प्रधानमन्त्रीको घोषणाअनुसार माओवादीले काठमाडौंमा जनप्रदर्शन गर्ने – Nepal Press

प्रधानमन्त्रीको घोषणाअनुसार माओवादीले काठमाडौंमा जनप्रदर्शन गर्ने

काठमाडौं । सत्तारुढ दल नेकपा माओवादी केन्द्रले काठमाडौंमा जनप्रदर्शन गर्ने भएको छ । माओवादी अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को अध्यक्षतामा आइतबार बसेको बैठकले सडक आन्दोलन गर्ने निर्णय गरेको हो ।

अध्यक्ष प्रचण्ड र महासचिव देव गुरुङको हस्ताक्षरमा पठाइएको ६ बुँदे सर्कुलरमा संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षा तथा सुदृढीकरण, राष्ट्रिय स्वाधीनताको रक्षा र प्रतिगमनको विरोध आदि विषयलाई लिएर जनप्रदर्शन गर्ने निर्णय भएको उल्लेख छ ।

सर्कुलरमा भनिएको छ, ‘अभियानकै क्रममा पार्टीको बागमती प्रदेश, जबस सम्बद्ध उपत्यका विशेष प्रदेश र उपत्यका सम्पर्क समन्वय प्रदेशको संयुक्त आयोजनामा यही मंसिर २२ गते काठमाडौंमा संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षा तथा सुदृढीकरण, राष्ट्रिय स्वाधीनताको रक्षा र प्रतिगमनको विरोध आदि विषयलाई लिएर जनप्रदर्शन गर्न र गराउन पहल गर्ने निश्चित गरिएको छ ।’

पछिल्लो सयम प्रधानमन्त्री प्रचण्डले आफैं सरकारको नेतृत्व गरेर पनि व्यवस्थामाथि खतरा बढेको भन्दै लाखौं जनता सडकमा उतार्ने बताउँदै आएका थिए । समाजवादी मोर्चाका सन्देश सभामा प्रधानमन्त्री प्रचण्डले घोषणा गरेअनुसार नै माओवादीले नै सडक संघर्षको कार्यक्रम तय गरेको हो ।

यद्यपि, प्रधानमन्त्रीले नै सडकमा जनता उतार्छु भन्ने अभिव्यक्ति दिएपछि सत्तारुढ घटक नेपाली कांग्रेसमा नेताहरूले भने असन्तुष्टि पोख्दै आइरहेका छन् ।


प्रतिक्रिया

One thought on “प्रधानमन्त्रीको घोषणाअनुसार माओवादीले काठमाडौंमा जनप्रदर्शन गर्ने

  1. सामान्यतया सडक संघर्षहरू वा जनप्रदर्शनहरू सत्ताधारीहरूका गतिविधि बिरूद्ध हुन्छन् अथवा सत्ता बिरोधि हुन्छन् । तर, सत्तामा रहेर सरकारको नेतृत्व पनि गर्ने अनि सडक संघर्ष (जनप्रदर्शन) पनि गर्ने कुराले माओवादी केन्द्र मुलुकभर अराजकता फैलाउन उद्दत रहेको छ । त्यो पार्टी नेपालको भू-राजनीतिक वातावरण धमिल्याउँदै हिन्द-प्रशान्त रणनीतिकारहरूको योजनाहरूलाई सहज बनाउन प्रयत्नरत रहेको पो देखिन्छ त !

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर