विपत्तिमा हामी
हामी नेपाली जो जहाँ रहे पनि
विविधतापूर्ण कर्म, धर्म र विचारमा लागेको भए पनि
कुनै पनि प्राकृतिक विपत्तिको बज्रपात परेको बेला
असर नपरेका सबैले हर सम्भव उद्धार र
खोजमा जुटी राष्ट्रिय धर्म निभाउनु पर्छ ।
मैले गर्ने हैन उसले भनी पन्छने सोच त्यागी
आत्मबल जगाउँदै राष्ट्रिय एकताको बलको फल पस्कनुपर्छ
प्रभावित क्षेत्रका छरछिमेकहरुले
सर्वप्रथम परस्पर सहयोगमा
सक्नेले नसक्नेको उद्धार र खोजमा जुट्नुपर्छ ।
सञ्चार सञ्जालले व्यापक सूचना प्रवाह गर्नुपर्छ
ढिलो नगरी सेना-प्रहरीहरु परिचालित हुनुपर्छ
घाइते बिरामीहरुको औषधिमुलोको सेवामा डाक्टर-नर्सहरु जुट्नुपर्छ
जनप्रतिनिधि र सरकार प्रभावकारी देखिनुपर्छ
राजनैतिक कार्यकर्ताहरु समेत जागरुक भई योगदान दिन हातेमालो गर्नुपर्छ ।
राहत, पुनःस्थापना र पुनर्निर्माण अभियानमा संघसंस्थाहरु जुटनुपर्छ
यथोचित आन्तरिक र बाह्य सहयोग विनाभेदभाव परिचालन गर्नुपर्छ
शान्ति सुरक्षा र अमनचयन कायम गर्नुपर्छ
रोगव्याधी महामारी रोक्ने हरसम्भव उपाय गर्न
सामाजिक स्वयंसेवी र विषयविज्ञहरुको योगदान हुनुपर्छ ।
यसरी विपत्तिमा जुट्ने र सामना गर्ने
राष्ट्रिय चरित्र निर्माण गर्नुपर्छ
यस्ता साथ, सहयोग र सहानुभूतिबाट
राष्ट्रियता र स्वावलम्वी समाजको प्रवर्द्धन हुनुपर्छ
अनिमात्र नेपाली हुनुमा गर्व हुन्छ ।
विश्व मञ्चमा नेपाल र नेपालीको प्रतिविम्ब राम्रो हुन्छ
यस्तो पवित्र अनुष्ठानको जागरण गर्ने
जोश, जाँगर र राष्ट्रभक्ति अरुबाट होइन
तपाईं, म र हामीबाट भन्ने एकताको सन्देशका साथ
सच्चा राष्ट्रिय एकताको भावना जागरण गर्नुपर्छ ।
२०८०/०७/२२/४