टिकटकमा विवादपछि युवकको हत्या, ७ जना पक्राउ
कैलाली । नेपाल प्रहरीले अछाममा एक युवकको हत्या आरोपमा छिमेकीसहित ७ जनालाई पक्राउ गरेको छ ।
अछामको पञ्चदेवल विनायक नगरपालिका- ८ का १८ वर्षीय दीपेन्द्रबहादुर शाहीमाथि ११ गते ढुङ्गा प्रहार भएको थियो । ढुङ्गा प्रहारबाट गम्भीर घाइते भएका शाहीको १७ गते कर्णाली प्रादेशिक अस्पताल सुर्खेतमा उपचारको क्रममा मृत्यु भएको थियो ।
आजमात्रै काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले हत्याको आरोपमा छिमेकी रहेकी ३० वर्षीया लक्ष्मी सुनारलाई काठमाडौंबाट पक्राउ गरेको छ । उनीसहित अहिलेसम्म ७ जना पक्राउ परेको जिल्ला प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक सन्तोष पाठकले जानकारी दिए ।
घटनाको अनुसन्धान गरिरहेका जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक राजेन्द्र साउदले टिकटकमा भएको विवादका कारण युवकको हत्या गरिएको हुनसक्ने प्रारम्भिक अनुसन्धानबाट देखिएको बताए ।
‘टिकटकमा भएको विवाद बढ्दै गएपछि हत्या गरिएको प्रारम्भिक अनुसन्धानमा देखिएको छ’, प्रहरी निरीक्षक साउदले भने, ‘किटानी जाहेरीमा रहेका सबैलाई हामीले पक्राउ गरिसकेका छौं । थप अनुसन्धान र बयान बाँकी छ ।’