घरेलु मैदानमा बलियो टीम, आँखामा छ विश्वकप ड्रिम – Nepal Press
टुर्नामेन्ट प्रिभ्यु

घरेलु मैदानमा बलियो टीम, आँखामा छ विश्वकप ड्रिम

त्रिकोणात्मक श्रृंखलाले नेपाललाई बढी फाइदा भयो कि यूएई र हङकङलाई ?

काठमाडौं । दोस्रो पटक टी-२० विश्वकप खेल्ने लक्ष्यसहित नेपालले भोलिबाट एसिया क्वालिफायर खेल्दैछ । एसिया क्षेत्रका ८ देश सहभागी प्रतियोगितामा नेपाल उपाधिकै बलियो दावेदार हो ।

घरेलु मैदानमा हुने भएकाले मात्र होइन, टीमको सन्तुलन, लय र आत्मविश्वासका कारण पनि क्वालिफायरमा अन्य ७ टीमलाई नेपालकै सबैभन्दा बढी डर हुनुपर्छ । यसको अर्थ यो होइन कि अन्य टीमहरु कमजोर छन् । नेपालले कसैलाई पनि कम आँक्न मिल्ने स्थिति छैन । यूएई र ओमान नेपालका चिरप्रतिद्वन्द्वी नै हुन् । हङकङ पनि लगभग नेपालकै स्तरको मानिन्छ । मलेसिया, कुवेत, सिंगापुर, बहराइन जस्ता टीम दावेदार नहोलान् । तर, ‘सेटब्याक’ रिजल्ट निकाल्न सक्षम छन् । त्यसैले नेपाललाई अति आत्मविश्वासी बन्न वा हेलचेक्र्याइँ गर्न कत्ति पनि छुट छैन । खेलाडीहरुले हरेक खेलमा आफ्नो सय प्रतिशत नै दिनुपर्नेछ । सानो चुक पनि नेपालका लागि महँगो पर्नसक्छ ।

नेपालले क्वालिफायरको तयारीका लागि भनेर हालै यूएई र हङकङसँग त्रिकोणात्मक प्रतियोगिता आयोजना गर्‍यो । तर, यो प्रतियोगिताको फाइदा नेपाललाई बढी भयो कि यूएई-हङकङलाई भन्ने प्रश्न उठ्छ । सायद नेपाललाई भन्दा प्रतिस्पर्धी टीमहरुलाई फाइदा भयो । उनीहरुले नेपालको माहोल र पिच कन्डिसनको अनुभव लिन पाए । अन्यथा मूलपानीको पीच उनीहरुका लागि नौलो हुने थियो । उनीहरुलाई नेपालको बलिङ र ब्याटिङसँग अभ्यस्त हुने अवसर पनि मिल्यो ।

प्रतियोगितामा नेपालले केही रणनीतिक गल्तीहरु गर्‍यो । आफ्ना प्रमुख खेलाडीलाई लुकाएर रिजर्भ खेलाडीहरुलाई टेस्ट गरिनुपर्थ्यो । यस्ता कम महत्वका खेलहरुलाई आफ्नो बेञ्च स्ट्रेन्थ बलियो बनाउन सदुपयोग गर्नेतर्फ आगामी दिनमा ध्यान जानुपर्छ । सन्दीप लामिछाने अनुपस्थित हुँदा त्रिकोणात्मक सिरिजमा त्यसको असर पर्‍यो । भोलि कुनै नियमित खेलाडी चोट वा अन्य कारणले बाहिर हुन सक्छन् । त्यसैले बैकल्पिक खेलाडीको एउटा बलियो पंक्ति बनाउनैपर्छ ।

प्रतियोगिताको समूह चरणमा यूएई र हङकङमाथि पूर्ण रुपमा हावी भएको नेपाल फाइनलमा भने हार्‍यो । यो पराजयले नेपालको आत्मविश्वास थोरै भए पनि डग्मगाएको छ । नेपाललाई हराउँदा यूएईको आत्मविश्वास ह्वात्तै बढ्यो होला सायद । पछिल्ला वर्षमा यूएईका लागि नेपाल भारी प्रतिद्वन्द्वी बन्दै गइरहेको थियो । त्रिकोणात्मक सिरिजको उपाधि जीतले क्वालिफायरअघि यूएईलाई निकै ठूलो मनोबल प्राप्त भएको छ ।

नेपालसँग पनि त्रिकोणात्मक सिरिजमा लागेको धक्काबाट पाठ सिक्ने अवसर छ । लगातारको उत्कृष्ट प्रदर्शनले टीममा ‘ओभरकन्फिडेन्स’ सवार भएकै थियो । फाइनलको हारले त्यसलाई सन्तुलनमा ल्याएको हुनुपर्छ । विपक्षीलाई कमजोर आँक्नु हुँदैन भन्ने पाठ खेलाडीहरुले पक्कै सिकेका छन् ।

यो प्रतियोगितामा नेपालका लागि फाइनलभन्दा सेमिफाइनल बढी महत्वपूर्ण छ । फाइनलमा स्थानमात्रै बनाए टी-२० विश्वकपमा स्थान सुरक्षित हुन्छ । फाइनलको जीत–हार भनेको बोनसमात्रै हो । कथंकदाचित सेमिफाइनलमा हार्‍यो भने चाहिँ नेपाली क्रिकेटलाई लामो समयसम्म चह¥याउने चोट लाग्नेछ । फेरि एकपटक सुनौलो अवसर खेर जानेछ ।

तर, यो टीम भरोसा गर्न लायक छ । नेपालले राष्ट्रिय टीममा यो स्तरको सेटअप अहिलेसम्म पाएको थिएन । बलिङ धारिलो छ, ब्याटिङ लामो र विविधतापूर्ण छ, फिल्डिङ चुस्त छ । फास्ट बलिङमा अलिकति संशय गर्न सकिन्छ । अन्यथा यो एकदमै पूर्ण टीम हो । ९-१० नम्बरसम्म ब्याटिङ गर्न सक्ने पंक्ति धेरै टीमहरुको नसिबमा हुँदैन, जुन हामीसँग छ । टप अर्डर नचले मध्यक्रम छ, मध्यक्रम फ्लप भए तल्लाे क्रम पनि कमजाेर छैन । अन्तिम विकेटसम्म आशा राख्न सकिन्छ। कुशल भुर्तेल, आसिफ शेख, राेहित पाैडेल, कुशल मल्ल, दीपेन्द्रसिंह ऐरी, साेमपाल कामी, करण केसी सन्दीप लामिछाने, ललित राजवंशी सबैले आफूलाई म्याचविनर सावित गरिसकेका छन् ।

विगतमा नेपालले क्रिकेटमा जेजति सफलता पायो, धेरै हदसम्म त्यो बलिङबाट, त्यसमा पनि स्पिन बलिङबाट हासिल भएको थियो । नेपालको ब्याटिङ कहिल्यै भर गर्न लायक थिएन । एक दिवसीयमा २०० रन कटाउनै हम्मे पर्थ्यो । अहिलेको टीमबाट टी-२० मा २०० रन र एक दिवसीयमा ३०० रनको सहज अपेक्षा राख्न सकिन्छ ।

नेपालको ब्याटिङ विगतमा दुई-तीन खेलाडीमा निर्भर हुन्थ्यो । ओपनिङ जोडी कहिल्यै भरपर्दो र स्थिर थिएन । मध्यक्रममा ज्ञानेन्द्र मल्ल, पारस खड्का र शरद भेषवाकरले धानेका थिए । उनीहरु चले भने चले । नत्र ब्याटिङ सकियो । तर, अहिले त्यस्तो छैन । कुशल भुर्तेल र आसिफ शेखको उत्कृष्ट ओपनिङ जोडी छ । मध्यक्रममा कुशल मल्ल, रोहित पौडेल, दीपेन्द्रसिंह ऐरी, गुल्शन झा जस्ता बलिया पिल्लरहरु छन् । तल्लो क्रममा पनि सोमपाल कामी, सन्दीप लामिछाने, करण केसी ब्याट चलाउन सक्षम छन् । भन्नुपर्दा, नेपाली टीममा जसले पनि बलिङ गर्न सक्छ र जसले पनि ब्याटिङ गर्न सक्छ । यही नै नेपालको सबैभन्दा ठूलो शक्ति हो ।

फास्ट बलिङमा सोमपाल र करणको अनुभवी जोडी छ । पछिल्लो समय उनीहरुले नियमित रुपमा राम्रो प्रदर्शन गरिरहेका छन् । तर, नेपालको स्ट्रेन्थ फास्टभन्दा पनि स्पिन बलिङ हो । सन्दीप लामिछाने र ललितसिंह राजवंशीको जोडीलाई एसोसियट्स क्रिकेटमै उत्कृष्ट स्पिन जोडी भन्दा फरक नपर्ला । उनीहरुको पछाडि दीपेन्द्रसिंह ऐरी पनि उत्तिकै भरपर्दा छन् । साथमा कुशल मल्ल र कुशल भुर्तेल छन् पार्ट टाइम स्पिनरका रुपमा । कप्तान रोहित पौडेल पनि स्पिन फ्याक्न सक्छन् । उस्तै परे नेपालले ४० ओभरसम्म स्पिन बलर उतार्न सक्छ ।

नेपाल ९ वर्षअघि पहिलो पटक नै टी-२० विश्वकपमा पुगेको हो । अहिले फरक के छ भने नेपाल मात्रै विश्वकप खेल्न चाहँदैन, विश्व पनि नेपाललाई विश्वकपमा हेर्न आतुर छ । एक दिवसीय विश्वकप क्वालिफायर, एसिया कप हुँदै एसियन गेम्ससम्ममा बलिया प्रतिस्पर्धीहरुविरुद्ध नेपालको साहसिक प्रदर्शनले नेपाली क्रिकेटतर्फ विश्वको ध्यानाकृष्ट भइरहेको छ । विश्वभरका क्रिकेट पण्डितहरुले नेपालका खेलहरु पछ्याउन थालेका छन् । यदि टी-२० विश्वकपमा स्थान बनाउन सफल भयो भने नेपाली क्रिकेटका लागि त्यो अर्को ठूलो उपलब्धि हुनेछ ।

– चिरञ्जीवी पौडेल


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *