क्रिकेट इतिहासमै पहिलो घटना: हेल्मेट फेर्न खोज्दा एञ्जेलो म्याथुज अचम्मसित आउट – Nepal Press

क्रिकेट इतिहासमै पहिलो घटना: हेल्मेट फेर्न खोज्दा एञ्जेलो म्याथुज अचम्मसित आउट

काठमाडौं । श्रीलंकाली ब्याट्सम्यान एन्जेलो म्याथुज अन्तर्राष्ट्रिय क्रिकेटमा ‘टाइम्ड आउट’ हुने पहिलो ब्याट्सम्यान बनेका छन् । आईसीसीको नियमअनुसार पीचमा आएको २ मिनेटभित्र ब्याटिङका लागि तयार नभएपछि अम्पायरले उनलाई आउट गरेका हुन् ।

भारतमा जारी विश्वकप क्रिकेटमा बंगलादेशविरुद्धको म्याचमा म्याथुज छैटौं नम्बरमा ब्याटिङ गर्न आएका थिए । क्रिजमा आएपछि सकिब अल हसनको बल फेस गर्ने तयारीमा रहँदा उनले आफ्नो हेल्मेटकाे फित्ता छिनेको थाहा पाए । त्यसपछि उनले अर्को हेल्मेट मगाए । बाहिरबाट अर्को हेल्मेट नआउँदासम्म उनले एउटा बल पनि फेस गरेका थिएनन् । हेल्मेट फेर्नै नभ्याइ अम्पायर मरियास अरास्मस र रिचार्ड इलिङ्वर्थले उनलाई आउटको संकेत गरे ।

बंगलादेशले आउटका लागि अपिल भने गरेको थिएन । अम्पायरले आउट हुँदा बंगलादेशका फिल्डरहरु आआफ्नो पोजिसन लिइरहेका थिए भने सकिब बल फ्याक्न तयार थिए ।

अघिल्लो ब्याट्सम्यान ३ः४९ मा आउट भएपछि ३ः५४ क्रिजमा आएका थिए म्याथुज । उनलाई ३ः५४ मा आउट दिइयो । उनलाई आउट करार गर्नुअघि अम्पायरले एक मिनेटभन्दा बढी छुट दिएका थिए । नियमानुसार क्रिजमा आएको २ मिनेटभित्र तयार हुनुपर्नेमा ४ मिनेटपछि मात्रै म्याथुज आउट भए ।

म्याथुजले आफूलाई आउट दिइएपछि अम्पायरसँग बहस गरेका थिए । उनले आफ्नो हेल्मेट देखाएका पनि थिए । बंगलादेशका कप्तान सकिब अल हसनसँग पनि उनले कुरा गरे । तर, अम्पायरहरु निर्णय उल्टाउन तयार भएनन् । अन्ततः क्रिज छाड्न बाध्य भए । यो अन्तर्राष्ट्रिय क्रिकेट इतिहासमै पहिलो घटना हो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *