मिटरब्याजी सियाराम यादव पक्राउ
जनकपुरधाम । मिटरब्याजको अवैध धन्दा चलाएका सियाराम यादवलाई महोत्तरी प्रहरीले पक्राउ गरेको छ ।
लोहरपट्टी नगरपालिका- ३ महदैयाका यादवलाई इलाका प्रहरी कार्यालय लोहरपट्टीको टोलीले घरबाटै पक्राउ गरेको हो । उनलाई आवश्यक कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय लगिएको छ ।
अनुचित लेनदेन मुद्दामा यादवलाई पक्राउ गरिएको महोत्तरीका प्रहरी प्रवक्ता डीएसपी दिलिपकुमार गिरीले पुष्टि गरे ।
स्रोतका अनुसार यादव करिब २७ वर्षका छन् । बुवा निर्धन यादवले चलाएको मिटरब्याजको अवैध धन्दा अहिले सियारामले सम्हालेका हुन् । उनीविरुद्ध प्रहरीमा दर्जनौं उजुरी परेको बुझिएको छ ।
स्थानीय रामएकवाल यादव र मुन्दर देवीले पनि उनीविरुद्ध ठगीसम्बन्धी उजुरी दिएका छन् ।
जिल्ला प्रशासन कार्यालयले पटक पटक छलफलका लागि बोलाउँदा पनि नआएपछि यादवलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।