चितवनको माडीमा प्रकोपजन्य महामारीको सूचीमा थपियो ‘आत्महत्या’ – Nepal Press

चितवनको माडीमा प्रकोपजन्य महामारीको सूचीमा थपियो ‘आत्महत्या’

चितवन । जिल्ला स्वास्थ्य कार्यालय चितवनले अघिल्लो आर्थिक वर्षमा जिल्लामा भएका रोगको प्रकोपजन्य महामारीमा चारवटा मुख्य रोगहरु उल्लेख गरेको छ । जिल्लामा हुने स्वास्थ्यको तथ्याङ्कमा उसले यसअघि रेबिज, दादुरा, फ्लुजन्य रोगहरु लगायत राख्ने गर्दथ्यो । यसै वर्षदेखि प्रकोपजन्य रोगमा कार्यालयले आत्महत्या पनि थपेको छ ।

चितवन जिल्लाको कुनै पालिकास्तरमा भएका प्रकोपजन्य रोगहरु उल्लेख गर्ने क्रममा कार्यालयले माडीमा दुई वर्षयता भएको आत्महत्याको विवरणलाई पनि प्रकोपजन्य महामारी रोग उल्लेख गरेको हो ।

स्वास्थ्य कार्यालय चितवनका निमित्त प्रमुख इन्द्रमणि भण्डारीका अनुसार चितवनको माडीमा गएको दुई वर्षमा आत्महत्याबाट ३७ जनाको ज्यान गएको छ भने रेबिज रोग लागेर १ जनाको ज्यान गएको छ ।

विश्व स्वास्थ्य संगठनले प्रकोपजन्य रोगको महामारी हुनको लागि समुदाय स्तरमा एक व्यक्तिबाट अर्को व्यक्तिमा अनपेक्षित रुपमा आक्रमण हुनुपर्ने उल्लेख गरेको छ । सामुदायमा मानिसको स्वास्थ्यमा त्यस्ता रोग बढ्दै, अझ बढ्दै जाने अवस्था उल्लेख गर्दै पछिल्लो २० वर्षयता विश्वव्यापी रुपमा फैलिएका आठवटा रोगको उल्लेख गरेको छ । ति प्रकोपजन्य महामारीमा आत्महत्या भने समावेश छैन ।

स्वास्थ्य कार्यालय चितवनका निमित्त प्रमुख भण्डारी भने माडी लगायतका चितवनका विभिन्न समुदायमा फैलिएका आत्महत्याको अवस्था हेर्दा यसलाई प्रकोपजन्य महामारीमा राख्नुपर्ने तर्क गर्छन् ।

भण्डारी भन्छन्— चितवनको माडी नगरपालिकामा दुई वर्षमा ३७ जनाले ज्यान फाल्नु भनेको सामान्य अवस्था मान्न सकिँदैन । त्यसैले हामीले प्रकोपजन्य महामारी अन्तर्गत राखेका हौं ।

माडीमा गतवर्ष ९ र ११ वर्षका बालकदेखि ७० वर्षसम्मका व्यक्तिले आत्महत्या गरेका तथ्याङ्क प्रहरीसँग पनि छ । अधिकांश भने २५ माथिका ३५ वर्षसम्मका रहेका माडी नगरपालिकाका नगरप्रमुख ताराकाजी महतो बताउँछिन् ।

उनका अनुसार असोजमा भएको कार्यपालिका बैठक र माडीस्तरका स्वास्थ्य संस्थाहरुको बैठकमा पनि पालिकाभित्र भएको आत्महत्याको डरलाग्दो तथ्याङ्कबारे छलफल भएको थियो । पालिकाले मानसिक स्वास्थ्य समस्या भएको क्षेत्र पहिचान गरेर मनोसामाजिक परामर्शदातालाई परामर्शको लागि पठाउने गरेको त छ । तर, प्रभावकारी रुपमा आत्महत्या नियन्त्रण गर्न नसकिएको प्रमुख महतो बताउँछिन् ।

‘मदिराको कारणले सबैभन्दा बढी आत्महत्या बढेको देखिन्छ’, उनी भन्छिन्, ‘तर, सरकारको आधिकारिक निकायमा दर्ता भएर सञ्चालन भएका मदिरा पसल रोक्न सक्ने अवस्था छैन ।’ आत्महत्याको तथ्यांक बढ्दो भएपनि प्रकोपजन्य महामारी हो वा होइन भन्ने निक्र्यौल सरकारको स्वास्थ्य अधिकार प्राप्त संस्थाले घोषणा गर्नुपर्ने भएकोले नगरले महामारी भन्नेबारे केही निर्णय भने नभएको उनले बताइन् ।

मनोचिकित्सक डाक्टर गिरीराज भन्तना भने आत्महत्यालाई प्रकोपजन्य महामारीमा नराखी सरकारी संस्थाले उक्त स्थानको मानसिक स्वास्थ्य अवस्थाबारे अध्ययन गर्नुपर्ने तर्क गर्छन् । आत्महत्या आफैंमा महामारी होइन यो मानसिक स्वास्थ्य समस्याका कारण हुने अवस्था मात्रै हो’, उनले नेपाल प्रेससँग कुरा गर्दै भने, ‘स्वास्थ्य समस्याको अवस्था पहिचान गरेर मानसिक स्वास्थ्य समस्यालाई बरु सरकारी निकायले प्रकोपजन्य महामारीमा उल्लेख गर्न मिल्छ ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *