दूतराजलाई आमाले भन्ने गर्छिन्, ‘धेरैले माया गर्छन्, उनीहरुको मन दुःखाउने काम चाहिँ नगर’
काठमाडौं । प्रकाश दूतराजलाई कंक्रिटको शहरभन्दा गाउँ नै प्रिय छ । गाउँकै सुगन्धमा सृजनाका झिल्कोहरु खोज्न रुचाउँछन्, गीत बनाउँछन् । गाउँ नै बिर्सिसकेका दर्शकहरुलाई पस्कन्छन् । दूतराजको आफ्नै सिद्धान्त छ, ‘गीत जहाँको होस्, तर गीतले माटोलाई छोएको होस् ।’
‘घर कता हो बैनीको’, ‘चोली मैलै भो’ ‘जाम भो माइली’, ‘बैनी झ्यालैमा’ र पछिल्लो समय सार्वजनिक भएको ‘रिमै’ जस्ता दूतराजका गीतहरु दर्शक/स्रोताको जिब्रोमा झुण्डिएका छन् । यी सबै गीतहरुले गाउँ बिर्सिसकेकाहरुलाई गाउँ पुनः सम्झाउन कोसिस गर्ने दूतराजको अनुमान छ । आफू माटोभन्दा एक इन्च पनि माथि नउठिकन माटोमै टेकेर गीतले लय निकाल्ने भएकाले पनि दर्शकको माया पाए जस्तो लाग्छ उनलाई ।
यस्तै गीतहरुले उनलाई विदेश जानबाट रोके । मेनपावरलाई डकुमेन्ट बुझाएर विदेश उड्न ठिक्क परेका दूतराजलाई ‘घर कता हो बैनीको’ गीतले रोक्यो । विदेश जान खुट्टा उचालिसकेका दूतराजको पाइलालाई उनकै रहरले रोक्यो । गरिबीलाई धकेल्न विदेश धकेलिन लागेका दूतरात दोहोरी साँझमा गीत गाउने लोभमा रोकिए ।
जबजब दूतराज संकटमा पर्थे, उनको उद्धार संगीतले नै गर्थ्यो । जबजब पलायन हुने सोच्थे, उनका अघि संगीत आएर उभिन्थ्यो । त्यही संगीतको फेरो समातेर विदेशमा श्रम गर्न जानेबारे मात्रै सोच्ने गरेका दूतराज कन्सर्ट लिएर विदेश जान थाले ।
दूतराज सुनाउँछन्, ‘विदेश जाँदा मलाई एकदमै खुशी लाग्छ । मलाई माया गर्नेहरुले बोलाउनुहुन्छ । जो जहाँ पुगे पनि नेपाल र नेपाली कला संस्कृतिको मायाले गर्दा इभेन्टहरु अर्गनाइज गर्नुहुन्छ । हिजो विदेश गएर श्रम गर्ने सोचेको म आजभोलि गीत गाउन पुग्छु । यस हिसाबले म भाग्यमानी रहेछु । छोटो समयमा यति धेरै माया पाएँ कि भनिसाध्य छैन ।
०००
दूतराजले भर्खरै नयाँ गीत ल्याएका छन्, ‘रिमै’ ।
दूतराजको गीत सार्वजनिक भएपछि एमाले पार्टी अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले सञ्जालमा लेखे, ‘यो दसैँमा सुनेको मीठो गीत । प्रकाश दूतराजले गाउनुभएको यो मीठो गीतमा हाम्रो राउटे समुदायको कथा छ । जति सुन्यो, झन् झन् मीठो ।’
ओलीको प्रतिक्रियाले दूतराजलाई हौस्याएको छ । दूतराज हौसिनुको कारण छ, ‘सानो लोकदोहोरी विधामा राजनीतिज्ञहरुले नजर लगाइदिनु, गीत सुनिदिनु नै ठूलो कुरा हो ।’
दूतराज थप्छन्, ‘हामी त संगीत सिक्दै गरेका विद्यार्थी न हौं । सिक्दै, दर्शकको माया बटुल्दै, सल्लाहहरु संकलन गर्दै काम गर्ने हो । उहाँहरु जस्तो राजनीतिज्ञले नेपाली कलालाई माया गरिदिँदा स्वाभाविक रुपमा राम्रो लाग्छ ।’
‘रिमै’मा दूतराजले राउटे समुदायको कथालाई उनेका छन् । गीतमा एक पात्र छ ज्यामिरे । उसको बुवा मुखियाको निधन भएको दुई दिन भएको छ । मान्छे मरेको दुई दिनभित्र राउटेहरुले नयाँ ठाउँमा बसाइ सरिसक्नुपर्छ ।
त्यही संस्कारअनुसार उनीहरु नयाँ बासस्थानतर्फ सर्दैछन् । तर, बाजकली भने ज्यामिरेको खोजीमा छिन् । र, ज्यामिरे र बाजकली हुर्किएपछिको कथालाई गीतमा समावेश गरिएको छ । गीतमा दूतराजले राउटे समुदायको संस्कृति, माया, प्रेम र जीवनको कथालाई समेटेका छन् ।
यो गीतको कन्सेप्ट दूतराजले दुई वर्षअघि नै तयार पारेका थिए । जनसंख्याको हिसाबले पनि कम रहेको राउटे समुदायमाथि उनलाई काम गर्न मन थियो । नेपालको पश्चिम पहाडी जिल्लामा बस्ने घुमन्ते यस जातिको संख्या १४१ जना र ४१ घरधुरी छन् । उनीहरुले काठका भाँडा, मधुस, ठेकी, कोसी बनाएर जीविकोपार्जन गर्दै आएका छन् ।
दूतराज सुनाउँछन्, ‘मैले यो समुदायको कथा टिप्नुमा सरकार पनि यो समुदायप्रति गम्भीर होस् भन्ने उद्देश्य हो । उनीहरुको संस्कार, संस्कृति, जीवनशैली नेपालको विविध संस्कृतिमध्ये एक हो । त्यसलाई जगेर्ना गर्ने जिम्मेवारी हामी सबैको हो भन्न पनि गीत तयार पारेको हुँ ।’
भिडियो खिच्ने क्रममा दूतराजको टीमलाई केही संस्थाहरुले सहयोग पनि गरे । राउटेहरु आफैंमा छुट्टै जोनमा रहेको समुदाय हो । उनीहरुको जोनभन्दा बाहिर के भएको छ, के हुनेवाला छ, केही थाहा नै हुँदैन । प्रविधिमा पनि उनीहरु छैनन् । दूतराज सुनाउँछन्, ‘सुरुमा हामीलाई गाह्रो भएको थियो । तर, उहाँहरुसँग घुलमिल भएपछि सजिलो भयो । उहाँहरु बडो मिलनसार हुनुहुँदो रहेछ ।’
०००
दूतराजका गीतहरु पूर्ण बनेर आउन समय लाग्छ । आउँदाखेरि भने मौलिकतासहित आउँछन् । तर, गीत यही मुडमा बनाउने भन्ने चाहिँ हुँदैन ।
अरुले जस्तो शब्द लेख्ने, लय बनाउने, श्रृंगार्ने काम खासै गर्दैनन् । बाटोमा हिँड्दै गर्दा पनि दूतराजको गीतको भ्रुण तयार हुनसक्छ । त्यसलाई उनी मोबाइलमा रेकर्ड गर्छन् । रेकर्ड सुन्दै जान्छन् । मिलाउँदै पनि जान्छन् । विस्तारै गीतले आकार लिएपछि पूर्ण गीतको तयारीमा लाग्छन् ।
दूतराजलाई लाग्छ, गीत बनाउँदा लयले शब्दलाई र शब्दले लयलाई न्याय दिएको हुनुपर्छ । उनी गर्छन् पनि त्यही । गीत बनेपछि साथीभाइहरुसँग सरसल्लाह लिन्छन् । प्रतिक्रियाहरु संकलन गर्छन् र गीत बनाउँछन् ।
दूतराज भन्छन्, ‘मेरो गीत हेर्दा पनि भयो । सुन्दा पनि भयो । तर, गीत बनाउँदा चाहिँ सुरुमा सुन्न बनाउँछु । त्यसपछि मात्रै हेर्न बनाउँछु ।’
दूतराजका गीतहरु सार्वजनिक भएपछि उनको आमा पनि दर्शक/स्रोताको हुलमा मिसिन्छिन् । दूतराजलाई भन्ने गर्छिन्, ‘धेरैले माया गर्छन् । अब उनीहरुको मन दुःखाउने काम चाहिँ नगर है ।’