ओमानले नेपाललाई दियो १४६ रनको लक्ष्य – Nepal Press

ओमानले नेपाललाई दियो १४६ रनको लक्ष्य

काठमाडौं । टी–२० विश्वकप क्वालिफायरको समूह चरणको अन्तिम खेलमा नेपाललाई ओमानले जितका लागि १४६ रनको लक्ष्य दिएको छ ।

नेपालका बलरहरूले उत्कृष्ट बलिङ गर्दै ओमानलाई सामान्य योगफलमा रोकेका हुन् । करण केसीले सर्वाधिक तीन विकेट लिए ।

तर, उनी महँगा बने । अन्तिम ओभरमा करणले १७ रन खर्चिएपछि ओमानको स्कोर उकासिएको थियो । उनले ४ ओभरमा ४३ रन खर्चिएका थिए ।

अन्य बलरहरूले किफायती बलिङ गरे । नेपालका कप्तान रोहित पौडेलले आज ५ जना फ्रन्टलाइन बलरहरूलाई मात्र प्रयोग गरेका थिए । उनीहरू सबैले कम्तीमा एक विकेट लिन सफल भए । सोमपाल कामी र सन्दीप लामिछानेले २–२ विकेट लिए भने गुल्शन झा र अविनाश बोहराको खातामा एक–एक विकेट रह्यो ।

सोमपालले १६, गुल्शनले ३५ सन्दीपले ३० र अविनाशले कसिलो बलिङ गर्दै १८ रन मात्रै खर्चिएका थिए ।

टस हारेर पहिले ब्याटिङ गरेको ओमानले ८ रनमा पहिलो विकेट गुमाएको थियो । पहिलो ओभरको पाचौँ ओभरमा कश्यप प्रजापतिलाई करण केसीले आउट गरेपछि ओमानले लगातार विकेट गुमाइरह्यो । २१ रनको स्थितिमा अकिव इलियिासलाई सोमपाल कामीले बोल्ड गरे । टिकेर खेल्ने प्रयास गरिरहेका प्रतिक अथाभलेलाई २४ रनमा आउट गरे भने लगत्तै सोमपालले सोयब खानलाई बोल्ड गरेपछि ओमान संकटमा परेको थियो ।

३७ रनमा ४ विकेट गुमाएको ओमानलाई आयन खान र कप्तान जिसन मक्सुदले सम्हाल्ने प्रयास गरे । उनीहरुबीच ४९ रनको साझेदारी भयो । तर, सन्दीपले आयान खानलाई १८ रनमा बोल्ड गरे भने लगातार बलमा मेहरान खानलाई पनि आउट गरेपछि ओमान फेरि ब्याक फुटमा आयो । सन्दीप ह्याट्रिक विकेटबाट भने चुके ।

१४.४ ओभरमा ७ विकेट गुमाउँदा ओमानले खातामा १०० रन मात्र जोडेको थियो । आठौँ विकेटका रूपमा नसिम खुशीलाई करणले आउट गरे । तर, पछिल्ला दुई विकेटले ओमानलाई २७ रन जोड्दै ओमानलाई सम्मानजनक स्कोरमा पुर्‍याएका हुन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *