‘विचरा म’ सँगै कन्दराको पुनरागमन, देशैभर सांगीतिक कार्यक्रम गर्ने – Nepal Press

‘विचरा म’ सँगै कन्दराको पुनरागमन, देशैभर सांगीतिक कार्यक्रम गर्ने

काठ्माडौं । पचासको दशकमा पोखराबाट उदाएको चर्चित पप ब्याण्ड ‘कन्दरा’ले नयाँ गीत ‘विचरा म’ सँगै नेपाली सांगीतिक क्षेत्रमा पुनरागमन गरेको छ । रेडियो नेपालमा लाइभ रेकर्ड गरिएको गीतले कन्दराको मौलिकतालाई थप बलियो बनाएको छ ।

गीतमा गीतकार आनन्द अधिकारीको शब्द रचना रहेको छ । गीतमा विवेक श्रेष्ठले आवाज भरेका छन् । सुनिल थापाको संगीत र हरि महर्जनको एरेन्ज रहेको गीतमा देव लामाको मिक्सिङ एण्ड मास्टरिङ छ ।

सार्वजनिक गीतको भिडिओको सिनेमेट्रोग्राफीको पाटो शिवराम श्रेष्ठ र अनिल मानन्धरले सम्हालेका छन् । भिडिओको कन्सेफ्ट भने आशिष पराजुलीको हो । भिडिओको निर्देशक पनि उनी स्वयंम हुन् । गीत कन्दरा व्याण्ड युट्युब च्यानल मार्फत सार्वजनिक भएको छ ।

कन्दराले थप ५ वटा गीतहरूको ‘वान टेक रेकर्डिङ र सुटिङ’समेत सम्पन्न गरेको छ । यी सबै गीतहरु क्रमशः रिलिज गर्दे जाने टीमको तयारी छ ।

कन्दरा ब्याण्डको मुख्य भोकलिष्ट विवेक श्रेष्ठ हुन । यतिबेला उनी ब्याण्डलाई पुनः स्थापीत गर्न राम्रो तयारीका साथ लागेका छन् ।

पुनरागमनसँगै ब्याण्डको व्यवस्थापनमा पनि केही परिवर्तन आएको छ । अब यो ब्याण्डको व्यवस्थापनको जिम्मा‘आदि ग्रुप प्रालि’ले लिएको छ । व्यवस्थापकको सम्पूर्ण जिम्मेवारी आदि ग्रुपका परिकल्पनाकार आशिष पराजुलीले सम्हालेका छन् ।

व्यवस्थापकको जिम्मेवारी पाएसँगै आदि ग्रुपले ब्याण्डको पुनर्संरचना समेत गरेको छ । जसअनुसार ब्याण्डको स्थापनाकर्ता विवेक श्रेष्ठ र सुनिल थापासँगै नेपालमा पहिलोपटक जिप्सीज्याज म्युजिक गुञ्जयमान गराएका हरि महर्जनलाई गितारको अख्तियारी सुम्पिएको छ । वेस गितारमा पङ्कज झा, गितारमा पछिल्लो पुस्ताका चर्चित गितार वादक देव लामा र ड्रमसेट र मादल (प्रक्रिउजन) मा विज्ञ सुन्दर महर्जनलाई जिम्मेवारी दिइएको छ । पुराना ब्याण्ड मेम्बरहरुले पर्याप्त समय दिन नसक्दा ब्याण्ड मेम्बर परिवर्तन गरिएको हो ।

नयाँ व्यवस्थापक भेटाएसँगै कन्दराले ‘पहिले घर अनि परदेश, घरदेश घुमौँ पर्यटनको प्रवर्द्धन गरौं’ भन्ने उद्घोषका साथ देशैभर सांगीतिक कार्यक्रम गर्ने भएको छ । जसको सुरुवात आगामी मंसिर १६ गते पोखराबाट हुने व्याण्डका मुख्य भोकलिष्ट विवेक श्रेष्ठको भनाइ छ । पोखरामा गर्ने कार्यक्रमको नाम ‘घर आँउदै कन्दरा’ तय भएको छ । देशका सातै प्रदेश र मुख्य सहरमा सांगीतिक कार्यक्रम गरी समापन काठमाडौंमा गरिनेछ । यो अभियानमा कन्दरालाई पोखरा पर्यटन परिषदले साथ दिनेछ ।

२०५० मा पहिलो एलबम ‘चञ्चले कान्छी’ निकालेको कन्दराले २०५२ मा दोस्रो एल्बम ‘डाँडापारी’, २०५५ मा तेस्रो एल्बम ‘हङकङ पोखरा’, २०६२ मा चौथो एल्बम ‘वर्षौपछि’ र २०७२ मा पाँचौ एल्बम ‘भेडिगोठमै’ बजारमा ल्याएको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर