हार्दा पनि खुशी यूएईका कप्तान भन्छन्- २ विकेट छिट्टै गुमाएपछि लक्ष्य पछ्याउन छोडिदियौं – Nepal Press

हार्दा पनि खुशी यूएईका कप्तान भन्छन्- २ विकेट छिट्टै गुमाएपछि लक्ष्य पछ्याउन छोडिदियौं

काठमाडौं । हङकङसँग हारका बाबजुद यूएई काठमाडौंमा जारी त्रिकोणात्मक श्रृंखलाको फाइनलमा पुगेको छ । यूएईलाई विशाल अन्तरले हराए पनि हङकङ समूह चरणबाट घर फर्किने भएको छ ।

रन रेट निकै कमजोर हुनुको सजाय आज हङकङलाई मिल्यो । हङकङले नेपालसँगका दुई म्याच र यूएईसँगको एक म्याचमा फराकिलो हार व्यहोरेको थियो । त्यसैले फाइनल प्रवेशका लागि आज हङकङलाई यूएईमाथि फराकिलो जित चाहिन्थ्यो ।

यूएईले ६९ रनको जित निकाल्यो तर त्यो पर्याप्त भएन । त्यसैले हङकङका खेलाडीहरू जितेर पनि पराजित मानसिकतामा रहे । अर्कोतर्फ यूएईका खेलाडी हारेर पनि विजयी भावमा थिए ।

म्याचपछिको प्रिजेन्टेसनमा यूएईका कप्तान मुहम्मद वसिमले हङकङले २१३ को लक्ष्य दिएपछि आफूहरू दबाबमा परेको स्वीकार गरे । यद्यपि, लक्ष्य पछ्याउने हिसाबले नै आफूहरू सुरुमा ब्याटिङमा उत्रिएको उनको भनाइ छ ।

वसिमले भने, ‘हामीले सुरुमा त आक्रमक ब्याटिङ गरेर २१३ को लक्ष्य चेज गर्ने रणनीति नै बनाएका थियौं । तर, दुई विकेट सस्तैमा गुमेपछि हामी रणनीति फेर्न बाध्य भयौं । त्यसपछि हामीले फाइनलमा पुग्ने समिकरण हेरेर धैर्यपूर्वक ब्याटिङ गर्ने निर्णय लियौं ।’

यूएईले ओपनरसमेत रहेका कप्तान वसिमलाई २ रनमै आउट भएका थिए । ७ रन बनाएका भरपर्दा ब्याट्सम्यान भृत्य अरविन्द रनआउट भएपछि यूएई दबाबमा आयो । त्यसपछि यूएईले रणनीति परिवर्तन गरेको हो । विष्फोटक ब्याट्सम्यान आसिफ खानले पनि कुनै चमत्कार गर्न सकेनन् । उनी डकआउट हुँदा यूएईको खातामा १९ रन मात्रै चढेको थियो ।

त्यसपछि भने युएईका ब्याट्सम्यानहरुले धैर्यपूर्वक ब्याटिङ गरे । हङकङले प्रयास नगरेको होइन । ८१ रनमा यूएईका पाँच विकेट लिइसकेको थियो । तर, त्यसपछि बसिल हमिद र निलांश केसवानीको पार्टनरसीप तोड्न नसक्नु हङकङको दुर्भाग्य बन्यो ।

५ विकेट गइसक्दा पनि आफ्नो टिम फाइनलमा जानसक्नेमा आशावादी रहेको वसिम बताउँछन् ।

‘बसिल र निलांश राम्रा ब्याट्सम्यान हुन्, त्यसैले हामीले आशा मारेका थिएनौं,’ उनले भने ।

फाइनलमा प्रवेश गरेपनि हङकङसँगको हार नमिठो भएको उनको भनाइ छ ।

वसिमले भने, ‘यदि जितका साथ फाइनलमा स्थान बनाउन सकेको भए त्यसको बेग्लै मजा हुन्थ्यो ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर