूको कुरालाई स्थान नदेउ मिडियाहरू । दुर्गा र बानेश्वरको सडकको विचमा जाँड खाएर हल्ला गर्ने जड्याहाबीचमा कुनै फरक छैन । ज्ञानेन्द्रले ऋण तिर्न पैसा दिन्छन् भनेर गुलामी गरेको ह‍ो यसले । माओवादीको बेलामा लुटेको पैसा लिएर प्रचण्डहरूलाई नदिएको हो यसले । यस्ता थर्ड क्लासको के कुरा गर्नु ? अनि यो थर्ड क्लासको कुरा अर्को घडी चोर थर्ड क्लासले पनि शेयर गरेछ । भेडा भेडासँग भनेको यहि हो ।

  4. Oli 1no.ko varstachari ho. कुरा चिप्लो garera des lutne खेलाडी हो. मुला बाम पन्थी बनेर दुनियाँ को घाँटी retera, vaala ghopera मारेर नेता रे यस्ता चोर हरू नेता.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर