दीपिकाको अन्तर्वार्ताले बलिउडमा हंगामा : भनेकी थिइन्- म अरुलाई पनि भेट्थें, तर रणवीरप्रति प्रतिबद्ध थिएँ
काठमाडौं । बलिउड अभिनेत्री दीपिका पादुकोणको एउटा अन्तर्वार्ताले यतिबेला भारतमा हंगामा गरेको छ । सामाजिक सञ्जालमा दीपिका चौतर्फी ट्रोलको सिकार भइरहेकी छन् ।
बलिउड फिल्ममेकर तथा टीभी पर्सनालिटी करण जोहरको कार्यक्रम ‘कफी विथ करण सिजन ८’ मा पहिलो पाहुनाको रुपमा आफ्नो श्रीमान रणवीर सिंहसँगै पुगेकी थिइन् दीपिका । त्यो कार्यक्रममा उनले रणवीरसँगको अफेयरका विषयमा बोलेका केही कुरा अहिले सामाजिक सञ्जालमा भाइरल भइरहेको छ ।
फेसबुकदेखि युट्युबसम्म दीपिकाको चरित्रमाथि प्रहार भइरहेको छ ।
सम्भवतः विवाहपश्चात दीपिका र रणवीरले एकसाथ दिएको यो पहिलो अन्तर्वार्ता हो । समारोहहरुमा सँगै देखिए तापनि उनीहरुले एकसाथ बसेर कुनै पनि कार्यक्रममा आफ्नो वैवाहिक जीवनबारे खुलेर कुराकानी गरेका थिएनन् ।
करणले लिएको अन्तर्वार्तामा भने उनीहरुले आफ्नो प्रेम सम्बन्ध, डिप्रेसनदेखि विवाहसम्मका कुरा खुलेर सुनाए । पहिलो चोटि यो जोडीको सम्बन्धबारे विस्तृत रुपमा सुन्न पाएकाले दर्शकमा अन्तर्वार्ताप्रति कौतुहल धेरै देखियो । तर, दीपिकाको अभिव्यक्तिलाई लिएर यतिबेला अधिकतम दर्शक उनीमाथि खनिएका छन भने रणवीरप्रति सहानुभूति प्रकट गरिरहेका छन् । दीपिकाले रणवीरलाई ‘ब्याकअप’ को रुपमा राखेको धेरैको बुझाइ छ ।
के भनेकी थिइन् दीपिकाले ?
सञ्जय लीला भन्सालीको चलचित्र ‘गोलियों की रासलीलाः राम-लीला’ को सुटिङका दौरान पहिलो चोटी यी दुईको भेट भएको थियो । पहिलो भेट भएको भोलिपल्टै यी दुईले डेट गरेका थिए । रणवीरसँग भेट्दा दीपिका सिंगल थिइन् ।
अधिकतमलाई थाहै होला, रणवीर सिंहसँग प्रेम सम्बन्धमा बाँधिनुपूर्व दीपिका अर्का बलिउड अभिनेता रणवीर कपुरसँग प्रेम सम्बन्धमा थिइन् । कपुरले छाडेपछि एक्लिएकी दीपिका अर्को सम्बन्धको लागि मानसिक रुपमा तयार थिइनन् । आफू केही कठिन सम्बन्धहरुबाट गुज्रिएकाले त्यो समय तुरुन्तै कसैसँग जोडिन नचाहेको उनले अन्तर्वार्तामा खुलाएकी छन् ।
उनले भनेकी छन्, ‘म केही कठिन सम्बन्धहरूबाट बाहिर आएकी थिएँ । म यस्तो चरणमा थिए कि कोहीसँग सम्बन्धमा फेरि बाँधिन चाहन्न थिएँ । म केही समय सिंगल रहन चाहन्थें । दुःखलाई बिर्सेर रमाइलो गर्न चाहन्थें । त्यस्तो अवस्थामा रणवीरसँग भेट भयो । डेट सुरु भयो । डेट गर्दा हामीमा कुनै बन्देज थिएन । हामीलाई अरुसँग पनि डेट गर्न अनुमति थियो । तर, हामी अन्तमा एकअर्कामा फर्केर आउँथ्यौं । रणवीरसँग हुँदा मैले अरूलाई पनि भेटेकी हुँ । तर, कसैलाई भेट्दा पनि मलाई त्यस्तो उत्साह भएन । अरुलाई पनि भेट्थें । तर, मनभित्रबाट भने म रणवीरप्रति प्रतिबद्ध थिएँ ।’
दीपिकाको यही अभिव्यक्ति विवादित बनेको छ । दीपिकाले यस्तो बताइरहँदा रणवीरको अनुहार हेर्न लायक थियो । उनी रिसाएका पनि थिए । यो क्लिप हेरेका धेरैले रणवीरप्रति सहानुभूति दर्शाएका छन् । दीपिकाले रणवीरलाई व्याकपअमा राखेर अरु धेरैसँग डेट गरेको मानिसहरुको बुझाइ छ ।