मुस्लिम अगुवाले मनाए दसैँ, दिए ‘सद्भावको सहर नेपालगञ्ज’ को सन्देश – Nepal Press

मुस्लिम अगुवाले मनाए दसैँ, दिए ‘सद्भावको सहर नेपालगञ्ज’ को सन्देश

जानकी (बाँके) । सद्भावको सहरले चिनिएको नेपालगञ्जमा मुस्लिम समुदायका अगुवाहरूले पनि आफ्ना मान्यजनबाट टीका जमरा लगाएर दसैँ मनाएका छन् । मुस्लिम अगुवाहरूले दसैँको टीका र जमरा लगाएर धार्मिक सद्भावलाई निरन्तरता दिँदै मान्यजनबाट टीका जमरा लगाएर दसैँ मनाएका हुन् ।

बाँकेका मुस्लिम अगुवा तथा नेपाल उद्योग वाणिज्य महासङ्घका केन्द्रीय सदस्य अब्दुल वाहिद मन्सुरीले आफ्ना मान्यजनबाट दसैँको टीका र जमरा लगाए । दसैँ, तिहार, रक्षाबन्धन, होलीजस्ता चाडपर्व सधैँ यसरी नै मिलेर मनाउने गरेको उनको भनाइ छ ।

‘हामी सद्भावको सहरमा छौँ । यो सहर आफैँमा एउटा धार्मिक परम्पराअनुसार मिलेको सहर हो । यहाँ मुस्लिमले हिन्दूहरूको मात्र नभइ हिन्दू समुदायले पनि हाम्रा चाडपर्वलाई यसैगरी हर्षोल्लासका साथ मनाउने गर्नुहुन्छ’ उनले भने, ‘मेरो अन्य समुदायको धर्म र आस्थाप्रति मनैदेखि नै सम्मान छ । टीका थाप्दा मैले मान्ने हिन्दू समुदायका मान्यजनलाई खुसी मिल्छ र उहाँहरू खुसी हुँदा मलाई पनि खुसी मिल्छ भने त्यो खुसीमा किन सहभागी नहुने ?’

मुस्लिम अगुवा मन्सुरीले मुस्लिमका चाडपर्व ईद, बकरईद, मोहर्रम तथा मोहम्मद डे मा हिन्दू समुदायका मान्यजनलाई बोलाएर रमाउने गरेको बताए । बाँकेमा हिन्दू र मुस्लिम समुदायले वर्षौंदेखि एकआपसमा मिलेर दुवै समुदायका चाडपर्व मनाउँदै आएका छन् ।

बाँकेका समाजसेवी तथा मुस्लिम अगुवा प्रवेजअलि सिद्धिकीले पनि दसैँमा हिन्दू समुदायका आफन्त र मान्यजनबाट टीका ग्रहण गरे । उनले आफूले टीका र जमरा ग्रहण गरेपश्चात आफूभन्दा सानालाई टीका लगाएर आशीर्वाद दिए । पर्वका बेला एकअर्कासँग मिलेर खुसी साट्ने गरेको उनले बताए । हिन्दूले मुस्लिमको चाडमा सहभागी हुने र मुस्लिमले हिन्दूको चाडपर्वमा सहभागी हुने यहाँको परम्परा बनिसकेको सिद्धिकीले सुनाए ।

अर्का मुस्लिम अगुवा रहमान मियाँले पनि मान्यजनबाट दसैँमा टीका र जमरा लगाएर आशीर्वाद लिए । दुवै समुदायबीच अभूतपूर्व एकता र सद्भाव रहेको भन्दै उनले उक्त सद्भावलाई बिथोल्ने प्रयासमा लागे कहिल्यै पनि सफल नहुने बताए ।

मुस्लिम धर्मगुरु मौलाना अब्दुल जब्बार मन्जरीले बागेश्वरी मन्दिरका मूल महन्थ चन्द्रनाथ योगीलाई भेटेर दसैँको शुभकामना दिए ।

-रासस


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *