गुल्मीमा १५ वर्षीया बालिकाको बलात्कारपछि हत्या, मदरसाका एक शिक्षक पक्राउ
रुपन्देही । गुल्मीको शान्तिपुरमा १५ वर्षीया बालिका मनिषा रुचालको बलात्कारपछि हत्या गरेको खुलेको छ । घटनामा संलग्न आरोपमा मदरसाका एक शिक्षक पक्राउ परेका छन् ।
मृतककी आमा धनमाया सार्कीको किटानी जाहेरीमा बाँके जिल्लाको खजुरा गाउँपालिका-७ का २३ वर्षीय रहिस खाँ पक्राउ परेका हुन् । उनी पाँच महिनादेखि शान्तिपुरमा बस्दै आएका थिए । सो क्षेत्रमा रहेका करिब २ सय मुस्लिम परिवारका विद्यार्थीलाई पढाउन खोलिएको मदरसा गुल्सने मदिनामा रहिसलाई त्यहाँ लगिएको थियो ।
मनिषा कात्तिक १७ गते बिहान चन्द्रकोट गाउँपालिकाؘ–४ शान्तिपुरस्थित हुग्दीखोलामा नग्न अवस्थामा मृत फेला परेकी थिइन् । गुल्मी प्रहरीले उनलाई पक्राउ गरी अदालत पेश गर्दै पाँच दिन म्याद थप गरी अनुसन्धान अगाडि बढाएको छ । पक्राउ परेका रहिसबिरुद्ध अदालतमा मनिषाको ज्यान सम्वन्धि कसुर र करणी बिरुद्धको मुद्धामा पाँच दिनको म्याद थप भई अनुसन्धान भइरहेको जिल्ला प्रहरी प्रमुख एसपी नविनकिशोर प्रधानले जनाएका छन् ।
खेतलाहरुलाई सूर्ति किन्न पारी श्रीलंकाटोलकी शान्ति थापाको पसलमा गएर फर्किएकी मनिषालाई खाँले फकाएर बोलाउँदै भित्र लगेर कुकर्म गर्न लाग्दा उनले प्रतिवाद गर्ने क्रममा उनको हत्या गरिएको प्रहरीको प्रारिम्भक निष्कर्ष छ । जिल्ला प्रहरी कार्यालयका डीएसपी डिल्लीनरायण पाण्डेले घटनाको विषयमा प्रहरी नजिक पुगिरहेको र केही विषयका प्रमाणहरु जुटाउँदै गएको बताउँदै घटनाका मुख्य दोषी पक्राउ परेको जनाए ।
स्थानीयले घटनालगत्तै अपराधीलाई कडा कारबाहीको माग गर्दै निरन्तर आन्दोलन गर्दै आएका छन् । अपराधीको कुनै धर्म जात नहुने भन्दै उनीहरुले जुनसुकै धर्मसमुदायको भएपनि अपराधीलाई कडा कारबाही माग गर्दै अपराधलाई जोगाउनेगरी नलाग्न आग्रह गर्दै आएका छन् । शान्तिपुरमा रहेका मुस्लिम अगुवाहरुले पनि अपराध प्रमाणित भए कोहीकसैलाई जोगाउन नहुने विषयमा सार्वजनिक प्रतिवद्धता गरेका छन् ।
मदरसा गुल्सने मदिनाका संस्थापक अध्यक्ष विश्मिला मिया,व्यवस्थापन समितिका अध्यक्ष अजित मिया,सचिव पिआर मियालगायत सो क्षेत्रमा रहेका सबै पार्टी, सामाजिक संघसंस्थाका प्रपितनिधिले घटनाको निष्पक्ष छानविन गरी दोषीलाई कडा कारबाही गर्न र कुनै घटनाको विषयले जातीय सद्भाव खलबलिन नदिन आग्रह गरेका छन् ।