जनकपुरका रुपेशको हत्या आरोपमा २ युवक पक्राउ, लागुऔषध सेवनपश्चात मोवाईलको विषयमा झगडा मुख्य कारण (भिडिओ)
जनकपुरधाम । जनकपुरधाम उपमहानगरपालिका-२४ सोनापाडाका रुपेश महरा चमारको हत्यामा संलग्न आरोपमा प्रहरीले उनकै २ साथीलाई पक्राउ गरेको छ । औरही गाउँपालिका-६ चक्कर टोल घर भई हाल जनकपुरधाम-२४ बसहिया बस्ने पवन सहनी र बसहिया मुसहरी टोलका हरिचन मण्डल पक्राउ परेका हुन् । उनीहरूलाई प्रहरीले आज सार्वजनिक गरेको छ ।
लागुऔषध सेवनपश्चात मोवाइलको विषयमा झगडा हुँदा साथी रुपेशको हत्या भएको प्रहरीको भनाइ छ ।
कात्तिक १० गते इस्कन मन्दिरनजिक धान खेतमा महराको शव भेटिएको थियो । हत्यामा उनकै साथीहरू सहनी र मण्डलको संलग्नता रहेको प्रारम्भिक अनुसन्धानबाट खुलेको धनुषाका प्रहरी प्रमुख एसपी विश्वराज खड्काले जानकारी दिए ।
‘जटहीस्थित नेपाल-भारत सीमा पारीबाट लागुऔषध सेवन गरी आएर तीनजनाबीच मोबाइलको विषयमा विवाद भएपछि हरिचनले रुपेशको टाउकोमा पछाडिबाट भाटाले प्रहार गरेपछि मृत्यु भएको पाइयो’, एसपी खड्काले भने ।
घटनाको क्रममा मृतकले प्रयोग गर्ने साइकल, मोवाइल सेट, घटनामा संलग्न रहेका हरिचनले हत्या गर्ने समयमा प्रयोग गरेको टिसर्ट, बाँसको भाटा, पवन सहनीको मोबाइल पनि प्रहरीले बरामद गरेको छ ।