…अनि आम्दाका अध्यक्ष सुगानामीकी श्रीमतीलाई पत्र लेख्न सार्वजनिक प्रतिवद्धता जनाए प्रधानमन्त्री प्रचण्डले
रुपन्देही । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड बिहीबार आम्दा नेपाल बाल तथा महिला अस्पताल बुटवलको रजत महोत्सव समारोहमा प्रमुख अतिथि थिए । कार्यक्रममा जापानमा स्वास्थ्य सम्बन्धि एनजिओ चलाएर नेपालमा पनि त्यसको सेवा दिइरहेका डाक्टर सिगेरु सुगानामीले सम्बोधनका क्रममा प्रमुख अतिथि दाहाललाई अनुरोध गर्दै आफ्नो श्रीमतीलाई एक पत्र लेखिदिन आग्रह गरेपछि एकछिन सभामा सहभागी सबै अलमल परे ।
अंग्रेजीसमेत निकै कम बोल्ने सुगानामीले केही अंग्रेजी शब्द मिसाउँदै जापानी भाषामै सम्बोधन गरेका थिए । उनको मन्तव्यको दोभासेले नेपालीमा बताउँदै आएकी थिइन् । सम्बोधनकै क्रममा सुगानामीले आफ्नै श्रीमतीलाई सम्बोधन गरेर प्रचण्डलाई पत्र लेख्न गरेको आग्रह दोभासेलाई समेत आश्चर्य लाग्यो र उनले बोल्दाबोल्दै हाँसो खटाउन सकिनन् ।
दोभासेले पटक पटक हाँस्दै उनले भनेको विषय समारोहमा राख्दा प्रधानमन्त्री दाहालसहित सबै अतिथि पेट मिचिमिचि हाँसे र र आश्चर्यमा परे । तर सुगानामीले आग्रह गरेको त्यो पत्र यहाँको स्वास्थ्य क्षेत्रको विकासका लागि स्रोत जुटाउन सहजताका लागि भनेर खुलाएपछि पुनः हाँसोको फोहोरा छुट्यो ।
सुगानामीको धारणा दोभासेले सुनाउँदै भनिन्– ‘मेरो श्रीमती पनि डाक्टर हुन्, प्रधानमन्त्रीज्यूलाई मेरो आग्रह छ उनलाई सम्बोधन गरेर एक पत्र लेखिदिनुपर्यो, संस्थागत नभएपनि पत्र व्यक्तिगत भए हुन्छ ।, उनले त्यो पत्र देखेपछि मैले देखेको सपना पूरा हुन्छ र यहाँको मेडिकल कलेज बनाउन अर्को वर्ष हाम्रो बिहेको ५० वर्षको अवसरमा त्यो रकम जुटाउन सहज हुन्छ ।’
प्रधानमन्त्री दाहाललाई निकै फुर्काउँदै बुद्ध धर्ममान्ने सुगानामीले गएराती सपनामा बुद्धसँग भेट भएको र आफू नेपालका प्रधानमन्त्रीलाई भेट्न जान लागेको कहानी सुनाए । उनले स्वास्थ्य क्षेत्रका नमुना विकासका लागि आफ्नो दशकौं बितेको र यहाँका प्रधानमन्त्रीलाई भेटेर त्यो विषय राख्न सपनामै बुद्धसँग अनुरोध गर्न पाएको सोत बताए ।
सुगानामीले यो विषय सुनाएपछि प्रधानमनत्री दाहालसँग गएर हात मिलाए र अंगालो मारेर फोटा खिचाए । उनले यस्तो आग्रहले तत्काल यहाँ ३ सय शैयाको नर्सिङ कलेज संचालनका लागि स्रोत जुटाउन प्रधानमन्त्रीलाई हुन्छ मात्र भन्न आग्रह गर्दै त्यसको सल्लाहकार बस्न समेत आग्रह गरे ।
‘यो मेरो आग्रह हो, हुन्न भन्न पनि पाउनुहुन्छ तर हुन्छ भन्नुभयो भने म र मेरो टीममा भएका सबैलाई स्रोत जुटाउन सजिलो हुन्छ, हामी नाफा कमाउन होइन सेवा गर्न आएका हौं, संसारमा एनजिओले चलाएको मेडिकल कजेज अन्त भएजस्तो लाग्दैन, यसलाई सबै नेपालीको साथमा नमुना बनाउन खोजेका छौं, हामी सबै काम गरेर जोगाएको रकमले यहाँ सहयोग गर्न खोजेका हौं’ सुगानामीले भने–‘आम्दा मेरो जेठो सन्तान हो, हाम्रो बिहे भएको अर्को वर्ष ५० वर्ष पुग्दैछ, यसको विकासबाहेक मेरो खुसी केही छैन ।’
सुगानामीको यो प्रस्तावपछि प्रधानमन्त्री प्रचण्डले आफ्नो सम्बोधनका क्रममा उनका सबै प्रस्तावलाई स्वीकार गरे ।
उनले भने–संसारमा यस्ता महान व्यक्तिहरु पनि छन्, हामीलाई यति सजिलो प्रस्ताव हाम्रै लागि आउने अवस्था आयो, हामीले पाउने सहयोगका लागि उहाँको श्रीमतीलाई मैले सम्बोधन गरेर पत्र लेख्न कुनै समस्या छैन, त्यसमाथि अझै व्यक्तिगत, मैले उहाँका सबै प्रस्ताव मानेर यसको विकासका लागि पूर्ण प्रतिवद्धता जनाउछु, सरकारले अरु के गर्नुपर्यो सबै नीतिगत कुरा टुंगाउन प्रतिवद्ध छु ।’ प्रधानमन्त्री दाहालले आफ्नो पालामा स्वास्थ्य क्षेत्रमा उल्लेख्य सुधारका लागि महत्वपूर्ण काम थालको जनाए ।
कसरी थाले सुगानामीले आम्दा अभियान
विश्वव्यापीरूपमा मानवीय सहायताका कार्यहरू गर्नका लागि डा. सिगेरु सुगानामीद्वारा सन् १९८४ मा जापानको ओकायामामा एसोसिएशन अफ मेडिकल डाक्टर्स अफ एसिया आम्दाको स्थापना भएको हो । त्यसपछि आम्दाले आफ्नो कार्यक्षमता र कार्य क्षेत्रलाई विस्तार गर्दै आपतकालीन राहतका साथसाथै एकीकृत समुदायिक विकासका कार्यमा सक्रिय भई विश्वका विभिन्न ३४ वटा देशहरूमा कार्य गर्दै आएको छ ।
सन् १९८९ मा काठमाडौंमा दर्ता भई नेपालमा कार्य प्रारम्भ गरेको आम्दा नेपाल एक गैरसरकारी एवं गैर–नाफामूलक संस्था हो । आम्दा नेपालले अस्पताल एवं विभिन्न परियोजनाहरू मार्फत नेपाली जनतालाई स्वास्थ्य सेवा प्रदान गर्दै नेपालको स्वास्थ्य सूचकमा सुधारका लागि योगदान पुयाउँदै आएको छ ।
जापानको प्रसिद्ध दैनिक पत्रिका ‘द माइनिची’ ले एक अभियान’ अन्तर्गत ‘म भोलि बाँच्न चाहन्छु हिमालको फेंदीबाट’ भन्ने लेख श्रृंखलालाई सप्ताहव्यापी रूपमा जोड दिइएको थियो । यही लेख श्रृंखलाले सन १९९५ मा जापानको कोबेमा ६,००० भन्दा बढीको ज्यान लिनेगरी गएको विनाशकारी भूकम्पमा नेपाललगायत एशियाली गरिब राष्ट्र र विश्वले जापानलाई गरेको सहयोगबारे जापानी जनतालाई जानकारी गरायो ।
भूकम्पको समयमा एशियाली जनताद्वारा पुयाइएको सहयोगप्रति कृतज्ञता दर्शाउँदै धन्यवाद स्वरूप जापानी दाताहरूले भरपूर सहयोग गरे र यही सहयोगको फलस्वरूप गौतम बुद्धको जन्मस्थल लुम्बिनीको काखमा रहेको रमणीय बुटवल शहरमा सिद्धार्थ बाल तथा महिला अस्पतालको स्थापना भएको हो ।
विसं २०५५ कार्तिक १६ ९सन् १९९८ नोभेम्वर २० मा आम्दा नेपाल, बुटवल उपमहानगरपालिका तथा बुटवल उद्योग वाणिज्य संघ, रूपन्देही बीच त्रि–पक्षीय समझदारी भई ५० शैयाबाट शुरुवात भएको सिद्धार्थ बाल तथा महिला अस्पताल हाल १०० शैयाको क्षमतामा सञ्चालनमा रहेको छ । बिहीबारबाट ३ सय शैया संचालनका लागि शुरुवात भएको छ ।
बालबालिका तथा महिलाहरूलाई एकै स्थानबाट सेवा प्रदान गर्ने यो काठमाडौ बाहिरको पहिलो अस्पताल हो । काठमाडौ बाहिर रहेर पनि यस अस्पतालले स्थापनाकालदेखि नै खास गरेर बाल तथा महिलाको स्वास्थ्य क्षेत्रमा स्तरीय सेवा पुर्याउँदै छोटो समयमै धेरै बाल तथा महिला बिरामीहरूलाई उपचार सेवा दिएको छ ।
यो अस्पतालले नेपाल सरकार स्वास्थ्य सेवा विभागबाट मिति २०५५।०६।२१ गते च्यारिटी अस्पतालको रूपमा मान्यता प्राप्त गरी सञ्चालन भइआएको छ । अस्पतालबाट रूपन्देही जिल्ला लगायत १६ वटा जिल्ला र भारतका सीमावर्ती क्षेत्रका जनताले प्रत्यक्ष लाभ लिइरहेका छन् । गत आ।व। २०७९/८० मा ७०,४८६ र पछिल्लो दशक आव। २०७०/७१ देखि आ।व। २०७९/८०० मा ६२१,९४२ जना बिरामीले यस अस्पतालबाट सेवा प्राप्त गरेका छन् ।
अस्पतालबाट आकस्मिक सेवा अन्तर्गत २४सैं घण्टा बाल रोग र स्त्री तथा प्रसुति आकस्मिक सेवा प्रदान भइरहेको छ भने बहिरङ्ग सेवा र अन्तरङ्ग सेवा अन्तर्गत बालरोग अन्तरङ्ग, बाल शल्यचिकित्सा, स्त्री तथा प्रसुति, मेडिकल, स्त्री तथा प्रसुति शल्य चिकित्सा, नवजात शिशु सघन उपचार कक्ष र आई.सि.यु. सेवा उपलब्ध छन भने प्रयोगशाला सेवा, अल्ट्रासाउण्ड सेवा, ई.सी.जी।सेवा, एक्स–रे सेवा र इकोकार्डियोग्राफी सेवा समेत उपलब्ध छन् ।
यसबाहेक विशेष ओ.पि.डी. सेवामार्फत बाल मधुमेह, बाल मुटुरोग, उच्च जोखिम नवजात शिशु सेवा र हाडजोर्नी उपचार सेवा उपलब्ध छन । यसका साथै खोप सेवा, परिवार नियोजन सेवा, सुरक्षित गर्भपतन सेवा, स्वास्थ्य सचेतना तथा परापर्श सेवाका साथै २४सैं घण्टा फार्मेसी सेवा र एम्बुलेन्स सेवा उपलब्ध छन् ।
नेपालले सन् १९९६ मा प्रतिएक लाख जन्ममा ५३९ मातृ मृत्युदर भएकोमा सन् २०१६ मा प्रति एक लाख जन्ममा २३९ मा घटाएको थियो, जसका लागि नेपालले सहस्राब्दी विकास लक्ष्य पुरस्कार पनि पाएको थियो । त्यसैगरी सन १९९६ देखि २०१६ सम्म पाँच वर्षमुनिको मृत्युदर ६७ प्रतिशतले घटेको हुनाले बालमृत्युदर घटाउने विश्वका सात देशहरूमध्ये नेपाल पनि एक हो ।
स्वास्थ्य सूचकहरूमा नेपालले गरेका यी प्रगतिहरूमा सिद्धार्थ बाल तथा महिला अस्पतालको पनि महत्ववपूर्ण भूमिका रहेको यसमा आवद्ध स्वास्थ्यकर्मीहरु बताउँछन् । अहिले बालबालिकाको उपचारका लागि लुम्बिनी क्षेत्रकै सबैभन्दा ठूलो अस्पतालको रूपमा स्थापित भई २४ सैं घण्टा बालरोग विशेषज्ञद्वारा सेवा पुयाउँदै आएको मेसु डा राजेन्द्र बस्याल बताउँछन् ।
अस्पतालको विकासमा जापानी दाता लगायत नेपाली हातहरूको सहयोग हुँदै आएको छ । मुख्य अस्पताल र प्रशासनिक भवन आम्दा इन्टरनेशनलको सहयोगमा निर्माण भएको हो भने बच्चा भवन (पेडियाट्रिक ब्लक) जापानी सहृदयी स्वर्गीय डाक्टर अकिरा सिनोहाराको ममतामयी आमाबाट सहयोग स्वरूप निर्माण गरिएको हो ।
त्यसैगरी, आम्दा स्वास्थ्य विज्ञान प्रतिष्ठान रहेको भवन बुटवल उपमहानगरपालिका तथा तत्कालीन जि।वि।स।को सहयोगमा र मेटरनिटी ब्लक जापानी राजदुतावासको सहयोगमा निर्माण भएको हो । यसैगरी, बुटवल उप–महानगरपालिका, बुटवल उद्योग वाणिज्य संघ, रोटरी क्लब, लायन्स लगायत संघ संस्थाको सहयोग प्राप्त हुँदै आएको छ ।
अस्पतालबाट नियमित सेवा प्रवाह गर्नुका साथै सिद्धार्थ बाल तथा महिला अस्पतालले देशमा आइपरेका प्राकृतिक विपत्ति, महामारी आदिजस्ता आपतकालीन अवस्थामा मानवीय सेवामा अग्रणी भूमिका खेल्नुका साथै स्वास्थ्य शिविरहरू मार्फत दूर्गम क्षेत्रका जनतालाई स्वास्थ्य सेवा प्रदान गर्ने र स्वास्थ्य सम्बन्धी सचेतना प्रवाह गर्दै आएको छ ।
बालबालिका तथा महिलालाई विशिष्टीकृत स्वास्थ्य सेवा प्रदान गर्नुका अतिरिक्त सिद्धार्थ बाल तथा महिला अस्पताल राष्ट्रिय स्वास्थ्य तालिम केन्द्रद्वारा मान्यता प्राप्त स्वास्थ्य तालिम केन्द्रका रूपमा समेत सेवारत छ ।
लामो समयदेखि स्वास्थ्य सेवा प्रदान गर्दै आएको यस अस्पतालसँग गुणस्तरीय शिक्षा प्रदान गर्ने पूर्वाधार र कार्यक्षमता रहेकाले अस्पतालले आम्दा स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गत यसै यसै शैक्षिक सत्रदेखि प्रमाणपत्र तह नर्सिंङ, सामान्य चिकित्सा (एचए) र डिप्लोमा इन फार्मेसी गरी तीन वटा विषयको शैक्षिक कार्यक्रम सञ्चालन गरेको छ ।
त्यस्तै सामाजिक सुरक्षा कोषका सदस्यहरूलाई कोषको नियमानुसार स्वास्थ्य सेवा प्रदान गर्दै आएको छ । वर्तमानमा १०० शैयाको क्षमतामा सञ्चालित यस अस्पतालले बिरामीहरू चाप र आवश्यकतालाई मध्यनजर गर्दै यसलाई ३०० शैयाको अस्पतालमा स्तरोन्नति गर्नका लागि प्रक्रिया बिहीबारबाट थालनी भएको छ । त्यसैगरी राज्यको योजना बमोजिम रोकिएको आमा सुरक्षा कार्यक्रम लागू गर्ने जनाएको छ ।