भूकम्पबाट घाइतेको उद्धार र उपचारमा खट्न एमाले पंक्तिलाई ओलीको आव्हान – Nepal Press

भूकम्पबाट घाइतेको उद्धार र उपचारमा खट्न एमाले पंक्तिलाई ओलीको आव्हान

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गए राति गएको भूकम्पमा परी घाइते भएकाहरुको उद्धार र उपचारमा खट्न पार्टी पंक्तिलाई आव्हान गरेका छन् ।

अध्यक्ष ओलीले सामाजिक सञ्जालमार्फत उक्त आग्रह गरेका हुन् ।

‘भूकम्प रातको समयमा गएकाले उद्धार प्रभावकारी हुन सकेको छैन होला । मैले बिहान त्यहाँका केही साथीहरुसँग टेलिफोनमा कुराकानी गरेँ । यतिबेला त्यहाँ उद्धार गर्ने र घाइतेको उपचारमा तत्काल लाग्ने स्वास्थ्यकर्मीको धेरै खाँचो छ । सबै साथीहरु उद्धारमा खटौँ’, ओलीले लेखेका छन्, ‘भूकम्प प्रभावित क्षेत्रभन्दा बाहिरकाले सहयोग पुर्‍याउने र त्यहाँकाले धैर्य र सावधानी राख्नुपर्ने समय हो ।’

उनको थप भनाइ छ, ‘घाइतेहरुको उद्धार र उपचारमा परिचालित हुन पार्टीका साथीहरूलाई आह्वान गर्दछु। उद्दार र राहतमा संलग्न स्वयंसेवक साथीहरुले त्यससँग सम्बन्धित आवश्यक सूचना र उद्दार राहतमा आवश्यक सामग्रीको व्यवस्थाका लागि सामाजिक सञ्जाललाई सदुपयोग गर्नुहोला। देशभरिका साथीहरुले राहत र घाइतेको उपचारमा कसरी सहयोग गर्न सकिन्छ, त्यसतर्फ ध्यान दिनुहोला। विशेषगरी सुर्खेत, नेपालगञ्ज, काठमाडौंका पार्टीका कमिटीहरुले उपचार, अस्पतालको व्यवस्थापन र घाइतेका लागि आवश्यक ब्लड संकलनमा सहयोग गर्नुहोला।उद्दारमा भीडभाड भन्दा छरितो व्यवस्थापन गर्नु पर्छ ।’

शोकको बेला पार्टीले आज राखेका शुभकामना आदानप्रदान तथा उत्सवसम्बन्धी कार्यक्रमहरु स्थगित गर्न पनि ओलीको निर्देशन छ ।

गए राति जाजरकोट केन्द्रविन्दु बनाएर ६ दशमलव ४ म्याग्निच्युडको भूकम्प गएको थियो । भूकम्पमा परी हालसम्म १३३ जनाको ज्यान गएको छ । बिहान साढे १० बजेको अपडेटअनुसार १४० जना घाइते भएको नेपाल प्रहरीले जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर