भूकम्प प्रभावित क्षेत्रमा सरकारले ‘सर्च, रेस्क्यू र रिलिफ’को नीति अनुसार काम गर्छ : गृहमन्त्री (भिडिओ)
काठमाडौं । उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले भूकम्प प्रभावित क्षेत्रमा तत्काल आवश्यक औषधि र चिकित्सकहरूको टोली पुगेर उपचारको काम सुरु भइरहेको बताएका छन् ।
थप आवश्यक व्यवस्थापन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गर्ने निर्णय भएको उनले बताए ।
सरकारले सर्च, रेस्क्यू र रिलिफ को नीति अनुसार काम गरिरहेको उल्लेख गर्दै उनले अहिले सुर्खेतलाई मुल बेस र नेपालगन्जलाई सहायक बेस बनाएर आवश्यक व्यवस्थापनको काम भइरहेको बताए ।
यस्तै शव व्यवस्थाका लागि विशेष टीम पुगेको र आवश्यक मुचुल्का तयार पारी काम सुरु हुने उनले बताए ।
मन्त्री श्रेष्ठले नेपाली सेना, नेपाल प्रहरी सशस्त्र प्रहरी बल नेपालले उद्धारको काम जारी राखेको उल्लेख गर्दै राहत वितरण एकद्वार प्रणालीबाट हुने बताए ।
यस्तै अवरुद्ध भएका सडकलाई आजै सुचारु गर्ने गरी सडक विभागलाई निर्देशन दिइसकेको र काम पनि सुरु भइरहेको उनले बताए ।
त्यस क्षेत्रमा कम्बल, त्रिपाल र खानेकुराहरूको व्यवस्थापन पनि भइसकेको र अभाव भएको अवस्थामा तत्काल खबर गर्न प्रदेश र स्थानीय सरकारका निकायहरूलाई निर्देशन दिइएको उनले बताए ।