दुर्गा मूर्ति विसर्जनमा सुरक्षा व्यवस्था कडा
मलंगवा । सर्लाही सदरमुकाम मलङ्गवामा आज बुधबार बाक्लो सुरक्षा घेरामा दुर्गा माताको मूर्ति विसर्जन गरिएको छ । विगतमा मूर्ति विसर्जनको क्रममा दुई समुदायबीच मलङ्गवामा विवाद उत्पन भई साम्प्रदायिक दङ्गा भड्किएपछि आज विशेष सुरक्षा व्यवस्था अपनाएर मूर्ति विसर्जन गरिएको सर्लाहीका प्रमुख जिल्ला अधिकारी कोमलप्रसाद धमलाले जानकारी दिए ।
यसवर्ष मलङ्गवासहित सर्लाहीमा ६५ ठाउँमा दुर्गा माताको मूर्ति बनाएर पूजा आयोजना गरिएको उनले बताए । मूर्ति विसर्जनमा यसवर्ष सर्वसाधारणको सहभागिता भने घटेको छ ।
विगत वर्ष झैँ दुर्गाको मूर्ति घुमाउन भने सुरक्षाकर्मीले दिएनन् । यसमा आपत्ति जनाउँदै अधिकांश सर्वसाधारण मूर्ति विर्सजनमा सहभागी नभएको स्थानीय सुधीर शर्माले जानकारी दिए । यसअघि मलङ्गवामा विश्वकर्मा पूजा र गणेश पूजामा मूर्ति विसर्जन गर्न जाँदा दुई समुदायबीच झडप भई कर्फ्यू आदेश नै जारी गर्नुपरेको थियो ।
मूर्ति सेलाउन जाने रुटको विवाद भएपछि मलङ्गवाको जिल्ला विकास चोकको मूर्ति विर्सजन गर्न सर्वसधारण नआएर ढिलाई भएको मेला व्यवस्थापन समितिका अध्यक्ष पङ्कज कर्णले जानकारी दिए । मलङ्गवाको जिल्ला विकास चोकको मूर्ति विसर्जनका लागि सहजीकरण भइरहेको प्रहरीले जनाएको छ ।
बाँकेमा सुरक्षा व्यवस्था कडा
दुर्गाभवानीको मूर्ति (प्रतिमा) विसर्जनलाई शान्तिपूर्ण रुपमा सम्पन्न गराउन जिल्ला प्रशासन कार्यालय बाँकेले सुरक्षा व्यवस्था कडा बनाएको छ । मूर्ति विसर्जनलाई सभ्य बनाउन नेपालगन्जको सुरक्षाव्यवस्थालाई कडा पारिएको र त्यसका लागि जिल्लामा करिब एक हजार पाँच सय सुरक्षाकर्मी परिचालन गरिएको बाँकेका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेलले बताए ।
सुरक्षाका दृष्टिकोणले संवेदनशील मानिएका ३१ स्थानमा केन्द्रित गरेर बढी सतर्कता अपनाइएको बताउनुभयो । ती स्थानमा १२ घण्टा अघिदेखि नै सुरक्षाकर्मी परिचालन गरेर निगरानी बढाइएको छ । सुरक्षालाई थप चुस्त दुरुस्त बनाउन नेपाल भारत नाकामा पनि विशेष सतर्कता अपनाइएको छ ।
भारतबाट आउने भारतीय परिचयपत्र भएका नागरिकलाई आवश्यक कामबाहेक आज एक दिनका लागि आउन कडाइ गरिएको छ । जिल्लाको सुरक्षा व्यवस्था चुस्त पार्नका लागि नेपाल प्रहरी र सशस्त्रप्रहरीको एकएक वटा कमान्ड पोस्ट स्थापना गरिएको छ । नेपाल प्रहरीको १६ वटा मोबाइल टोलीद्वारा २४ सै घण्टा गस्ती गरिने व्यवस्था गरिएको छ । दुईजना प्रहरी निरीक्षकको कमान्डमा स्कर्टिङ ड्युटी परिचालन गरिएको र आकस्मिक उद्धार र मद्दतका लागि १० वटा क्विक रेस्पोन्स समूह तयारी अवस्थामा राखिएको प्रजिअ पोखरेलले बताए ।
सुरक्षाअवस्थालाई दृष्टिगत गर्दै जिल्लामा नागरिकलाई सुरक्षा प्रदान गर्न नेपाल प्रहरीका एक हजार १३ जना र सशस्त्रप्रहरीका ४९५ जना गरी कुल एक हजार ५०८ सुरक्षाकर्मी प्रत्यक्ष रूपमा परिचालन गरिएको जिल्लासुरक्षा समिति बाँकेले जनाएको छ । अहिले मूर्ति विसर्जन गरी यहाँको राप्ती नदीतर्फ सेलाउनका लागि लगिएको छ ।
-रासस