जब ‘मिस्ड कल’मात्रै गरिरहने जनताले मन्त्री किराँतीलाई घरको आँगनमा देखेँ
संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराँतीको आफ्नै खाले आस्था र विश्वास छ । उनी भन्ने गर्छन्, ‘मेरा लागि मेरो आफ्नो भगवान् भनेको बोल्ने देवताहरू हुन् । अर्थात् जीवित मानिसहरू नै मेरा परम ईश्वर हुन् ।’
किराँती ०६४ सालमा संविधानसभा सदस्य बने । दुई पटक संघीय सांसद हुँदै मन्त्री समेत बने । उनको यो राजनीतिक यात्राको महत्त्वपूर्ण सारथी तिनै थिए, जसलाई किराँती बोल्ने देवताहरू भन्छन् । भलै जनताले आफ्नो विवेकसम्मत मत दिएर किराँतीलाई यस ठाउँसम्म ल्याइपुर्याए । विकास, समृद्धि, शिक्षा, रोजगारी लगायत विविध कुराको जिम्मेवारी दिएर किराँतीलाई संसदमा पठाए ।
जनताले विश्वासले दिएको अभिमतलाई किराँतीले कसरी सम्बोधन गरिरहेका छन्, त्यो कुरा जनतालाई नै थाहा होला । तर, किराँती आम जनताको जनगुनासो सुन्न उनीहरूकै घरघरमा पुग्छन् । सरकारमा हुँदा होस् या नहुँदा, आफ्नो निर्वाचन क्षेत्रमा पुगिरहन्छन् । जनताका गुनासोलाई संकलन गर्छन् । जनताको माग र अपेक्षाहरूलाई टिपोट गर्छन् । र जनताको आवाज लिएर काठमाडौं फिर्छन् ।
आफ्नो निर्वाचन क्षेत्रको वडा होइन, टोलटोलमा वर्षको दुई पटक पुग्ने किराँतीको वचन नै छ । आफ्नो वचनमा उनी अडिग पनि छन् । वर्षको दुई पटक उधौली र उभौलीमा किराँती गाउँमै भेटिन्छन् । शिली टिपिरहेका भेटिन्छन् । साकेला गाइरहेका देखिन्छन् ।
उनले आफू मन्त्री भएपछि समेत भनेका थिए, तपाईँ मतदाताहरू मेरो भगवान् हुनुहुन्छ । भगवान्ले भक्तलाई भेट्न आउनु पर्दैन । सिंहदरबार आउँदा तपाईँहरूले अत्यन्तै झन्झट व्यहोर्नुपर्छ । तपाईँहरूले दुःख पाउनुभयो भने मन दुख्छ । त्यसैले म आफैँ तपाईंहरुलाई भेट्न समय मिलाएर तपाईंहरुको घर आँगनमा भेट्न आउनेछु ।’
०००
मन्त्री किराँती मन्त्री भएपछि पनि पटकपटक निर्वाचन क्षेत्रमा पुगेका थिए ।
पछिल्लोपटक लामो समय निकालेर जनतासँग भेटघाट गर्न गाउँ निस्किए । हुन त हरेक वर्षको दशैं मन्त्री किराँतीले फरक ढंगले मनाउने गरेका छन् । यसपटक दशैं लाग्दै गर्दा उनी काठमाडौंबाट गृहजिल्ला लागे ।
कात्तिक एक गते विराटनगर पुगे । विराटनगरबाट मोरङको बेलबारीमा पार्टीको अभियान अन्तर्गत १४ जना शहीद परिवारलाई सम्मान गरेर जनभेटको प्रारम्भ गरेका थिए । २ गते उदयपुर हुँदै गृहजिल्लाको आमचोक गाउँपालिकाबाट मतदातासँग भेटघाट सुरु गरे ।
आमचोक गाउँपालिकामै चार दिनसम्म भेटघाटलाई निरन्तरता दिए । आमचोक गाउँपालिका आफैंमा भौगोलिक हिसाबले अत्यन्त विकट गाउँपालिका हो । उदयपुरसँग दुधकोशीले सीमाना विभाजन गरेको यस गाउँपालिकामा १० वडा छन् । समुन्द्री सतहदेखि दुई सय मिटरको उचाइमा रहेको हैखराङ, किनुवा, जोगेपत्थर जस्ता गाउँहरु मन्त्री किराँती पुगेपछि सर्प्राइज भयो ।
ती गाउँहरूमा अहिलेसम्म कुनै बहालवाला मन्त्री त के सांसदसम्म पुगेका रहेनछन् । अचानक मन्त्री किराँती ती गाउँहरूमा पुगेपछि गाउँलेहरू सर्प्राइज मात्रै भएनन्, भावनात्मक पनि बने । यसअघि पनि मन्त्री किराँतीको यी गाउँका जनतासँग सीधा सम्पर्क थियो । तर, उनी अचानक स्वयं गाउँमा पुगेपछि माहोल निकै नै प्रेमिल र भावनात्मक बनेको थियो ।
गाउँलेहरुसँग विगतमा पनि मन्त्री किराँती सानातिना पारिवारिक समस्याहरूसँग परिचित रहन्थे । सकेको सहयोग गर्थे । मन्त्री भएपछि कामको चापले सबैको फोन उठाउन भ्याउँदैनन् । यो पंक्तिकारले समेत मन्त्री ज्युको फोन उठाइदिने गरेका छन् । मिहीन ढंगले फोन उठाउँदा पनि दिनमा दुई सय बढी मिस्ड कलहरु आउँछन् । र मन्त्री किराँतीलाई सम्झने विशेष जनता भनेकै ती मिस्ड कल गर्नेहरुहुन् । जोसँग सीधा कल गर्नलाई पनि मोबाइलमा ब्यालेन्स हुँदैन । तर, आफ्नो अपेक्षाहरु मन्त्रीसामु राख्न चाहन्छन् । पहुँचभन्दा बाहिर रहेका तिनै ‘मिस्डकल जनता’ नै मन्त्रीका विशेष जनता हुन् । जसको शिक्षा, स्वास्थ्य, रोजगारीका लागि काम गर्नु नै उनको प्राथमिकता हो ।
यस्ता ‘मिस्ड कल जनता’कै सामुन्ने मन्त्री स्वयं पुगेका थिए आमचोकका गाउँहरूमा । दुधकोशीको तीरदेखि सुरु भएको यात्रा अनकन्टार विकट गाउँहरूमा पुग्यो । अरुवेला जस्तै कुनै गाडीहरुको लाइन छैन । स्वागतका लागि कुनै गेट र अनावश्यक फूलमाला र भड्किला मन्चहरु छैनन् । सिर्फ आम जनतालाई भेटेर उनीहरुको दुःख, सुख सोध्नु र उनीहरुको समस्यालाई टिपोट गर्नु नै किराँतीको मूल उद्देश्य थियो ।
जनताले किराँतीलाई फूलमालाले त स्वागत त गरेनन्, तर प्रेमले किराँतीलाई स्वागत गरे । बरु जनताले आफ्नो घरमै फलेका सुन्तला, अम्बा, दही र महीले स्वागत गरे । आफैंले जिताएर पठाएको आफ्नो प्रतिनिधिलाई आलिंगनमा मात्रै बाँध्दैन थिए । हर्षको आँसु समेत झार्थे ।
०००
जनताको घरको पिँढीमा बसेर गफगाफ हुन्थ्यो । अनि अर्को घरतिर निस्कन्थे । यस पटकको यात्रामा हैखराङमा पुगेका थियौं । पारी हतुवागढी गाउँपालिका वडा ९ हसनपुर निवासी पार्टीको जिल्ला सल्लाहकार लोकबहादुर मगरको निधन भएको दुःखद खबर सुन्यौं । खबर सुन्नसाथ मन्त्रीको टोली हसनपुरतिर लाग्यो । बाटोमा विदंगत लोकबहादुरसँगको अनेकौँ संयोग र सम्बन्धको पोयो फुकाउँदै मन्त्री किराँती नोस्टालजिक बने ।
मन्त्री किराँतीको एक विशेषता छ, कोही मानिससँग चिनजान भए उनी गहिरो गरी ती मान्छेबारे जानकारी राख्छन् । किराँतीले मान्छेहरूको प्रेम पाउनुमा यो पनि एउटा कारण हो । हसनपुर पुगेर विदंगत लोकहादुरको पार्थीव शरीरमा पार्टीको झण्डा अर्पण गरियो । उक्त झण्डा लोकबहादुर आफैंले घरमा वर्षौंदेखि राखिरहनुभएको रहेछ । वृद्ध अवस्थामा पनि उहाँको पार्टीप्रतिको सम्मान र प्रेम देखेर मन्त्री किराँती भावुक भए । हुन त उहाँको स्वभाव पनि भावुक हुने खालकै छ ।
लोकबहादुरको जीवन संगिनी लगायत छोराहरुलाई सान्त्वना दिएपछि केही आर्थिक सहयोग मन्त्री किराँतीले गरे । र त्यहाँबाट फेरि आमचोक फर्कियौं । प्राय हरेक कार्यक्रममा दशैंको शुभकामना आदानप्रदान हुन्थ्यो । योपटकको यात्रामा चाहिँ दशैंको शुभकामना आदानप्रदान फरक थियो । शुभकामना बाँड्दै गर्दा केन्द्रमा थिए ससाना नानीबाबुहरू । जो भविष्यका कर्णधारहरू हुन् । उनीहरूसित किराँतीको दशैं शुभकामना आदानप्रदान दृश्य रोचक थियो । १०–२० का नयाँ नोट सहित मन्त्री किराँतीको आशीर्वाद नानीबाबुहरूको हातमा हुन्थ्यो । बदलामा नानीबाबुहरूको निर्दोष र निश्चल आगिंलन मन्त्री किराँतीले पाउँथे । अनि कति नानीबाबुहरू त भन्थे, ‘मन्त्री ज्यु आज मेरै घरमा बसौं ।’
मन्त्री किराँतीको जवाफ हुन्थ्यो, ‘म अर्कोपटक आउँछु । राम्रोसँग पढ्नु । पछि देश चलाउने तिमीहरूले हो । आज म अर्को गाउँमा तिमीहरूजस्तै नानीबाबुहरूसँग पनि दशैं मनाउन पुग्नु छ ।’
०००
यात्राको क्रमका जनताको माया, स्नेह र गहिरो प्रेमले मन्त्री बेलाबेला भावनात्मक रूपले उद्वेलित भइरहेका थिए । आमचोकको दिङलापु, दुम्माना र पाचा ! तीनवटा वडामै तीन दिन बितिसकेको थियो । छिमेकी जिल्ला बोपुङ नजिकै पर्छ । त्यहाँका स्थानीयहरुले बास बस्न कर गरिरहेका थिए । यसपटक बोपुङमा पाइला नटेके बोलचाल नै बन्दै गर्ने उनीहरूको घुर्की थियो । त्यसमा अग्रपंक्तीमा थिए सामाजिक अगुवा मनि बान्तवा ।
उनी पछिल्लोपटक मन्त्री किरातीसँगकै सम्बन्धका कारण कांग्रेस पार्टी परित्याग गरेर माओवादी केन्द्रमा आबद्ध छन् । बेलुका बोपुङमा बस्यौं । तर, आमचोकको वडा नम्बर ६ बयाङबाट ७ वर्षकी बालिका एक दिनदेखि हराइरहेको र अझैं फेला नपरेको खबरले हामीलाई स्तब्ध बनाएको थियो । ४ गते बिहानै आमचोक गाउँपालिकाको केन्द्र बालंखामा जभेटघाटको कार्यक्रम तय भएको थियो ।
बेलुका खोटाङको बोपुङमा मध्यरातसम्मै स्थानीयसँग भलाकुसारी चलेको थियो । पहिलोपटक वहालवाला मन्त्री पुग्दा स्थानीय बडो हर्षित थिए । ४ गते बिहान बालंखा आएपछि हराएकी बालिका मृत भेटिएको दुःखद खबरले सबैलाई स्तब्ध बनायो । गाउँ नै शोकमा डुबेको थियो । बालंखाको कार्यक्रम सकाएर हामी वडा नम्बर ५ पांचा र वडा नम्बर ७ देवन्टारमा जभेटघाटमा निस्कियौं । यसवेलासम्म दशैं घरमै भित्रिसकेको थियो ।
वहालवाला मन्त्री कुनै तामझाविना अचानक सामुन्ने देखिँदा अनौठो मान्थे । ४ गते बेलुका ६ नम्बर वडा बयाङमा बास बस्न निस्कियौं । यहाँ गाउँ नै शोकमा थियो । ७ वर्षीया बालिकालाई छिमेकी २१ वर्षीय युवकले जंगलमा लगेर बलात्कार गरेपछि मारेको प्रारम्भिक अनुसन्धानबाट पुष्टि भइसकेको थियो । मृत बालिकाको शवलाई पोष्टमार्टमका लागि सुनसरी जिल्लाको धरान घोपा क्याम्पमा बालिकाको बुवा लगायत गाउँलेहरुले लगिसकेका थिए ।
घटनामा संलग्न युवालाई प्रहरीले नियन्त्रणमा लिइसकेको थियो । ५ गते बिहान सवेरै शोकमा डुबेका परिवारलाई भेट्न मन्त्री किराँती घरमै पुगे । बालिकाको आमा, बाजे, बजु र फुपू मन्त्रीलाई देख्ने बित्तिकै भावविह्वल भए । त्यो माहौलमा मन्त्री किराँतीसँगै गएका गाउँपालिका अध्यक्ष अशोक राई, माओवादीका युवा नेता सन्दीप किरावा, सम्झना राई लगायत कसैको पनि आँखा ओभानो रहेन । सबैले भिजेका आँखाले ७ वर्षीया बालिकालाई अन्तिम श्रद्धाञ्जली दिए । अपराधीलाई कठोर कारबाहीको लागि प्रार्थना गरे ।
त्यहाँबाट फर्कने वेला मन्त्री किराँतीले मृतक नानीको आमालाई केही आर्थिक सहयोग प्रदान गरे । आमाले सहयोग लिन मानिरहेकी थिइनन् । बरु अनुरोध गरिरहेकी थिइन्, ‘दोषीलाई कानुन अनुसार कडाभन्दा कडा कारबाही हुने व्यवस्था गराइदिनु । यसरी साना नाबालिगहरूले ज्यान गुमाउन नपरोस् ।’
जनतासँगको भावनात्मक भेटघाट एउटा पाटो थियो । अर्को पाटो भने उनीहरूको समस्या थियो । उनीहरूको साझा अपेक्षा थिए । उनीहरू एकै कुरा दोहोर्याउँथे, जिल्लाको नाम राखिरहनु । मतदाताको शीर झुक्ने काम कहिल्यै नगर्नू । दूधकोशीको रानीटारमा पुल लगाउनू ।’
आमचोक हुँदै जिल्लाको दक्षिणी भेगलाई तराईसँग जोड्ने रानीटारको मोटरेबल पुल शिलान्यास भएको वर्षौँ भयो । तर, अहिलेसम्म पुल बन्न सकेको छैन । यो पुल बनेको खण्डमा दक्षिणी भेगको जनताको सास्ती अन्त्य हुने थियो । त्यति पूल मात्रै बनेदेखि जिल्लाको विकासले फड्को मार्ने थियो । जिल्लाको आर्थिक मुहार नै बदलिने थियो ।
मन्त्री किराँती गृह जिल्लाबाट फर्किएपछि उनको सक्रियतामा यो पुल निर्माणको काम अगाडि बढेको छ । यो पुल निर्माणको क्रममा आएको प्राविधिक समस्या हलका लागि मन्त्री लागिपरेका छन् ।
०००
आमचोकको १० वटै वडाहरुमा जभेटघाट गर्दै रामप्रसाद राई गाउँपालिका ओख्रेमा ५ गते बेलुकाको बास थियो । यो वडा मन्त्रीको आफ्नै वडा पनि हो । वडामा मन्त्री आइपुुगेपछि भलाकुसारीका लागि वडाध्यक्ष, गाउँपालिका अध्यक्ष लगायतको टिम आइपुगेको थियो ।
६ गते बिहानै भोजपुर गाउँपालिका छिचोल्दै टेम्के मैयुङ गाउँपालिका वडा नम्बर एक तिम्मामा बास बस्न पुगेको थियो । वडाध्यक्ष नरबहादुर राईको घरमा बासको व्यवस्था थियो । ७ गते बिहान भोजपुर जिल्लाको सबैभन्दा अग्लो पहाड शिलिचुङ पछिको अग्लो डाँडा मैयुङ (३३३३ मिटर) को यात्रामा टोली निस्कियो । बिहान मैयुङको ढुंगाखर्केमा गोठालाहरु भेला भए ।
यसवेलासम्म मन्त्री किराँतीको जनभेटघाट र दशैं विशेष कार्यक्रममा जनताहरुसँग साक्षत्कार मात्रै भएन । सम्बन्धहरु नवीकरण पनि भयो । मैयुङको लेकमा चौरी र भेडा गोठालाहरुसँग दशैं मनाए । विगतमा कहिले दलित वस्ती त कहिले शहीद परिवारसँग दशैं मनाएका किराँती यसपटक गोठालाहरुसँग मनाउन मैयुङ पुगेका थिए ।
२० गोठालाहरुसँग दशैं मनाएका किराँती ८ गते मैयुङदेखि चखेवासम्म ४२ किलोमिटरको मुन्दुम पदमार्गमा समेत हिँडे । पूर्वमा मुन्दुम पदमार्ग आन्तरिक पर्यटकका लागि नयाँ गन्तव्यको रुपमा विकास भएको छ । यसलाई सुनसरीको चतरा हुँदै सगरमाथासम्म जोडेर ग्रेटर मुन्दुम पदमार्गका रुपमा विकास गर्ने योजना मन्त्री किराँतीको छ । जसले पूर्वका उदयपुर, खोटाङ, भोजपुर, ओखलढुंगा, धनकुटा लगायत जिल्लाको पर्यटन विकासमा छलाङ मार्नेछ । नेपालको विकास पर्यटन र कृषिले मात्रै सम्भव छ भनिरहँदा मन्त्री किराँतीको यो गुरुयोजना नेपालको समुन्नत विकासमा कोसेढुंगा सावित हुन सक्ने देखिएको छ ।
अन्त्यमा रामप्रसाद राई गाउँ पालिकाको विभिन्न वडामा जभेटघाट सभा ९, १०, ११ गतेसम्म गरेर हतुवागढीको मचुटार भएर पानीबोर्ड चढेर सुनसरी हुँदै १२ दिनको जभेटघाटलाई बिट मार्दै मन्त्री किराँती १२ गते काठमाडौं फर्किए ।
साथै यस पटकको यात्रामा मन्त्री किराँतीले आफू मन्त्री भएको वेला खादामाला वापत् एक हप्तामा संकलन भएको छ लाख रकम आमचोक गाउँपालिकाको ९ को सरस्वाती माविमा अक्षयकोष स्थापनाका लागि हस्तान्तरण गरे । सँगै आफू प्रमुख अतिथि हुने कार्यक्रममा मन्चमा बस्ने थितीको अन्त्य गर्ने घोषणा गरेका छन् । अन्य उपस्थित मानुभावसँगै मन्चको अगाडि दर्शक दीर्घामै बस्ने संस्कारको सुरुवात गरेका छन् ।
साथै आफूलाई प्रमुख अतिथि बोलाइएका कार्यक्रममा सम्बन्धित कार्यक्रमको अगुवालाई नै प्रमुख अतिथि बनाउने र आफू विशेष अतिथिको रुपमा मात्रै सम्बोधन गर्ने घोषणा गरेका छन् । उनले भनेका छन्, ‘यो गणतन्त्र हो । गणतन्त्रमा कोही राजा र कोही रैती हुँदैन । यो व्यवस्थामा सबै समान छन् । अब हामीले भड्किलो संस्कृतिलाई अन्त्य गर्नुपर्छ ।’
०००