माओले छ दशक अगाडि ‘हर्क साम्पाङ’ शैलीमा बनाएको बेइजिङको विशाल बाँध (फोटो फिचर)
बेइजिङ । श्रमदान संस्कृतिले बनेको चीनको राजधानी बेइजिङको उत्तरमा रहेको मिङ समाधी जलाशय एक देखिने उदाहरण हो । मिङ टम्ब रिजर्भायर अथवा सिसाङलिङ जलाशय भनेर चिनिने यो क्षेत्र पर्यटकीय कोणमा धेरै महत्वपूर्ण छ ।
चिनियाँ कम्युनिष्ट पार्टीको आठौँ पार्टी कंग्रेस सकाएर सन् १९५८ मे २८ मा पार्टी पदाधिकारीहरु यो क्षेत्रमा पुगेका थिए भने १९७२ मा चीन भ्रमणमा आएका अमेरिकी राष्ट्रपति रिचर्ड निक्सन पनि त्यहाँ पुगेको १९७२ फेबु्रअरी २४ को न्यू योर्क टाइम्सको समाचारमा उल्लेख गरिएको छ ।
बेइजिङको छाङपिङ जिल्लामा रहेको जलशय बनाउन श्रमदान संस्कृतिको योगदान छ । धरानमा हर्क साम्पाङले चलाएको श्रमदान संस्कृतिमै यसको निर्माण १९५८ मा भएको थियो । नेपाल प्रेससँग कुरा गरेकी पथप्रदर्शक हु एलिसका अनुसार यो जलाशय बन्न १६० दिन लागेको थियो जसमा ४० हजार बढि जनताको श्रम छ ।
माओ जेदुङ, तत्कालीन चिनियाँ प्रधानमन्त्री चाउ इन्लाईदेखि चिनियाँ कम्युनिस्ट पार्टीका उच्च अधिकारीहरुदेखि चिनियाँ सेलिब्रेटिहरुले सन १९५८ को जनवरी २१ देखि जुन ३० सम्म यो जलाशय बनाएका थिए । बाढीले पाँच गाँउ पीीडत भएपछि उनीहरुको सुरक्षित स्थानान्तरण गरेर बाँध बनाइएको बताइन् ।
चीनको मिङ वशंको समाधीस्थल क्षेत्र जहाँ १४ मिङ सम्राट, सम्राज्ञी र अरु श्रीमतिहरुको चिहान छन् । सोही क्षेत्र नजिकै यो जलाशय बनेको छ । सन २००८ को बेइजिङ ओलम्पिकमा जलाशयमा पौडी, साइक्लिङ र दौडको एकमुस्ट खेल ट्राइआथलोन खेलाइएको थियो ।
बेइजिङको मुख्य बजार क्षेत्रबाट चालिस किलोमिटर हाराहारीको दुरिमा रहेको यो जलशाय बेइजिङको समर प्यालेसमा रहेको खुन्मिङ जलाशय भन्दा २० गुण ठूलो भएको बेइजिङको पर्यटन पोर्टल भिजिट बेइजिङ डटकम डट सीएनले उल्लेख गरेको छ । सोही पर्यटन पोर्टलका अनुसार यो जलाशय ६२७ मिटर लम्बाई र २९ मिटर उचाईको छ भने बाँधको फेद १७९ मिटर चौडा र शिर ७.५ मिटर चौडाको रहेको छ ।
अग्रगामी छलाङ अर्थात् ‘ग्रेट लिप फर्वाड’को सयमा यो जलाशय बनेकोले विकास मात्रै होइन चीनको तत्कालीन राजनीतिक मुद्दामा पनि यसको व्यापक चर्चा भएको थियो । गत जुलाई २९ बाट अगस्ट १ सम्म चार दिन बेइजिङमा परेको १४० बर्ष यताकै सबैभन्दा ठूलो झरीको समयमा भने बाँधको केही भाग खोलिएको थियो ।
पर्यटकहरुको ज्यादै भिड, फोहोर आतंक र पिकनिक आदिले गर्दा सन २०१० मा बार्बिक्यू गर्न प्रतिबन्द लाइएको थियो ।