नेपालको ऊर्जा क्षेत्रमा यूके एक्स्पोर्ट फाइनान्स साढे २ खर्ब लगानी गर्न तयार – Nepal Press

नेपालको ऊर्जा क्षेत्रमा यूके एक्स्पोर्ट फाइनान्स साढे २ खर्ब लगानी गर्न तयार

काठमाडौं । स्वतन्त्र उर्जा उत्पादकहरुको संस्था नेपालका अध्यक्ष गणेश कार्कीले नेपालमा जलविद्युत् तथा अन्य नवीकरणीय ऊर्जाको क्षेत्रमा लगानी बढाउन बेलायती लगानीकर्तालाई आग्रह गरेका छन् ।

नेपालको जलविद्युत लगायत नवीकरणीय ऊर्जाको क्षेत्रमा लगानी भित्र्याउने मुख्य उद्देश्यसहित लण्डनस्थित नेपाली दूतावासले आयोजना गरेको उच्चस्तरीय लगानी सम्मेलनलाई सम्बोधन गर्दै कार्कीले उक्त कुरा बताएका हुन् ।

सम्मेलनमा नेपालको ऊर्जा क्षेत्रमा लगानीका अवसरहरुका बारेमा जानकारी दिँदै कार्कीले नेपाल सरकारको भूमिका सकारात्मक रहेकोले नेपालमा लगानी गर्न विदेशी लगानीकर्ताहरुलाई आव्हान गरेका थिए ।

कार्कीले भने, ‘२८ हजार ५०० मेगावाट उत्पादनको रोड म्याप नै बनिसकेको छ । नेपालमा लगानीका लागि जति पनि अवसर छ । बैंक, इन्स्योरेन्स र रिइन्स्योरेन्सको पनि ठूलो मार्केट छ । ऋण लगानी गर्ने वा इक्वीटी लगानी गरेर प्रवर्द्धक बन्ने सबै विकल्प खुला छन् । नेपालको निजी क्षेत्र संग मिलेर काम गरौ ।’

नेपालको ऊर्जा क्षेत्रमा लगानी गर्न चाहने विदेशी लगानीकर्तालाई इप्पानले ’हेल्प डेस्क’ राखेर सबै कुरामा सहजिकरण गर्ने पनि कार्कीले बताएका थिए ।

त्यसैगरी उर्जा जलश्रोत तथा सिंचाई मन्त्रालयका सहसचिव सन्दीप देवले नेपालको ऊर्जा क्षेत्र विशेष गरी कार्यान्वयनमा रहेका जलविद्युत परियोजनाहरुमा लगानीको ठूलो अवसर भएको बताए ।

बेलायतका लागि नेपाली राजदूत ज्ञानचन्द्र आचार्यले नेपालले वित्तीय केन्द्र लण्डनबाट लगानीका दीर्घकालीन वित्तीय श्रोतहरुमार्फत् बेलायतबाट नवीकरणीय ऊर्जा, सूचना प्रविधि, शिक्षा तथा पर्यटन क्षेत्रमा प्राथमिकताका साथ लगानी भित्र्याउन चाहेको बताएका थिए ।

सम्मेलनमा ब्रीटीश इण्टरनेशनल इन्भेष्टमेन्टका प्रवन्ध निर्देशक कोलिन बक्ली तथा डोल्मा इम्प्याक्ट फण्डका संस्थापक तथा प्रमुख कार्यकारी अधिकृत टीम गोचरले नेपालमा आफूले गरेको लगानी फलदायी रहेको बताउँदै उत्तरदायी लगानीका लागि नेपाल उपयुक्त देश भएको बताएका थिए ।

उक्त सम्मेलनमा यूके एक्सपोर्ट फाइनान्सका प्रमुख कार्यकारी अधिकृत टिम रिडले नेपालका बिभिन्न क्षेत्रमा १.५ बिलियन पाउण्ड (दुई खर्ब ४२ अर्ब रपैयाँ) सम्म लगानी गर्न यूके एक्सपोर्ट फाइनान्स तयार रहेको बताएका थिए ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर