सबै स्वास्थ्य संस्थालाई भूकम्पका घाइतेको निःशुल्क उपचार गर्न स्वास्थ्य मन्त्रालयको आग्रह – Nepal Press

सबै स्वास्थ्य संस्थालाई भूकम्पका घाइतेको निःशुल्क उपचार गर्न स्वास्थ्य मन्त्रालयको आग्रह

काठमाडौं । शुक्रवार रातिको पौने १२ बजे जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर ६.४ रेक्टर स्केलको भूकम्पमा परेर घाइते भएकाको निःशुल्क रूपमा उपचार गर्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सबै स्वास्थ्य संस्थालाई आग्रह गरेको छ ।

मन्त्रालयले शनिवार एक विज्ञप्ति जारी गर्दै सबै सरकारी, गैर सरकारी तथा निजी स्वास्थ्य संस्थालाई भूकम्पका घाइतेको उपचार व्यवस्थापन निःशुल्क रूपमा गर्न आग्रह गरेको हो ।

मन्त्रालयका प्रवक्ता एवं सहसचिव डा. प्रकाश बुढाथोकीका अनुसार भूकम्प प्रभावित जिल्लामा रहेका स्वास्थ्य संस्था र अस्पतालबाट उपचार व्यवस्थापन भइरहेको र थप विशेषज्ञ तथा विशिष्टीकृत सेवाका लागि प्रादेशिक अस्पताल, सुर्खेत तथा भेरी अस्पताल, नेपालगन्ज तोकिएका छन् ।

अहिलेसम्म प्राप्त जानकारी अनुसार रुकुम पश्चिम अस्पताल, जाजरकोट अस्पताल र चौरजहारी अस्पतालमा घाइतेको उपचार भइरहेको र ५७ जनालाई थप उपचारका लागि प्रादेशिक अस्पताल, सुर्खेत र भेरी अस्पताल, नेपालगन्जमा रिफर गरिएको मन्त्रालयले जनाएको छ ।

मन्त्रालयले विज्ञप्तिमार्फत नै काठमाडौं उपत्यकाका हब अस्पताललाई तयारी अवस्थामा रहन पनि निर्देशन दिएको छ । भूकम्पमा स्वास्थ्य क्षेत्रको प्रभावकारी प्रतिकार्यका लागि मन्त्रालयले संघीय, प्रादेशिक र स्थानीय तहका विभिन्न मन्त्रालय तथा निकायसँग निरन्तर समन्वय गरिरहेको भन्दै शनिवार बिहानै मन्त्रालयले विशेषज्ञसहितको चार वटा संघ संस्थाबाट ४१ जनाको आकस्मिक चिकित्सकीय टोली उपचारमा सहयोगका लागि थप सामाग्रीसहित परिचालन भइसकेको विज्ञप्तिमार्फत जनाइएको छ ।

स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतज्यूको अध्यक्षतामा शनिवार मात्रै स्वास्थ्य विषयगत क्षेत्रका साझेदार निकायसँग भूकम्पको प्रतिकार्य सम्बन्धमा आकस्मिक बैठक बसेको थियो । उक्त बैठकमा मन्त्री बस्नेतले प्रभावित क्षेत्रसँगको समन्वयमा आवश्यक कार्य गर्न निर्देशन दिइसकेका छन् ।

मन्त्रालयले स्वास्थ्य क्षेत्रका सरोकारवाला निकाय र अन्य सबैलाई उद्धार र राहत प्रक्रियामा जुट्न र प्रभावकारी स्वास्थ्य सेवा प्रवाहका लागि आवश्यक तयारीका साथ सेवा गरी राख्न पनि अनुरोध गरेको छ ।

मन्त्रालयले मृतकप्रति हार्दिक श्रद्धाञ्जली तथा परिवारजनप्रति समवेदना प्रकट गर्दै घाइते व्यक्तिको शीघ्र स्वास्थ्य लाभको कामना गर्दै स्वास्थ्य सेवा सम्बन्धी जानकारी आवश्यक भएमा मन्त्रालयको हटलाइन नम्बर १९१५ र १९३३ मा सम्पर्क गर्न अनुरोध गरेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर