नेपालमा ९० प्रतिशत मानसिक रोगी स्वास्थ्योपचारबाट वञ्चित (भिडिओ) – Nepal Press

नेपालमा ९० प्रतिशत मानसिक रोगी स्वास्थ्योपचारबाट वञ्चित (भिडिओ)

काठमाडौं । नेपालमा ९० प्रतिशत मानसिक रोगीहरुले मानसिक स्वास्थ्योपचारबाट वञ्चित भएको मनोचिकित्सकहरुले बताएका छन् ।

मंगलवारबाट काठमाडौंमा शुरु भएको १४ औं सार्क अन्तर्राष्ट्रिय मनोचिकित्सक सम्मेलनमा सार्क राष्ट्रका मनोचिकित्सकहरुले यस्तो तथ्यांक रहेको बताएका हुन् । उनीहरुले सार्क राष्ट्रमा मानसिक स्वास्थ्यको उपचारबाट वञ्चित हुनेहरु करिव ८४ प्रतिशत रहेको बताए ।

उनीहरुले आत्महत्याको तथ्यांक हेर्दा एशियामा जनसंख्याको हिसावले सबैभन्दा धेरै भारतमा हुने गरेको बताएका छन् । मनोचिकित्सक डा. कमल गौतमले विश्वव्यापी रुपमा मानसिक स्वास्थ्यको उपचार नपाउनेहरु ८४ प्रतिशत रहेको बताए । उनले नेपालमा करिव ९० प्रतिशत मानसिक रोगीहरु उपचारबाट वञ्चित रहेको बताए ।

उनले भने,‘अहिले समग्र स्थिति हेर्दा विश्वव्यापी रुपमा मानसिक स्वास्थ्यको उपचार नपाउने ट्रिटमेण्ट ग्यापले । लगभग ८४ प्रतिशत व्यक्तिहरु सेवा पाउँदैनन् । धेरैजसो यो संख्या विकासोन्मुख देशहरुमा छ । नेपालको अवस्था हेर्दा लगभग ९० प्रतिशत मानिसहरु उपचारबाट वञ्चित छन् । सार्कमा समग्रमा विकासोन्मुख देशको अवस्था उस्तै रहेको छ । आत्महत्याको तथ्यांक हेर्दा एशियामा जनसंख्याको हिसावले भारतमा सबैभन्दा धेरै छ ।’

सम्मेलनमा बोल्दै मनोचिकित्सक डा. सरोज ओझाले कडा खालको मानसिक रोगको उपचार राज्यले गर्नुपर्ने बताए । उनले नेपालमा मानसिक स्वास्थ्य ऐन छुट्टै बनाउनुपर्नेमा अहिलेसम्म बन्न नसकेको बताए । उनले आत्महत्या रोकथामको लागि राज्यले जनमानसमा जनचेतना फैल्याउने र पीडितले अचानक सेवा चाहिए कहाँबाट सेवा लिने भन्नेका लागि हटलाइन सर्वसुलभ गर्ने र दक्ष जनशक्तिबाट आवश्यक परामर्श दिन आवश्यक रहेको बताए ।

उनले भने ‘यसको सेवा सबै देशका अस्पतालबाट भइरहेको छ । तर कडा खालको मानसिक रोगहरु जसलाई हामी साइकोसिस भन्छौँ, त्यो कडा खालको मानसिक रोगलाई राज्यले हेर्नुपर्छ । त्यो दायित्व राज्यको हो । भरणपोषणदेखि सबै उपचार राज्यले गर्नुपर्छ । त्यसको लागि नेपालमा मानसिक स्वास्थ्य ऐन छुट्टै छैन । अरु देशमा आइसकेको अवस्थामा त्यो ऐन ल्याए सहज हुन्थ्यो । आत्महत्या रोकथामको लागि राज्यले जनमानसमा जनचेतना फैल्याउने र पीडितले अचानक सेवा चाहिए कहाँबाट सेवा लिने भन्नेका लागि हटलाइन सर्वसुलभ गर्ने र दक्ष जनशक्तिबाट आवश्यक परामर्श सर्वसुलभ गर्नुपर्छ ।’

सम्मेलन मंगलवार र बुधवार गरी दुई दिनसम्म चल्नेछ । सम्मेलनमा सार्क राष्ट्रमा मानसिक समस्याहरुबाट व्यहोर्नुपरेको क्षति, उपचारका उपायका बारेमा छलफल हुनेछ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *