ट्रमा सेन्टरमा आएका मध्ये ८० प्रतिशत बिरामीको अप्रेसन गर्नुपर्ने (भिडिओ) – Nepal Press

ट्रमा सेन्टरमा आएका मध्ये ८० प्रतिशत बिरामीको अप्रेसन गर्नुपर्ने (भिडिओ)

काठमाडौं । राष्ट्रिय ट्रमा सेन्टरमा उपचारका लागि आएकामध्ये ८० प्रतिशत बिरामीको अप्रेसन हुने गरेको छ ।

ट्रमा सेन्टरका निर्देशक डा.बद्री रिजालले अस्पतालमा दैनिक करिव चार सय ५० देखि पाँच सय जना बिरामी आउने गरेको र त्यसमध्ये ८० प्रतिशतको अप्रेसन गर्नुपर्ने जानकारी दिए ।

हाल अस्पतालमा दैनिक २५ देखि ३० जनाको अप्रेसन हुँदै आएको छ । उनले अस्पतालमा बिरामीको चाप हुने गरेकाले दुई सय १८ शैय्या सञ्चालनमा रहेको जानकारी दिए । डा.रिजालले सेवा प्रवाहलाई चुुस्त दुरुस्त बनाउन जनशक्ती अभाव भएको बताए । झन्डै तीन सय जनाको हाराहारीमा स्थायी दरबन्दी र आन्तरिक स्रोत लगायतबाट झन्डै तीन सय गरी ६ सय जना कर्मचारी कार्यरत रहेको बताए ।

दरबन्दी पर्याप्त नहुँदा एक जना चिकित्सकले तीनदेखि चार जना बिरामीलाई हेर्नुपर्ने बाध्यता रहेको बताए । अस्पतालमा एक सय जना चिकित्सक र दुई सय ५० जना नर्स कार्यरत छन् ।

अस्पतालभित्रै सबैजसो औषधि उपलब्ध हुनेगरी व्यवस्थापन गरिएको जानकारी दिए । आफू वार्डहरुको स्तरोन्नती गर्नेतर्फ लागिरहेको बताए । अहिले अस्पतालबाट अनलाईन टिकट लिने व्यवस्था मिलाइएको र बिहान आठ बजेदेखि नै अस्पतालको सेवा प्रवाह हुँदै आएको छ ।

डा.रिजालले भने,‘आइसीयु बेड १० वटा भएकोमा १ थप गरी ११ वटा आइसीयु बेड र ८ वटा एचडीयु बेड थप गरी १९ वटा बेडहरु आइसीयु बराबरको सेवा सञ्चालन भइरहेको छ । वार्डहरुको स्तरोन्नती गर्नेतर्फ लागिरहेका छौँ । अहिले तीन ठाउँमा फार्मेसी सञ्चालनमा छन् । अहिले लगभग सबैजसो औषधि उपलब्ध हुनेगरी व्यवस्थापन गरिएको छ । फार्मेसीको पनि स्तरोन्नती गरिरहेका छौँ ।’

डा.रिजालले ट्रमाका लागि अति आवश्यक मानिएको रिहाब सेन्टर सरकारी तवरबाट नहुँदा बिरामीहरु मर्कामा परेको बताए । उनले सरकारी तवरमा रिहाव सेन्टर नहुँदा निजीमा पठाउन बाध्य भएको भन्दै त्यसका लागि लविङ गरिरहेको बताए ।

उनले स्पाईन इन्जुरी, ढाडमा चोट लागेर खुट्टा, हात नचल्ने भएर आएका बिरामीहरु अप्रेसन गरिसकेपछि पुनःस्थापनाका लागि रिहाब सेन्टरमा जानुपर्ने बताए । उनका अनुसार ट्रमा सेन्टरमा इन्जुरी भएका (स्पाइन, स्पोर्टस, घोडाको चोट, ढाडको चोट) हरुका लागि आवश्यक पर्ने एमआरआइ मेसिन नहुँदा समस्या भएको छ। एमआरआई मेसिन नहुँदा बिरामीलाई अन्यत्र पठाउनुपर्ने र महँगो शुल्क तिरेर सेवा लिनुपर्ने बाध्यता रहेको उनकाे भनाइ छ ।

उनले बिरामीहरुलाई छिटो छरितो सेवा प्रवाह गर्नेतर्फ अस्पताल तल्लीन रहेको बताए । कुनैपनि बिरामी अस्पतालभित्र उपचार पाएर दुई हप्ता भित्र जसरी पनि फर्किने गरेको जानकारी दिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर