गुटेरेससँगै उभिएर प्रधानमन्त्रीले भने- सौहार्दपूर्ण वातावरणमा छलफल भयो (भिडिओ)
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र संयुक्त राष्ट्र संघका महासचिव एन्टिनियो गुटेरेसबीच भेटवार्ता भएको छ । सिंहदरबारमा भएको भेटवार्तापछि प्रचण्डले दुई पक्षीय हित र राष्ट्रिय अन्तर्राष्ट्रिय महत्वका विषयमा विश्वासका साथ सौहार्दपूर्ण वातावरणमा छलफल भएको बताए ।
महासचिव गुटेरेससँगै उभिएर पत्रकारसँग उनले भने, ‘जलवायु परिवर्तन र नेपालमा त्यसको नकारात्मक परिमाणलाई कम गर्न संयुक्त राष्ट्र संघले खेलेको भूमिकाको प्रशंसा भयो आउने दिनमा सहयोगको अपेक्षा गरेका छौं ।’
संक्रमणकालीन न्याय अन्तिम चरणमा रहेको भन्दै उनले यसमा अन्तर्राष्ट्रिय समुदाय र संयुक्त राष्ट्रसंघको भूमिकाबारे पनि कुराकानी भएको बताए ।
‘नेपालको आर्थिक विकास र समृद्धि, २०३० को एसडीजीको लक्ष्यमा नेपाललाई साथ सहयोगबारे पनि छलफल भयो’, प्रधानमन्त्रीले भने ।
उनले थपे, ‘नेपालको राजनीतिक उतारचढाव शान्ति प्रक्रियाबारे उहाँलाई धेरै थाहा छ । नेपालले विश्व शान्तिका लागि शान्ति सेनामा सेना/प्रहरीको भूमिका मुक्त कण्ठले प्रशंसा गर्नुभयो । त्यसको उचित सम्मान होस् भनेर कुरा राख्यौं । यो भ्रमणपछि राष्ट्र संघ र नेपाल अन्तर्राष्ट्रियरूपमा सम्बन्ध सहजीकरण गर्न महत्वपूर्ण भूमिका खेल्ने विश्वास गरेका छौं ।’
गम्भीर छलफल भयो र चाँडै अर्को बैठक गर्ने निर्णय भयो भनेनन् प्रचण्डले ? यो त उनको पुरानो बानी हो ।