रिगल बाँके कारागार चलान
रुपन्देही । सर्वोच्च अदालतको आदेशबाट आममाफी बदर भएर बिहीबार पक्राउ परेका रिगल भनिने योगराज ढकाललाई बाँके कारागार पठाइएको छ। रिगल संविधान दिवसको अवसरमा सरकारको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलबाट कैदमाफी पाएर दाङ कारागारबाट छुटेका थिए ।
बाँकेका प्रमुख जिल्ला अधिकारी श्रवण पोखरेलले उनलाई अदालत पेश गरिएको र अदालतबाटै नेपालगञ्ज कारागारमा ल्याइसकेको नेपाल प्रेसलाई बताए । बिहीबार पक्राउ परेका उनलाई शुक्रबार बाँके जिल्ला अदालतले कारागार पठाएको हो ।
संविधान दिवसको अवसरमा सरकारको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले दिएको सजाय छुट सर्वोच्चले बिहीबार बदर गरेको थियो । रिगलले बाँकेको नेपालगञ्जका चेतन मानन्धनरको हत्या गरेका थिए । हत्या आरोप पुष्टि भएर सजाय काटिरहेका रिगललाई बाँकी कैद माफी दिइएपछि चेतनकी तत्कालीन पत्नी भारतीले सर्वोच्चमा रिट दायर गरेकी थिइन् । उनले पटक पटक अनसन बसेर न्याय मागेकी थिइन् ।
न्यायाधीशहरू ईश्वरप्रसाद खतिवडा, सपना प्रधान मल्ल र कुमार चुडालको इजलासले सजाय छुट बदर गर्दै तत्काल पक्राउ गरेर थुनामा राख्न आदेश दिएको थियो ।
रिगलमाथि २०७२ साल असार २८ गते नेपालगञ्जको धम्बोजी चोकमा दिउँसो ३ बजेतिर चेतन मानन्धरमाथि खुँडा प्रहार गरी हत्या गरेको अभियोग थियो ।
हत्या अभियोगमा उनलाई जिल्ला अदालत बाँकेका तत्कालीन न्यायाधीश विष्णु सुवेदीको इजलासले २०७६ साल वैशाखमा दोषी ठहर गर्दै सर्वस्वसहित जन्मकैदको सजाय सुनाएको थियो । साथै उक्त घटनामा संलग्न अन्य १० जनालाई संलग्नताको प्रकृति हेरेर तीनदेखि १० वर्षसम्म कैद सजाय तोकिएको थियो ।
उक्त घटना हुँदाका बखत नेपाली कांग्रेसको युवा संगठन तरुण दलमा आवद्ध रहेका रिगललाई संविधान दिवसको अवसरमा मन्त्रिपरिषद्को रिफारिसमा राष्ट्रपति पौडेलले कैद माफी दिएका थिए ।