ठेकेदारहरू पुन: आन्दोलनको तयारीमा- सरकारले दसैँअघि नै दिने भनेको ६ अर्ब भुक्तानी नगरेको भनाइ (भिडिओ)
पैसा तिर्न नसकेका निर्माण व्यवसायीलाई चेक बाउन्समा नपक्रन माग
काठमाडौं । सरकारले दसैँअघि नै ६ अर्ब रूपैयाँ भुक्तानी गर्ने भनेपनि अहिलेसम्म भुक्तानी नगरेको निर्माण व्यवसायीहरूले बताएका छन् ।
सरकारले निर्माण व्यवसायीहरूसँग १५-१५ दिनमा व्यवसायीहरुले पाउनुपर्ने रकम भुक्तानी गर्ने सम्झौता भएपनि कार्यान्वयन नगरेको उनीहरूको भनाइ छ । दसैँअघि नै ६ अर्ब रूपैयाँ भुक्तानी गर्ने भनेर प्रचार गरेपनि कार्यान्वयन नगरेको नेपाल निर्माण व्यवसायी महासंघका महासचिव रोशन दाहालले बताए ।
उनले सरकारले बोलपत्र आह्वान गरेर व्यवसायीहरूले निर्माण सम्पन्न गरेका आयोजनाहरूको भुक्तानी पाउन पनि सडक आन्दोलन गर्नुपर्ने बिडम्बना रहेको गुनासो गरे । सरकारले निर्माण व्यवसायीहरुसँग गरेको सम्झौता कार्यान्वयन नगर्दा व्यवसायीहरू आर्थिक अभावमा समस्यामा परेको दाहालको भनाइ छ ।
सरकारले व्यवसायीहरुको भुक्तानी गर्न नसक्ने अवस्था भए स्पष्ट रुपमा व्यवसायीहरुलाई भन्नुपर्ने उनले बताए । निर्माण व्यवसायीहरूले बैंक ग्यारेन्टी राखेर निर्माण समग्री किन्दा बैंक ग्यारेन्टी जफत हुन थालेको भन्दै उनले सरकारले भुक्तानी नदिएको बैंकको चेक रकम नहुँदा सरकारले नै व्यवसायीहरुलाई जेल हाल्ने सम्मका काम गरेको भन्दै यस्तो कार्य रोक्न माग गरे ।
भुक्तानी दिन नसके पनि बैंक ग्यारेन्टी जफत र चेक बाउन्समा व्यवसायीहरुलाई पक्राउ गर्ने काम रोक्न महासचिव दाहालले माग गरे । निर्माण व्यवसायीहरुले निर्माण सामाग्री खरिद गर्न दिएका चेकहरु रोक्नको लागि राष्ट्र बैंकसँग समन्वय गर्न सरकारसँग व्यवसायीको माग छ । निर्माण सकिएका सम्पन्न गरेका आयोजनाहरूको भुक्तानी गर्न नसकेको निर्माण व्यवसायीहरू पुनः सडक आन्दोलनमा आउनुपर्ने वातावरण नबनाउन उनले चेतावनी दिए ।
सरकारले निर्माण व्यवसायीलाई ५० अर्ब रूपैयाँ बराबरको भुक्तानी गर्ने भनेपनि अहिलेसम्म त्यो हुन सकेको छैन । दसैँअघि व्यवसायीको ६ अर्ब रूपैयाँ भुक्तानी दिने अर्थ मन्त्रालयले निर्णय गरे पनि कार्यान्वयन गर्न सकेको छैन ।
नोटः यो समाचार हामीले बाइट लिएर बनाएका हौँ । आफ्नो अनुकुलतामा प्रयोग गर्न सक्नुहुनेछ ।