मुगुका तीन छोराछोरीसहित आमाको हत्यारा पत्ता लगाउन सीआईबी गुहार
सुर्खेत । मुगुको छाँयानाथ रारा नगरपालिका-६ मन्दु गाउँको एकैघरका आमा र तीन सन्तान हत्या भएको १० दिन बित्यो घटनाबारेमा केही पत्ता लागेको छैन ।
कात्तिक ८ मा साँझ ३ जना बच्चा र आमाको हत्या भएको प्रहरीले जानकारी दिएको थियो । घटनाबारे कात्तिक १० गते छिमेकीले प्रहरीले जानकारी खबर गरेका थिए । जिल्ला प्रहरी कार्यालय मुगुले अनुसन्धान गरिरहेको थियो ।
यस्तै, कर्णाली प्रदेश प्रहरी कार्यालयले सुर्खेत र जुम्लाबाट छुट्टाछुट्टै टोली खटाएको थियो भने कुकुरसमेत अनुसन्धानमा परिचालन गरिएको थियो ।
कर्णाली प्रदेश प्रहरी कार्यालयले शुक्रबार केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) लाई घटनाको अनुसन्धानका लागि पत्राचार गरेको कर्णाली प्रदेश प्रहरी कार्यालय प्रवक्ता सूचना अधिकारी गोपालचन्द्र भट्टराईले नेपाल प्रेसलाई जानकारी दिए ।
उनले भने,` हामीले आज पत्राचार गरेका छौं । केन्द्रीय अनुसन्धान ब्युरोको टोली घटनास्थलमा पठाउने तयारी गरेको छ । हामी घटना बारेमा थप अनुसन्धान अगाडि बढ्नेछ ।’
अहिलेसम्म घटनाको अनुसन्धानमा प्रदेश प्रमुख प्रहरी नायव महानिरीक्षक भीमप्रसाद ढकाल, जगन्य हत्या अनुसन्धान टोली, सादा पोसाकको टोली अनुसन्धानमा लागि परेका छन् ।
छाँयानाथ रारा नगरपालिका-६ मन्दु गाउँकी २८ वर्षीय श्रीदेवी बोहरा, उनका छोरा ११ वर्षीय मनोज, ८ महिनाका छोरा रहर र ८ वर्षीय छोरी अप्सरा बोहरालाई धारिलो हतियार प्रहार गरेर हत्या भएको थियो ।
हत्यापछि हत्याराले श्रीदेवीको मोबाइल साथमा लिएर गएको भट्टराईले जानकारी दिए ।