राजस्व चुहावट नियन्त्रणमा भन्सार विभागका यी सूत्र, गत वर्षभन्दा कति बढ्यो ?
काठमाडौं । भन्सार प्रशासनले गत आर्थिक वर्षको साउनदेखि असोज महिनासम्मको तुलनामा चालू आर्थिक वर्षको सोही अवधिमा ११.२ प्रतिशत बढी राजस्व संकलन गरेको छ ।
गत आर्थिक वर्षमा ९७ अर्ब ७९ करोड राजस्व संकलन भएकोमा चालू आर्थिक वर्षमा १ खर्ब ८ अर्ब ७४ करोड राजस्व संकलन भएको छ । गत वर्षको तुलनामा आयात व्यापारमा १.६९ प्रतिशतले मात्र वृद्धि भएको भएता पनि राजस्व संकलनमा उल्लेखनीय प्रगति भएको देखिएको हो ।
भन्सार विभागमा नयाँ नेतृत्व आएसँगै राजस्व चुहावटमा शून्य सहनशीलता अवलम्बन गर्ने नीति लिएको छ । विभागका अनुसार अनलाइनको माध्यमबाट हुने प्रत्यक्ष अनुगमन कार्यलाई प्रभावकारी बनाई बिदाको दिनमा र कार्यालय समयअगाडि पछाडिसमेत सबै भन्सार कार्यालयको अनुगमन गर्ने कार्यको थालनी गरिएको हो ।
अनुगमनको क्रममा भन्सार मूल्यांकन, वस्तु वर्गीकरण र मालवस्तुको घोषणामा कुनै कैफियत देखिएमा तत्काल भन्सार ऐन अनुसार कारबाही गर्न लगाउने गरिएको छ । यसरी अनुगमन गर्दा गम्भीर राजस्व छली हुन सक्ने देखिएमा त्यस्ता कन्साइमेन्ट रोकी विभागबाटै छड्के परिक्षणको लागि टोली पठाउने कार्यको सुरूवात भएको विभागले जनाएको छ ।
त्यस्तै, भन्सार नियन्त्रणलाई प्रभावकारी बनाउन सूचना प्रविधिको प्रयोगलाई पूर्ण उपयोग, भन्सार जाँचपासमा जोखिम व्यवस्थापनको प्रयोग, नियमित प्रणाली परीक्षण गरी कुनै कैफियत देखिएमा वर्षभरिकै छुट रकम असुली र राजस्व चुहावटमा कुनै कर्मचारी संलग्न देखिएमा तत्काल जिम्मेवारीबाट हटाउने जस्ता नीति अवलम्बन गरिएको छ ।
विभागले प्रत्यक्ष अनुगमनबाट चालू आर्थिक वर्षको साउनमा १२ करोड १८ लाख, भदौमा १४ करोड र असोजमा २० करोड थप राजस्व असूल गरेको बताएको छ । गत आर्थिक वर्षको सोही अवधिमा प्रत्यक्ष अनुगमनबाट साउनमा २ करोड ३० लाख, भदौमा १ करोड ८६ लाख र असोजमा ८३ लाख थप राजस्व असुल गरिएको थियो ।
विभागले लिएको प्रभावकारी नीतिका कारण प्रत्यक्ष र अप्रत्यक्ष रुपमा समग्र राजस्व संकलनमा सुधार भएको, समग्र व्यापार वृद्धिको तुलनाभन्दा राजस्व संकलनको वृद्धिदर बढी भएको, भन्सारको आन्तरिक नियन्त्रण पक्ष प्रभावकारी भएको, सबै भन्सार कार्यालयमा भन्सार मूल्यांकनमा एकरूपता कायम भएको र भन्सार घोषणामा शुद्धता आउन थालेको अधिकारीहरूको दाबी छ ।