तीन दिनअघि यू-१९ टीममा नेपालसँगको हार बिर्साएका आयान अफजल खान – Nepal Press

तीन दिनअघि यू-१९ टीममा नेपालसँगको हार बिर्साएका आयान अफजल खान

काठमाडौं । नेपालले तीन दिनअघि फाइनलमा यूएईलाई हराएर एसीसी यू-१९ प्रिमियर कपको उपाधि जितेको थियो । डीएल मेथडमा केवल १९ रनले पराजित भएको यूएईको कप्तानी १८ वर्षे आयान अफजल खानले गरेका थिए । उनले ३० रन बनाए पनि यूएईले हार टार्न सकेन । उनले बलिङतर्फ २ विकेट लिए पनि नेपालले निर्धारित ५० ओभरमा ८ विकेट गुमाएर २८० रन जोडेको थियो ।

एक वर्षयता सिनियर अन्तर्राष्ट्रिय क्रिकेट खेलिरहेका आयानले उमेरस्तरको अन्तर्राष्ट्रिय क्रिकेट पनि खेल्न छाडेका छैनन् । संयोग नै मान्नुपर्छ, नेपालले एसीसी यू-१९ प्रिमियर कप खेलिरहँदा सिनियर राष्ट्रिय टोलीले यूएई र हङकङलाई घरेलु मैदानमा बोलाएर त्रिकोणात्मक टी-२० श्रृंखला खेलिरहेको थियो र लिग चरणमा यूएईसँग भएका दुवै खेलमा जीत हात पारेको थियो ।

दुई दिनअघि लिग चरणको अन्तिम खेलमा यूएईले हङकङसँग हारेर केवल एउटामात्र जीत निकाले पनि नेट रनरेटमा अगाडि रहँदै श्रृंखलाको फाइनलमा स्थान बनाएको थियो । नेपाल भने लिग चरणका चार वटै खेल जितेर फाइनल पुगेको थियो ।

यूएई फाइनलमा पुगेपछि आयान नेपालसँगको उपाधि भिडन्तमा उपलब्ध भए । भर्खरै युवा टोलीसँग ब्यहोरेको हारको बदला लिन उनलाई यो गतिलो मौका थियो ।

अर्कातर्फ घरेलु टोलीलाई हराएर विश्वकप छनोटको पूर्वसन्ध्यामा यूएई मनोबल उच्च बनाउन चाहन्थ्यो र, भयो त्यही । शुक्रबार नेपाललाई ४ विकेटले पराजित गर्दै यूएईले टी-२० श्रृंखलाको उपाधि जितेको छ ।

त्यतिमात्र होइन, आयान प्लेयर अफ दी फाइनल बने । उनले चार ओभरमा १९ रन खर्चिएर ३ विकेट लिएपछि नेपालले केवल १६३ रनको लक्ष्य दिन सकेको थियो ।

आयानले माथिल्लो क्रमका कुशल मल्ल र आसिफ शेख तथा बलिङ अलराउन्डर सोमपाल कामीलाई आउट गरेका थिए । बासिल हमिदले विजयी रनका रुपमा छक्का प्रहार गर्दा क्रिजको अर्को इन्डमा आयान खेलिरहेका थिए । उनी ५ रनमा नटआउट रहे ।

भारतको महाराष्ट्रमा जन्मिएका आयान यूएईको शारजहामा हुर्किएका हुन् । उनी बलिङमा जस्तै ब्याटिङमा पनि खह्रो उत्रन सक्ने खेलाडी हुन् । आयानले एक दिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा २५ खेल खेल्दै ३२ विकेट लिएका छन् भने टी-२० अन्तर्राष्ट्रिय क्रिकेटमा १७ खेलमा १५ विकेट हात पारेका छन् । उनले एक दिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा २५ खेलमा तीन अर्धशतकसहित ४५० रन जोडेका छन् ।

नेपालमा अक्टोबर ३० देखि सुरु हुने टी-२० विश्वकपको एसियाली छनोटमा आयान निर्विवाद हेर्न लायक खेलाडी हुन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *