२५ लाख बढी ठगीको आरोपमा माओवादीका नेता पक्राउ
कैलाली । कैलालीमा माओवादीका एक नेता २५ लाख बढि ठगीको आरोपमा पक्राउ परेका छन् ।
माओवादी केन्द्रका जानकी गाउँपालिका गाउँ कमिटी सचिव जयप्रकाश दहितलाई प्रहरीले ठुलो रकम ठगी गरेको आरोपमा पक्राउ गरेको हो । मिलन कृषक समूह र हरियाली कृषक समूहका संयोजक समेत रहेका दहितसहित अन्य दुई जनाले किसानबाट करिब २५ लाख ३७ हजार ठगी गरेको उजुरी पछि उनलाई प्रहरीले पक्राउ गरेको इलाका प्रहरी कार्यालय टीकापुरले जानकारी दिएको छ । दहित सहित अन्य २ जना विरुद्ध २१ जना स्थानीयले प्रहरीमा उजुरी दिएका थिए ।
प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयबाट कृषि चम्पा ट्याक्टर, पावर टेलर अनुदानमा उपलब्ध गराइ दिने भन्दै जानकी गाउँपालिका किसानबाट दहित सहितका अन्य २ जनाले रकम उठाएको आरोप उजुरीमा उल्लेख गरिएको छ ।
दहित पक्राउ परे पनि अन्य दुई जना फरार रहेको इलाका प्रहरी कार्यालय टीकापुरका प्रहरी नायब उपरीक्षक विश्वराज अधिकारीले बताए । उनका अनुसार कैलाली जिल्ला अदालतबाट म्याद थप भई अनुसन्धान भइरहेको छ ।
फरार रहेका दुई जनाको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ ।
Kada karbahi garnu parxa