अद्भुत म्याक्सवेल, अवर्णनीय इनिङ ! – Nepal Press
विश्वकप क्रिकेट

अद्भुत म्याक्सवेल, अवर्णनीय इनिङ !

विश्वकपमा म्याक्सवेलले खेले अन्तर्राष्ट्रिय क्रिकेटको इतिहासमै सर्वश्रेष्ठ इनिङ

काठमाडौं । यदि तपाईं ‘क्रिकेट लभर’ हुनुहुन्छ, तर हिजो अष्ट्रेलिया र अफगानिस्तानबीचको म्याच (मुलतः दोस्रो इनिङ) छुटाउनुभयो भने मान्नुस, तपाईंले ठूलो चिज मिस गर्नुभयो । समाचारहरूमा आइसकेपछि अब ‘टेलिभिजन रिप्ले’ हेरेर त्यो रोमाञ्चको भरपाई हुनेवाला छैन ।

ग्लेन म्याक्सवेल । यो नाम विश्व क्रिकेटको इतिहासमा सदा स्मरणीय रहने भयो, हिजोको त्यो इनिङले । उनको ब्याटिङलाई कसरी वर्णन गर्ने ? ‘म्याक्सवेलले एक्लो बलबुतामा अष्ट्रेलियालाई जित दिलाए’ मात्रै भन्नुले उनको प्रदर्शनलाई न्याय गर्दैन । एउटा ब्याट्सम्यानको भरमा टीमले जितेका उदाहरण अरु पनि थुप्रै भेटिएलान् । म्याक्सवेलको ब्याटिङ ‘विशेष’ मात्र थिएन, आश्चर्यजनक, अद्भुत, अविश्वसनीय थियो । शब्दकोष पल्टाएर अरु पनि विष्मयादीवोधक विशेषणहरू खोज्न सक्नुहुन्छ ।

कुनै पनि ‘रेकर्ड बुक’ नपल्टाइकनै म्याक्सवेलको इनिङलाई अन्तर्राष्ट्रिय क्रिकेटको इतिहासमा सर्वश्रेष्ठ संज्ञा दिन सकिन्छ । एकदिवसीय क्रिकेटमा उत्कृष्ट इनिङको रूपमा दक्षिण अफ्रिकाका हर्सेल गिब्सले अष्ट्रेलियाविरुद्ध बनाएको १७५ रनलाई लिने गरिन्छ, जहाँ अष्ट्रेलियाले दिएको कीर्तिमानी ४३८ रनको लक्ष्यलाई दक्षिण अफ्रिकाले अविश्वसनीयरूपमा चेज गरेको थियो । भारतीयहरूले चाहीँ १९८३ को विश्वकपमा कपिल देवले बनाएको १७५ रनको चर्चा गर्ने गर्छन्, जसमा १७ रनमा ५ विकेट गुमाएको अवस्थाबाट २६६ रनको स्कोरमा पुर्याएका थिए । तर, यी दुवै उत्कृष्ट इनिङ म्याक्सवेलको छेउछाउ पनि आउँदैनन् । किन त ? हर्सेल गिब्सले विशाल शतक बनाए पनि टीमलार्ई जितसम्म पुर्‍याउन सकेका थिएनन् । कपिल देवले ब्याटिङ गर्दा अर्को इन्डबाट पनि रन बनेको थियो र पहिलो इनिङ भएकाले लक्ष्यको दवाव थिएन । योभन्दा महत्वपूर्ण उनीहरू दुवैको शारीरिक अवस्था सामान्य थियो ।

अफगानिस्तानसँग विश्वस्तरीय स्पिनरहरू छन् । रसिद खान, मुजिब उर रहमान र मोहम्मद नाबीले जस्तोसुकै ब्याटिङ युनिटलाई पनि घुँडा टकाउने सामथ्र्य राख्छन् । त्यसैले तपाईं म्याक्सवेलले कमजोर टीममाथि दादागिरी देखाए भन्न सक्नुहुन्न ।

तर, म्याक्सवेलले असामान्य शारीरिक पीडा सहेर दोहोरो शतकीय इनिङ खेले । उनले ब्याटिङ कला मात्रै देखाएनन्, वीरता, अठोट र देशप्रति समर्पणभावको नमूना प्रस्तुत गरे । उनी एउटा खेलाडी होइन, राष्ट्रका लागि युद्धमा उत्रेको लडाकुको रूपमा पेश भए मैदानमा । उनको हातमा ब्याट होइन मानौं, शक्तिशाली मेसिनगन थियो, र सबै साथीहरू ढलिसकेपछि आफू पनि घाइते अवस्थामा एक्लै दुश्मनमाथि हमला गरिरहेका थिए । अन्तिम अवस्थासम्म हार नमान्ने जुन आत्मबल उनले देखाए, त्यो तमाम खेलाडीहरूका लागि सदा प्रेरणादायी रहनेछ । खेलाडीका लागि मात्र किन, सबै मानिसहरूले यसबाट प्रेरणा लिन सक्छन् कि जति खराब अवस्थाबाट पनि पुनरागमन गर्न सकिन्छ ।

म्याक्सवेलको शारीरिक अवस्था सामान्य थियो भने यति प्रशंसा नगर्दा पनि हुन्थ्यो । तर, ब्याटिङ गरिरहँदा उनको शारीरिक पीडा स्पष्टै झल्किएको थियो । उनका खुट्टाहरू चल्नै छोडिसकेका थिए । अर्को इन्डबाट फिटिक्कै रन बनिरहेको थिएन ।

सय रन बनाउँदासम्म म्याक्सवेल सहजरूपमा नै ब्याटिङ गरिरहेका थिए । ‘ह्यूमन’ नै देखिन्थे । तर, शतक पूरा गरेपश्चात उनलाई क्र्याम्प हुन थाल्यो । उनको शरीरको बायाँ भागमा दुखाइ सुरू भयो । ३४ औं ओभरमा पहिलोपटक फिजियो मैदानमा प्रवेश गरे । उनले सामान्य स्ट्रेचिङहरू गराएपछि म्याक्सवेल धन्दामा फर्किए । यहाँबाट उनी ‘सुपरह्यूमन’ को अवतारमा प्रकट भए ।

व्यक्तिगत १४७ रन बनाएको अवस्थामा म्याक्सवेल पीडाले रन्थनिएर मैदानमै ढले । ठानियो, अब उनी बाहिरिनेछन् । फेरि फिजियो आएर सामान्य ट्रिटमेन्ट गरे । अर्को इन्डमा रहेका कप्तान प्याट कुमिन्सले म्याक्सवेललाई रिटायर्ड हर्टका लागि सल्लाह दिए । मैदानबाहिर एडम जाम्पा प्याड लगाएर भित्र आउन तयार भइसकेका थिए । अष्ट्रेलियाको क्याम्पमा निराशा छाइसकेको थियो, किनकी अझै जितका लागि ५८ बलमा ५६ रन बनाउनुपर्थ्यो । म्याच हार्दा अष्ट्रेलियाको सेमिफाइनल सम्भावना चुनौतीपूर्ण बन्न सक्थ्यो ।

म्याक्सवेलले ट्रिटमेन्टका क्रममा फिजियोलाई सोधे, ‘के म बाहिर गएँ भने फेरि फर्किन सक्छु ?’ फिजियोले सम्भावना न्यून रहेको बताए । म्यासवेलले त्यसपछि बाहिर ननिस्किने साहसिक अठोट लिए । उनी धुलो टक्टक्याउँदै उठे । लतारिँदै पिचसम्म गए । हेल्मेट लगाए र ब्याट समाए । अब सुरू भयो सबैभन्दा कठिन लडाइँ ।

म्याक्सवेल रनका लागि दौडिन सक्ने अवस्थामा थिएनन् । खुट्टाहरू जकडिएकाले मन लागेको सट पनि हान्न सक्दैनथे । उनीसँग स्वस्थ थिए, केवल दुई हात । त्यही दुई हातले उनी खेल्दै गए । स्ट्राइकमा आउनका लागि अत्यावश्यक अवस्थामा एकाधपटक घिस्रिदै एक रन पुरा गरे । होइन भने चौका र छक्कामै डिल गरे उनले । बाउन्ड्रीभरि छरिएर बसेका अफगानी फिल्डरहरू रमिते मात्रै बने ।

म्याक्सवेलले हिजो आफ्नो ‘स्ट्रेन्थ’ मा मात्रै खेलेका थिएनन् । उनको मुख्य हतियार ‘स्वीप’ र ‘रिभर्स स्वीप’ लाई मानिन्छ । उनी धेरैजसो छक्का/चौका यीनै दुई सटबाट निकाल्छन् । तर, अफगानिस्तानविरुद्ध उनले आफ्नो यो सीमाभन्दा बाहिर निस्केर धेरैजसो अगाडि सट खेले । उनले कक्रक्क परेर हानेका केही सटहरू पत्याउनै नसकिने थिए ।

एक दिवसीय क्रिकेटमा दोहोरो शतकहरू धेरै बनिसकेका छन् । भारतका रोहित शर्माले नै ३-४ वटा दोहोरो शतक हानेका छन् । तर, अहिलेसम्मसबै दोहोरो सतक पहिलो इनिङमा ओपनिङ ब्याट्सम्यानले हानेका थिए । अर्थात्, उनीहरूले दबाबमुक्त स्थितिमा ब्याटिङ गरेर यो माइलस्टोन पार गरेका हुन् । चेज गर्ने क्रममा दोहोरो शतक हान्ने म्याक्सवेल पहिलो ब्याट्सम्यान बनेका छन् । त्यसमाथि छैटौं नम्बरमा आएर कुनै ब्याट्सम्यानले दोहोरो शतक हान्नेछन् भन्ने कल्पना एकदिवसीय क्रिकेटमा सायदै गरिएको थियो ।

म्याक्सवेल क्रिजमा आउँदा नै संकटमा परिसकेको थियो अष्ट्रेलिया । २९२ रनको लक्ष्य पछ्याउने क्रममा अष्ट्रेलियाले ८.२ ओभरमा चार विकेट गुमाएपछि म्याक्सवेलको इन्ट्री भयो । अफगान बलर अजमातुल्लाह ओमरजाईले लगातार दुई विकेट लिएका थिए, र ह्याट्रिक बल सामना गर्दै थिए म्याक्सवेल । ह्याट्रिक बलबाट उनी बालबाल जोगिए । बलरले म्याक्सवेलको ब्याटबाट एज निकाल्न सफल भए पनि विकेटकिपरसम्म बल ‘क्यारी’ भएन । यद्यपि अफगानले भाग्य परिक्षणका लागि असफल रिभ्यू लिएको थियो ।

म्याक्सवेलले ट्रिटमेन्टका क्रममा फिजियोलाई सोधे, ‘के म बाहिर गएँ भने फेरि फर्किन सक्छु ?’ फिजियोले सम्भावना न्यून रहेको बताए । म्यासवेलले त्यसपछि बाहिर ननिस्किने साहसिक अठोट लिए । उनी धुलो टक्टक्याउँदै उठे । लतारिँदै पिचसम्म गए । हेल्मेट लगाए र ब्याट समाए । अब सुरू भयो सबैभन्दा कठिन लडाइँ ।

१८.३ ओभरमा अष्ट्रेलिया ९१/७ को अवस्थामा पुग्यो । अब औपचारिकतामात्रै बाँकी रहेको प्रतित हुन्थ्यो, अफगानिस्तानको विशाल जितको । टेलिभिजनले अष्ट्रेलियाको जित सम्भाना ३ प्रतिशत र अफगानिस्तानको ९७ प्रतिशत देखाइरहेको थियो । तर, चिहानमा पुगिसकेको इनिङलाई म्याक्सवेलले ब्यूँताएर अफगानिस्तानलाई स्तब्ध तुल्याए । अफगानिस्तान समर्थकका लागि उनको इनिङ कठोर, हिंस्रक, अराजक थियो । तटस्थ दर्शकका लागि भने त्यो एउटा ‘ट्रिट’ थियो, कहिल्यै पुरानो नहुने उपहार थियो ।

म्याक्सवेललाई आउट गर्ने मौकाहरू बलरले सिर्जना नगरेका होइनन् । उनी ३३ रनको अवस्थामा छँदा सबैभन्दा सहज चान्स मिलेको थियो अफगानिस्तानलाई । यदि मुजिब उर रहमानले क्याच नछोडको भए अफगानिस्तान केहीबेरमै विजयउत्सव मनाइरहेको हुन्थ्यो । तर, यो क्याच छुटेपछि म्याक्सवेलले बलर र फिल्डरहरूलाई कुनै मौका दिएनन् । रहमानले सायदै कहिल्यै भुल्न सक्नेछन्, यो मिस्ड क्याच ।

विगतमा अफगानिस्तान टेस्ट राष्ट्रहरूमध्ये तुलनात्मकरूपमा कमजोर टीम मानिन्थ्यो, तर यो विश्वकपमा उसको प्रदर्शन कुनै पनि बलिया भनिने टीमभन्दा कम छैन । पाकिस्तान, ईंग्ल्यान्ड, बंगलादेश र श्रीलंकालाई हराएर ‘जाइन्ट किलर’ का भेषमा प्रकट भएको छ अफगानिस्तान । अझै पनि, अफगानिस्तानको ब्याटिङ भरपर्दो नमानिन सक्छ, तर बलिङको उत्कृष्टतामा शंकै छैन । अफगानिस्तानसँग विश्वस्तरीय स्पिनरहरू छन् । रसिद खान, मुजिब उर रहमान र मोहम्मद नाबीले जस्तोसुकै ब्याटिङ युनिटलाई पनि घुँडा टकाउने सामथ्र्य राख्छन् । त्यसैले तपाईं म्याक्सवेलले कमजोर टीममाथि दादागिरी देखाए भन्न सक्नुहुन्न ।

तस्बिरहरू : क्रिकइन्फो डट कम


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *