विद्युत महसुल नतिर्ने २१ हजार ग्राहकको काटियो लाइन – Nepal Press

विद्युत महसुल नतिर्ने २१ हजार ग्राहकको काटियो लाइन

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले समयमै विद्युत महसुल नतिर्ने २१ हजार ग्राहकको लाइन काटेको छ । विद्युत लाइन काटेर करिब ५० करोड रुपैयाँ असुल गरिएको प्राधिकरणले जनाएको छ ।

प्राधिकरणले विद्युत महसुल बक्यौता असुलीलाई देशभरि अभियानकै रुपमा चलाइरहेको छ । प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले तिहारपछि बक्यौता असुलीलाई अझै सशक्त बनाइने बताए ।

असुलउपर गर्नुपर्ने विद्युत महसुल बक्यौता वृद्धि हुँदै गएपछि प्राधिकरणका देशभरिका वितरण केन्द्रहरुले महसुल नतिर्ने ग्राहकहरुको लाइन काटिरहेका छन् ।

विद्युत महसुल संकलन विनियमावली, २०७८ बमोजिम मिटर रिडिङ भएको १६औं दिनदेखि थप दस्तुर आकर्षित हुने व्यवस्था छ । मिटर रिडिङ भएको मितिले १६औं दिनदेखि ३०औं दिनसम्म ५ प्रतिशतका दरले र ३१औं दिनदेखि ४०औं दिनसम्म १० प्रतिशतका दरले थप दस्तुर लाग्ने प्रावधान छ ।

मिटर रिडिङ भएको मितिले ४०औं दिनसम्म पनि विद्युत महसुल नबुझाउने उपभोक्तालाई ४१औं दिनदेखि बिलको २५ प्रतिशतका दरले थप दस्तुर लाग्ने व्यवस्था छ । यसरी २५ प्रतिशतका दरले थप दस्तुर लागेको ६०औं दिनसम्म पनि बक्यौता महसुल नबुझाएमा लाइन काट्ने व्यवस्था विनियमावलीमा गरिएको छ ।

लाइन काटेको ६ महिनासम्म पनि बक्यौता महसुल नबुझाउने उपभोक्ताहरुलाई कालोसूचीमा राखी असुली प्रक्रिया अगाडि बढाउने प्रावधान छ । विनियमावलीको यही प्रावधानको आधारमा मिटर रिडिङ भएको मितिले ६०औं दिनसम्म पनि बक्यौता विद्युत महसुल भुक्तान नगर्ने उपभोक्ताहरुको चरणबद्ध विद्युत लाइन काटी बक्यौता महसुल असुलउपर गर्ने रणनीति लिइएको प्राधिकरणअनतर्गतको वितरण तथा ग्राहक सेवा निर्देशनालयका उपकार्यकारी निर्देशक मनोज सिलवालले बताए ।

उनले तिहारपछि लाइन काट्ने कामलाई अझै तीब्रताका साथ अगाडि बढाइने जानकारी दिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर