आठ दिनदेखि प्रहरी हिरासतमा क्रान्तिकारी कम्युनिष्ट पार्टीका प्रवक्ता बास्तोला
काठमाडौं । नेकपा क्रान्तिकारी कम्युनिष्ट पार्टीका नेता एवं प्रवक्ता धर्मेन्द्र बास्तोला आठ दिनदेखि दाङ प्रहरीको हिरासतमा रहेका छन् । नेता बास्तोलाको दसैँसमेत दाङस्थित इलाका प्रहरी कार्यालय भालुवाङको प्रहरी हिरासत बित्ने भएको छ ।
उनले हाँकको गाडीले आठ दिनअघि मोटरसाइकललाई ठक्कर दिँदा चालकको निधन भएको थियो । पूर्वपश्चिम राजमार्गअन्तर्गत दाङको राप्ती गाउँपालिका-५ सिङ्गे नजिकै बा ९ च ७१९८ नम्बरको नेता बास्तोलाले चलाएको स्कार्पियोले विपरीत दिशातर्फ गइरहेको रा ६ प ५७३८ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो । मोटरसाइकल चालक दाङको राप्ती गाउँपालिका- ५ का २९ वर्षका बसन्तराम चौधरीको मृत्यु भएको हो ।
कार्तिक २ गते भएको दुर्घटनामा घाइते भएका चौधरीलाई प्रहरी टोलीले उद्धार गरी स्वास्थ्य चौकी सिसहनियाँ पुर्याएको थियो । टाउकोमा गम्भीर चोट लागेका चौधरीलाई राति १० बजेपछि चिकित्सकले मृत घोषणा गरेका थिए ।
घटनालगत्तै प्रहरीले नियन्त्रणमा लिएका नेता बास्तोला अहिले पनि हिरासतमै छन् । दसैँ बिदाका कारण कात्तिक १२ गतेमात्रै कार्यालय खुल्ने र त्यसपछि मात्रै अदालती प्रक्रियाको काम सुरु हुने दाङ प्रहरीले जनाएको छ । प्रहरीका अनुसार नेता बास्तोला अझै केही दिन प्रहरी हिरासतमै बस्नुपर्नेछ ।