साढे २१ करोडको लगानीमा कमलामा यसरी बन्दैछ झोलुङ्गे पुल (तस्बिरहरु)
जनकपुरधाम । धनुषा र सिरहा जिल्लालाई जोड्न कमला नदीमा डेढ किलोमिटर लामो झोलुङ्गे पुल निर्माणले गति लिएको छ । पुल निर्माणका लागि मजदुर र प्राविधिक गरी ४२ जना दिनरात खटिरहेका छन् ।
धनुषाको जनकनन्दिनी गाउँपालिका ६ कठाल र सिरहा नगरपालिका १३ गम्हरियालाई जोड्न झोलुङ्गे पुल निर्माण हुन लागेको हो । पुलको लम्बाई एक हजार ५०१ मिटर (१५००.४४ मिटर) रहेको छ । सम्भवतः यो नेपालकै दोस्रो लामो झोलुङ्गे पुल हुनेछ ।
यो झोलुङ्गे पुल एकै पटक २५०० जना मानिस चढ्न सक्ने क्षमताको हुनेछ । १० वटा पिल्लर रहनेछ । पुल निर्माण भएपछि धनुषा र सिरहाका लाखौँ जनतालाई आवतजावत गर्न सहज हुनेछ । यसका साथै पुल हेर्न र मनोरञ्जन गर्न पनि आन्तरिक पर्यटकहरू आउने स्थानीयको विश्वास छ ।
अहिले निर्माण हुन लागेको झोलुङ्गे पुल हुलाकी राजमार्गदेखि करिब ४/५ किलोमिटर दक्षिणमा पर्छ । हुलाकी राजमार्ग अन्तर्गत कमला नदीमा पनि पुल निर्माणाधीन छ । तर पुल लगभग निर्माण भइसकेपछि गत वर्ष भासियो । त्यसपछि पुनः निर्माणको काम अलपत्र छ ।
सरकारले पटक पटक कमला पुल पुनः निर्माण कार्य अगाडी बढाउन ठेकेदार कम्पनीलाई निर्देशन दिए पनि टेरेको छैन । अहिले त्यहाँ मोटरसाइकल, साइकल र पैदल यात्रीहरू भासिएको पुल भएर जोखिमपूर्ण यात्रा गर्न बाध्य छन् ।
कमला नदीमा असार, साउन र भदौमा बाढी आउँछ । यो तीन महिना सिरहा र धनुषाका बासिन्दाको सम्बन्ध नै विच्छेद हुन पुग्छ । पुल नबन्दा त्यस क्षेत्रका बासिन्दा वर्षेनी सास्ती झेल्छन् ।
पुल निर्माण भएर गाडी चल्न थाले सिरहा सदरमुकामबाट जनकपुर पुग्न मात्र आधा घण्टा लाग्छ । तर अहिले पूर्वपश्चिम राजमार्गबाट यात्रा गर्नुपर्दा तीन घण्टा लाग्छ । जसका कारण समय बर्बादसँगै आर्थिक मारमा पनि पर्ने गरेका छन्– त्यस क्षेत्रका जनता ।
अहिले निर्माण भइरहेको झोलुङ्गे पुल त्यस क्षेत्रका जनताका लागि वैकल्पिक मार्ग हुनेछ । झोलुङ्गे पुल निर्माणले सिरहा नगरपालिका र जनकनन्दिनी गाउँपालिकाका दक्षिणी भेगका जनता खुशी छन् ।
सिरहा नगरपालिका १३ का मुकेश शर्माले झोलुङ्गे पुल निर्माणले गति लिएपछि खुशी भएको बताए । उनले भने, ‘यो पुल नहुँदा हामी भारतको जयनगर वा हाईवेको बाटो प्रयोग गर्नुपर्छ । तर अब यो समस्या छिट्टै टर्दैछ । खुशी छौं हामी ।’
पुलको लागत साढे २१ करोड
उक्त पुल भ्याटबाहेक २१ करोड ५१ लाख १० हजार ७५३ रुपैयाँमा निर्माण हुनेछ । गत असारमै पुल निर्माणको ठेक्का सपना–उमा एन्ड कम्पनी थानी जे.भी. बतीसपुतलीले पाए । तर निर्माण कार्य ढिलोगरी सुरु भयो ।
पुल २ वर्षमै निर्माण गर्नुपर्ने सम्झौता भएको छ । अर्थात् ११ असार ०८१ भित्र पुल निर्माण सम्पन्न गर्नुपर्छ । समय थोरै रहेकाले कम्पनी पुल निर्माणलाई तीव्र पारेको छ ।
ठेकेदार कम्पनीका इन्जिनियर विनोद कुमार मण्डलले पुल निर्माण सम्झौता भएको मितिभित्रै सम्पन्न गर्ने उद्देश्यका साथ काम गरिरहेको बताए । उनले अगामी माघ महिनासम्म निर्माण पुरा भई पुल सञ्चालनमा आउने दाबी पनि गरे ।