त्रिकोणात्मक सिरिज– नेपालले यूएईलाई दियो १६३ रनको मध्यम लक्ष्य – Nepal Press

त्रिकोणात्मक सिरिज– नेपालले यूएईलाई दियो १६३ रनको मध्यम लक्ष्य

काठमाडौं । त्रिकोणात्मक टी–२० सिरिजको फाइनलमा नेपालले यूएईलाई १६३ रनको लक्ष्य दिएको छ ।

यूएईका युवा स्पिनर अयान अफजल खानले घातक बलिङ गर्दै ३ विकेट लिएपछि नेपाल ठूलो स्कोर बनाउन चुक्यो ।

टियु क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित २० ओभरमा ८ विकेट गुमाउदै १६२ रन बनाएको हो ।

ब्याटिङमैत्री पिचमा यूएईले टस जितेर नेपाललाई पहिले ब्याटिङको निम्तो दिएको थियो । २०० रन कटाउने मानसिकतामा उत्रिएको नेपालले सुरुबाटै आक्रामकता देखाउन खोज्यो । ओपनर कुशल भुर्तेलले आफ्नो गुमेको लय फर्काउँदै २९ बलमा अर्धसतक बनाउन सफल भए । उनले ६ चौका र ३ छक्का प्रहार गरेका थिए ।

करण केसीले २१, दीपेन्द्रसिंह ऐरीले २० र कप्तान रोहित पौडेलले १८ को योगदान दिए । आसिफ शेख ७ र कुशल मल्ल १ रन बनाएर आउट भए । भुर्तेल र शेखले पहिलो विकेटका लागि ४३ रनको साझेदारी गरेका थिए । पहिलो विकेटको रुपमा नेपालले ४३ रनमा आसिफ शेखलाई गुमाएको थियो ।

दोस्रो विकेटको रुपमा ६३ रन कुशल मल्ल र तेस्रो विकेटको रुपमा ६८ रनमा कुशल भुर्तेललाई गुमाएको थियो । त्यसपछि चौथो विकेटका लागि रोहित र दीपेन्द्रले ४० रनको साझेदारी गरेका थिए । १३ औं ओभरमा दीपेन्द्र र रोहित आउट भए । त्यसपछि भने लामो साझेदारी बन्न सकेन ।

१ सय ९ रनमा दीपेन्द्रलाई गुमाएको नेपालले १ सय २३ रनमा सन्दीप जोरा र गुल्सन झा १ सय ३१ रन गुमाउनुपर्‍यो । जोरा १० र झा ५ रनमा आउट भए । नेपालले १ सय ४३ रन जोड्दा सोम्पाल कामीले आउट भए । कामीले १३ रनको योगदान दिए ।

करण २१ र अभिनास बोहोरा शुन्य रनमा नटआउट रहे । युएईका लागि स्पिनर आयन खानले ३, अली नसिर र जहुर खानले समान २ विकेट लिए


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *