अर्नाको अति उत्साहले क्रिकेटमा निम्त्याएको जोखिम – Nepal Press

अर्नाको अति उत्साहले क्रिकेटमा निम्त्याएको जोखिम

क्रिकेटलाई लंगुरबुर्जा नबनाउ, खेल र खेलाडीको संस्थागत विकासमा लगानी गर

काठमाडौं । टी-२० विश्वकप क्वालिफायरको सेमिफाइनलमा स्थान बनाइसकेको नेपाल समूह विजेता बन्न भने असफल भयो । ओमानसँगको प्रतिस्पर्धामा नेपालले हार व्यहोरेपछि भोलिको निर्णायक सेमिफाइनलअघि समर्थकहरु अलिकति नर्भस बनेका छन् ।

ओमानसँग नेपालले राम्रो बलिङ गरे पनि ब्याटिङमा चुकेको थियो । त्रिवि मैदानमा १४६ रनको लक्ष्य ठूलो होइन । तर, ब्याट्सम्यानहरु एकपछि अर्को ‘गैरजिम्मेवार सट’ खेल्दै आउट भए । अधिकांश ब्याट्सम्यान ठूलो सट हान्ने चक्करमा आउट हुन पुगेका थिए ।

हुन त टी-२० भनेको आक्रामक क्रिकेट हो । तर, यसमा पनि परिस्थितिअनुसार आफूलाई ढाल्न सक्नुपर्छ । आवश्यकताअनुसार कहिलेकाहीं सम्हालिएर खेल्नुपर्छ । सिंगल डबल गर्दै इनिङ बुन्नुपर्छ । आज नेपालका ब्याट्सम्यानले त्यो सुझबुझ देखाउन सकेनन् । अन्यथा आज एउटामात्रै राम्रो पार्टनरसीप नेपालका लागि पर्याप्त हुने थियो ।

यसमा खेलाडीलाई मात्र दोष दिन नमिल्ला । टीम रणनीति नै आक्रामक खेल्ने पनि हुनसक्छ । प्रशिक्षकले निर्देशन दिएर पठाएका पनि हुन सक्छन् कि आफ्नो शैलीमा खेल । जे भए पनि नेपाल सेमिफाइनलमा पुगिसकेको हुँदा यो हारले त्यति धेरै मर्माहत गर्ने छैन । तर, भोलिको सेमिफाइनल अति महत्वपूर्ण छ । त्यसमा चाहिँ नेपाली टीमलाई कुनै गल्ती गर्ने छुट छैन । अन्यथा संघारमा आइसकेको विश्वकपको सपना चकनाचुर हुनेछ ।

खैर ! यहाँ चर्चा गर्न खोजिएको विषय चाहिँ अलि फरक छ । यो प्रतियोगिताअघि एउटा निजी कम्पनीले खेलाडीलाई प्रोत्साहन गर्न नगद पुरस्कारको आकर्षक स्किम घोषणा गरेको थियो । प्रत्येक सिंगल रनमा एक हजार, छक्कामा २० हजार, चौकामा १० हजार, विकेटमा २५ हजार इत्यादि । बियर कम्पनी अर्नाले घोषणा गरेको यो स्किमले तहल्का नै मच्चायो । क्रिकेट समर्थकहरुले अर्नाको हाइहाइ गरिरहेका छन् । कतिले अब अर्ना बियरमात्रै पिउने घोषणा पनि गरे । अर्ना हौसिएको छ । यसको सिको गर्दै थप केही कम्पनीले खेलाडीलाई नगद पुरस्कार घोषणा गरेका छन् ।

नेपाली क्रिकेट खेलाडीका लागि यसरी निजी कम्पनीहरुले गर्न खोजेको प्रोत्साहन सराहनीय हो । तर, के महत्वपूर्ण प्रतियोगिताअघि यसरी नगद पुरस्कारको पूर्वघोषणा गर्नु उचित हो ? यसले मैदानमा खेलाडीको मानसिकतालाई प्रभावित त गर्दैन ? टीमभित्रको माहोल बिग्रिने त होइन ? विमर्श भएको छ ।

पछिल्ला वर्षहरुमा नेपाली क्रिकेट टीमले निकै उचाइ लिइरहेको छ । हालैमात्र नेपालले एसिया कपमा भारत-पाकिस्तान जस्ता बलिया राष्ट्रहरुसँग खेल्यो । एक दिवसीय मान्यता सुरक्षित गर्‍यो । एक दिवसीय विश्वकप क्वालिफायर खेल्यो । अन्तर्राष्ट्रिय मिडियाहरुले नेपालको चर्चा र प्रशंसा गर्न थालेका छन् । क्रिकेटरहरु घरघरमा चिनिन थालेका छन् ।

यो सफलताको श्रेय कसैलाई जान्छ भने त्यो खेलाडीलाई नै जान्छ । केही मात्रामा प्रशिक्षकहरुलाई । उनीहरुकै प्रतिभा र मेहनतले नेपाल यहाँसम्म आइपुगेको हो । अन्यथा क्रिकेटको विकासमा सरकारको पहल र प्रयास लगभग शून्य छ । कुनै प्रतियोगिता जित्दा नगद पुरस्कार बाँड्नेबाहेक खेलाडीलाई पनि प्रोत्साहन छैन । खेलाडीले क्रिकेटमा भविष्य सुरक्षित छ भनेर ढुक्क हुने वातावरण अझै बन्न सकेको छैन ।

नगद पुरस्कारले क्षणिक हौसला मिल्छ । तर, त्यो दिगो हुँदैन । यो भनेको आकाशे खेती जस्तै हो । हरेक प्रतियोगितापिच्छे खेलाडीलाई लाखौं बाँड्दा राज्यको ढुकुटीले पनि धान्न सक्दैन । क्रिकेट र खेलाडीहरुको उत्थानका लागि सरकार र निजी क्षेत्रले हातेमालो गरेर दीर्घकालीन योजनासहित अगाडि बढ्नुपर्ने हो । तर, त्यो भइरहेको छैन ।

नेपाली क्रिकेटमा सबैभन्दा बढी खट्किरहेको पहिलाे कुरा हो भौतिक संरचना । नेपालले एक दिवसीय राष्ट्रको मान्यता प्राप्त गरेको यतिका वर्ष भइसक्यो । तर, देशमा एउटा पनि सुविधायुक्त क्रिकेट रंगशाला छैन । नेपालको खेल भनेपछि दर्शकको भेल उर्लिन्छ । तर, टिकट काटेर चिसो भुईंमा बस्न बाध्य छन् । टिकट नपाएकाहरु रुख चढ्नुपर्ने अवस्था छ ।

दोस्रो हो, घरेलु प्रतियोगिताको अभाव । नयाँ प्रतिभाहरु उत्पादन गर्न ग्रासरुटदेखि संरचनागत रुपमा क्रिकेट प्रतियोगिता हुनुपर्छ । क्षेत्रीय-राष्ट्रियस्तरका प्रतियोगिता पनि नियमित गरिनुपर्छ । अन्यथा राष्ट्रिय टीममा नरहेका खेलाडीहरुले खेल्ने अवसर नै पाउँदैनन् । यसले गर्दा नेपालको बेञ्च स्ट्रेन्थ बलियो हुन सकेको छैन । नयाँ प्रतिभाहरुले हुर्कने मौका पाएका छैनन् ।

जो राष्ट्रिय टीममा पर्छन्, उनीहरुलाई क्यानले सेन्ट्रल कन्ट्राक्टमा राखेर तलब दिन्छ । बेलाबखत नगद पुरस्कार पाउँछन् । तर, जो सेन्ट्रल कन्ट्राक्टमा छैनन्, उनीहरुले कतैबाट केही पनि पाउँदैनन् । अनि क्रिकेटबाट पलायन हुन बाध्य बन्छन् । अहिलेको प्रणालीले मुस्किलले दुई दर्जन खेलाडीमात्रै आर्थिक रुपमा लाभान्वित छन् ।

तेस्रो हो, अन्तर्राष्ट्रिय प्रतिस्पर्धा । नेपालले लामो समयदेखि यूएई, हङकङ र ओमान जस्ता टीमहरुसँग खेल्दै आएको छ । तर, अब योभन्दा माथि उठ्ने बेला हो । सधैं यूएई-हङकङसँगको जीतमा रमाएर हुँदैन । क्रिकेट संघले कम्तिमा नेदरल्यान्ड, आयरल्यान्ड, अफगानिस्तान, जिम्बाबे, वेस्ट इन्डिजसँग द्विपक्षीय सिरिजहरु आयोजना गर्न सक्नुपर्छ । यतिबेला यी देशहरु नेपालसँग सिरिज खेल्न तयार हुन पनि सक्छन् । तर, नेपालमा एउटा गतिलो रंगशाला चाहियो ।

माथिका यी तीन कुराका लागि सबैभन्दा पहिलो शर्त हो- क्रिकेट संघ आर्थिक रुपमा बलियो हुनुपर्‍यो । सरकार र आईसीसीले दिएको सीमित बजेटले मात्रै यो सम्भव हुँदैन । निजी क्षेत्रले हातेमाले गर्नैपर्छ । आज अर्ना र डिस होमले जुन उत्साह देखाइरहेका छन्, त्यसलाई संस्थागत गर्नु र निजी क्षेत्रलाई थप आकर्षित गर्नु क्यानको जिम्मेवारी हो ।

यतिबेला क्रिकेटमा निजी क्षेत्रको अभूतपूर्व आकर्षण बढेको छ । उनीहरु खेलाडीका लागि खुलेर पैसा खर्च गरिरहेका छन् । नगद पुरस्कारको होडबाजी भइरहेको छ । तर, यस्तो होडबाजीले क्रिकेटको संस्थागत विकास हुन सक्दैन । बरु जोखिम बढाउँछ ।

कस्तो जोखिम ?

अर्नाले खेलाडीलाई प्रत्येक रनका लागि एक हजार, अनि छक्का र चौकाका लागि क्रमशः १० हजार र २० हजारको पुरस्कार घोषणा गरेको छ । यस्तै प्रत्येक डट बलका लागि एक हजार, विकेटका लागि २५ हजार दिने भनेको छ ।

वास्तवमा यो सानो राशी होइन । तर, जोखिम चाहिँ के हो भने यो पूर्वघोषणाले खेलाडीहरुले गर्ने प्रदर्शन र उनीहरुको मानसिकता प्रभावित बन्न सक्छ । अर्काेतर्फ खेलाडीलाई अनावश्यक आराेप पनि लाग्न सक्छ ।

मैदानमा बलिङ, ब्याटिङ वा फिल्डिङ गरिरहँदा खेलाडीको देब्रे दिमाग घोषित रकममा जान सक्छ कि सक्दैन ? ब्याट्सम्यानले एउटा छक्कालाई २० हजार रुपैयाँ सोच्न थाल्यो भने के होला ? परिस्थितिअनुसार सम्हालिएर खेल्नेभन्दा छक्का-चौका हान्ने सुरमा अनावश्यक जोखिम उठायो भने ? एउटा क्याचलाई २५ हजार सोचेर बल समात्न फिल्डरहरुबीच नै हानाथाप भयो भने ? बढी रकम जित्ने खेलाडी र कम रकम जित्ने वा जित्दै नजित्ने खेलाडीहरुबीच फाटाे भयो भने ? यी सबैको जिम्मेवारी कसले लिने ?

क्रिकेट एउटा टीम गेम हो । कहिले एउटा खेलाडी चल्छ, कहिले अर्को । भाग्यले पनि साथ दिनुपर्छ । ब्याट्सम्यानको कहिलेकाहीं खराब सटमा पनि चौका लाग्छ । कहिले राम्रो सटमा आउट पनि हुन पुग्छ । बलरको पनि त्यस्तै हो । कहिले राम्रो बलमा पनि छक्का खान सक्छ । कहिले खराब बलले पनि विकेट लिन सक्छ ।

टीममा सबैले ब्याटिङ र बलिङका लागि समान अवसर नपाउन सक्छ । जस्तो कि अघिल्लो क्रममा ब्याटिङ गर्नेहरुले बढी बल फेस गर्न पाउँछन् । बढी रन हान्ने अवसर पनि उनीहरुलाई हुन्छ । पछिल्लो क्रममा रहनेहरुको कहिलेकाहीं पालो नै आउँदैन । बलिङमा पनि यस्तै हो । कुनै बलरले मानौं अन्तिमका महत्वहीन ३ विकेट लियो । तर, ५० रन खर्चियो । अर्को बलरले विकेट लिन सकेन । तर, क्रिटिकल ४ ओभरमा १५ रनमात्रै खर्चियो । प्रभावकारी त दोस्रो बलर हो । रकम वर्षिन्छ पहिलो बलरको खातामा ।

सबै खेलाडीले आफूलाई ‘प्रुफ’ गरेर नै राष्ट्रिय टीममा परेका हुन्छन् । तर, सधैं क्षमताअनुसार नै प्रदर्शन हुन्छ भन्ने छैन । कहिलेकाहीं भेट्रान खेलाडी पनि एउटा सिंगो सिरिजमा चलेका हुँदैनन् । एउटा नचल्दा अर्को चल्नुपर्छ । त्यसैले हार-जीतको जस-अपजस सिंगो टीमले नै लिनुपर्छ । खेलाडीले जीतका लागि भन्दा पुरस्कारका लागि खेल्ने स्थिति बन्न दिनु हुँदैन । याे तरिका पैसाका लागि खेलिने फ्रेन्चाइज क्रिकेटमा मात्रै सुहाउँछ

पुरस्कारको पूर्वघोषणाले कप्तानलाई पनि दबाब पर्न सक्छ । जस्तो कि कप्तान रोहित पौडेलले अघिल्लो म्याचमा आफैंले दुई ओभर बलिङ गरे । अब उनले पुरस्कारको लोभमा आफैंलाई बलिङमा उतारे भनेर कमेन्ट गर्नेहरुको मुख कसले थुन्ने ? कहिलेकाहीं कप्तानले परिस्थितिअनुसार ब्याटिङ अर्डरमा तलमाथि गर्नुपर्छ । माथिल्लो क्रमको ब्याट्सम्यानलाई तल्लो क्रममा झारियो भने ऊ असन्तुष्ट हुन सक्ने डर क्याप्टेनलाई हुने भयो । कुनै बलरले आफूलाई थोरै ओभर दिएको वा कुनै अलराउन्डरले आफूलाई बलिङ गर्न नदिएको भनेर पनि कप्तानसँग असन्तुष्टि पोख्न सक्ने भए ।

ल मानाै खेलाडीले पुरस्कार नसाेचिकन आफ्नाे नेचुरल गेम नै खेले । तर कुनै ब्याट्सम्यान छक्का हान्ने प्रयासमा आउट भयाे भने उसलाई नचाहिँदाे आराेप लाग्न सक्छ । यसबाट खेलाडीलाई पनि अन्याय हुनेछ ।

अर्नाको पुरस्कार प्रणालीबाट एउटै टीमका कोही मालामाल हुनेछन् त कोही खाली हात । अहिलेसम्म प्लेइङ ११ मा नपरेका दीपेन्द्रसिंह ऐरी, ललित राजवंशी, प्रतिश जिसी, विनोद भण्डारीले आगामी म्याचमा पनि खेल्न पाएनन् भने खाली हात हुने भए । जबकि केही खेलाडीको खातामा लाखौं रकम चढिसकेको छ । यसले टीमभित्रको सौहार्दमा आँच आउन सक्छ ।

क्रिकेट लंगुरबुर्जा जस्तो भयो । अर्नाले चाँडै सच्याओस् । क्षणिक प्रचारप्रसारको मोहमा पर्नु हुँदैन । खेलाडीलाई नगद पुरस्कार दिँदा तत्कालीन रुपमा अर्नाको प्रचारप्रसार व्यापक भएको छ । तर, पुरस्कार वितरणमा गर्ने खर्च क्रिकेटको संस्थागत विकासमा लगानी गर्ने हो भने त्यसको वृहद फाइदा हुन्छ, क्रिकेटलाई मात्र होइन, स्वयम् कम्पनीलाई पनि । होइन भने नेपालले खेल जित्दा अर्नाको पनि हाइहाइ हुन्छ, हार्दा खेलाडीलाई पुरस्कार थाप्न पनि लाज हुन्छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *