‘महिलासँग अफेयर’ भनेर चरित्रहत्या गर्नेविरुद्ध कानूनी उपचारमा जाने वीरगन्जका मेयरको चेतावनी
वीरगन्ज । वीरगन्ज महानगरपालिकाका मेयर राजेशमान सिंहको अमूक महिलासँगको सम्बन्धलाई लिएर मिडियाबाजी भएपछि उनले सामाजिक संजालबाट प्रतिवाद गरेका छन् । अर्की महिलासँगको ‘अफेयर’ को समाचार भाइरल भएपछि उनले चरित्रहत्या गर्नेविरुद्ध कानूनी उपचारमा जाने बताएका छन् ।
मेयरको अफेयरबारे सामाजिक सञ्जाल फेसबुकमा विभिन्न लिंकहरु भाइरल गरेपछि मेयर सिंहको सचिवालयले सुरुमा खण्डन गरेको थियो । त्यसपछि साँझ मेयर आफैंले कानूनी उपचार खोज्ने भन्दै आफूमाथिको आरोपको खण्डन गरेका हुन् ।
सामाजिक सञ्जालमा आफ्नो बारेमा गलत समाचार फैलिरहेको बारे आफू जानकार रहेको भन्दै मेयर सिंहले केही व्यक्ति र पत्रकारहरुले आफ्नो चरित्रहत्या गर्न खोजेको बताएका छन् ।
उनले आफ्नो फेसबुक पेजमा लेखेका छन्, ‘राजनीतिक प्रतिस्पर्धा गर्न नसकेर व्यक्तिगत रिस निकाल्न केही व्यक्ति मेरोविरुद्ध भ्रम फैलाइरहेका छन । विकास र समृद्धिको बाटोमा लैजान मेरो एकमात्र उद्देश्य र काममा अवरोध गरी विभिन्न उल्झनमा अल्झाउँदै, समय बर्बाद पार्दै अन्ततः फेल गर्ने प्रेरित व्यक्तिहरु यो कार्यमा सक्रिय रहेको मेरो बुझाइ छ । विपक्षीहरु, केही संकुचित मानसिकताका पत्रकारहरुले जतिसुकै हतकन्डा अपनाए पनि यो सपना सकार हुने छैन, त्यसकारण भ्रामक र काल्पनीय विषयबाट विल्कुलै विचलित हुने छैन । सम्भावनालाई सम्भव बनाउँने हाम्रो यात्रा निरन्तर जारी रहनेछ ।’
प्रदेश पोर्टलले शुरुमा मेयरबारे लेखेको काल्पनिक स्टोरीलाई नै अहिले भाइरल बनाइएको भन्दै सचिवालयका सदस्यहरुले चरित्रहत्या गर्नेविरुद्ध कानूनी उपचार खोजिने जनाएको छ । उनलाई मोरङकी एक महिलासँग जोडेर चरित्रहत्या गर्न खोजिएको भनाइ छ ।