भूकम्पको जोखिमबाट कसरी जोगिने ? – Nepal Press

भूकम्पको जोखिमबाट कसरी जोगिने ?

नेपाल भूकम्प गइरहने क्षेत्रमा पर्छ । यो जहाँ पनि जहिले पनि भूकम्प जान सक्ने अवस्थामा छ । भूकम्प जाने ठाउँको अवस्थितिको कारणले हो त्यसलाई रोक्न सकिँदैन ।

जहाँसम्म भूकम्पबाट बच्ने भन्ने कुरा थाहा पाउनलाई भूकम्पले सबैभन्दा बढ्ता असर केले गर्छ भन्ने कुरा थाहा पाउनुपर्‍यो ।

अहिले पनि जाजरकोटमा जति मानिसहरू तथा धनजनको क्षति भयो त्यसको मुख्यतया कमजोर घरहरूले भत्किएर किचिएर नै मृत्यु र घाइते भएका छन् ।

यद्यपि भूकम्पको बेला अप्ठ्यारो ठाउँमा ढुंगाहरु लडेर पहिरो गएर पनि केही मान्छेहरूलाई प्रभावित बनाउँछ । तर, त्यो संख्याको हिसाबले अत्यन्त न्यून हुन्छ ।

आगलागीबाट पनि क्षति हुन सक्छ त्यो पनि प्रतिशतको हिसाबले अत्यन्त न्यून हुन्छ ।

भूकम्पको बेला धनजनमा सबैभन्दा बढी क्षति घर, भवन संरचनाहरू भत्किएर त्यसले किचिएर हुने हो । त्यसैले गर्दा पूर्व तयारीको प्रमुख कुरा भनेको हामीले बनाउने घर संरचनाहरू बलियो, भूकम्प आउँदा नलड्ने, भूकम्प प्रतिरोधी बनाउने हो ।

हाम्रो मुलुकमा, गाउँघर जस्तै जाजरकोटमा पनि ढुंगामा माटोका घर छन् । ती घरहरूलाई सजिलैसँग भूकम्प प्रतिरोधी बनाउन सकिन्छ । यो पैसा भन्दा पनि ज्ञानको कुरा हो । निश्चित उपाय अपनायो भनेदेखि घर संरचना बलियो बनाउन सकिन्छ ।

हाम्रो नेपालमा बलियो घर बनाउन नीतिगत हिसाबले सरकारको भवन निर्माण संहिता छ, जसमा यी सबै हिसाबले सबै कुरा प्रष्ट उल्लेख छ, बनाउने तरिका पनि उल्लेख छ ।

तर, त्यो ज्ञान गाउँ गाउँमा, नगरमा जसले घर बनाउँछन्, ती घर बनाउने डकर्मीहरूमा पुगेको छैन ।

इन्जिनियरिङ क्षेत्रमा, इन्जिनियरको माझमा अलिकति यो ज्ञान छ । तर, त्यही कुरा गाउँ गाउँमा पुगेका छैनन् । सबै जनाले बुझेको अवस्था छैन । त्यसैले सबै क्षेत्रमा भूकम्प प्रतिरोधी घर भवन, संरचना बनाउने ज्ञानको कमी छ । त्यसैले ज्ञान, चेतना र क्षमतामा कमी भएको कारणले हाम्रो घर संरचनाहरू कमजोर भइरहेको छ । भूकम्पको बेला सबैभन्दा बढी क्षति त्यसैले गरिरहेको छ ।

समग्र हिसाबमा मुलुकको भूकम्पीय सुरक्षा अभिवृद्धिका लागि नयाँ बन्ने घर संरचनाहरू सजिलैसँग सुरक्षित बनाउन सकिने भएकोले त्यसमा थप आर्थिक भार पनि पर्दैन । त्यो नै एउटा मात्र प्रमुख भूकम्प प्रतिरोधी क्षमता बढाउने उपाय हो ।

तर, घरहरू पहिले नै बनिसकेका छन् । तिनीहरू सबै भूकम्प प्रतिरोधी छैनन् । सबै ठाउँमा नयाँ बन्ने घर थोरै मात्रै हुन्छ । त्यसैले भूकम्प प्रतिरोधको दोस्रो उपाय पनि अपनाउनु पर्दछ ।

दोस्रो उपाय भनेको बनिसकेका घरलाई बलियो बनाउने हो । त्यसको लागि खर्च अलि बढी लाग्छ । भत्काएर नयाँ बनाउन जति त थप खर्च लाग्दैन । तर, बनिसकेका घरलाई सयकडा २० देखि ३० प्रतिशत थप खर्च गरी प्रबलीकरण गर्न सकिन्छ ।

त्यसको लागि खर्च चाहिँ गर्नुपर्छ । जस्तो १५ लाखको घर छ भने ४ लाख खर्च गर्नुपर्‍यो । त्यो भनेको ठूलो खर्च पनि हो । आज भूकम्प जाने बित्तिकै सबै घरहरूलाई प्रबलीकरण गर्न सकिँदैन । त्यसको लागि तेस्रो उपाय अपनाउन जरुरी छ ।

त्यो भनेको भूकम्प आउँदा कसरी सुरक्षित रहने, के गर्दा अलिकति सुरक्षित भइन्छ ? घरको तुलनात्मक हिसाबले सुरक्षित ठाउँ कुन हो ? असुरक्षित ठाउँ कुन हो । के गर्‍यो भने बचिन्छ भन्ने कुरालाई बुझेर भूकम्प आउँदा त्यही अनुसारको व्यवहार गर्ने ।

त्यो सुरक्षाको उपाय चाहिँ घरको प्रकार, सुत्ने ठाउँ अनुसार फरक पर्छ । ठूला घर छ वा ढुंगा माटोको घर छ भने मुख्य बच्ने उपाय भनेको बाहिर दगुर्नु नै हो । किनकि एक तलाको घरमा थोरै समयमा बाहिर जान सकिन्छ । धेरै तले घर छ । आफू माथि छ भने भुँइचालो आउन थालेपछि तल गए भुँइचालोले किच्छ ।

त्यस्तो अवस्थामा घरभित्रकै अलि सुरक्षित ठाउँहरू जस्तो भित्री कुनाहरू, ठूलो बलियो टेबल छ भने टेबलको मुनि तुलनात्मक हिसाबले सुरक्षित ठाउँ हो । यदि त्यसले मात्रै सुरक्षित भइन्थ्यो भने त घर सुरक्षित पनि बनाउनु पर्थेन, प्रबलीकरण पनि गर्नु पर्थेन । तिनले बचेको बच्यै गर्ने भन्ने हुँदैन । तर, तुलनात्मक हिसाबले जीउधनको क्षति हुने सम्भावना अलि कम हुन्छ ।

यी कुराहरूलाई विचार गर्ने सुरक्षाको उपाय हो । यो सँगै आफूलाई सहज हुने गरेर पहिल्यै पूर्व तयारीको रूपमा केही पाल, अत्यावश्यक साधन जोहो गर्नु नियमित रूपमा पनि आवश्यकीय कुरा हो । जुन हामीलाई विपद् पर्दा प्रयोग गर्न सकिन्छ ।

यो यो चाहिन्छ भनेर लिष्टहरु पनि बनाइएका छन् । तर, त्यही नै चाहिन्छ पूर्व तयारीको लागि भन्ने होइन । आफूले पनि आवश्यकता अनुसारको प्रयोग र तयार गर्ने कुराहरू तयारी अवस्थामा राख्न सकिन्छ ।

जस्तो प्राथमिक उपचारका कुराहरू सिक्नु, खोज उद्धार कसरी गरिन्छ भनेर सिक्नु पनि आवश्यक कुरा हो । उपकरणहरू राख्ने सबै बचिन्छ नै भनेर ग्यारेन्टी गर्ने भन्दा पनि जोखिममा बच्नको लागि जोखिम घटाउने पक्षहरू हुन् ।

भूकम्पबाट सुरक्षित हुन यी तीनै उपाय पहिलो कुरा नयाँ संरचनाको बलियो बनाउने, दोस्रो भनेको भइरहेको भवन संरचनालाई प्रबलीकरण गर्ने हो । जस्तो अस्पताल, विद्यालय लगायतलाई भूकम्पबाट बच्न भवन प्रबलीकरण गर्न सकिन्छ । भने तेस्रो के गर्ने के नगर्ने भनेर जनचेतना जगाउन आवश्यक छ ।

यी सबै तयारीमा सरकार, अरू संघ संस्था र व्यक्ति सबैको उत्तिकै भूमिका हुन्छ । नीति निर्माण, जनचेतना अभिवृद्धि र नीति नियम कार्यान्वयनको हिसाबले प्रमुख कर्तव्य त सरकारकै देखिन्छ । संघीय सरकारको मात्रै नभएर भवन निर्माण संहिता लागु गराउन स्थानीय सरकारको भूमिका हुन्छ । कार्यान्वयनमा लागु गर्न स्थानीय सरकारको भूमिका हो, उहाँहरूको क्षमता अभिवृद्धिको पनि खाँचो छ । यसमा सबैको भूमिका बराबरी छ ।

(भूकम्प इन्जिनियर गुरागाईँसँग नेपाल प्रेसले गरेको कुराकानीमा आधारित)


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *