फूलमालाको व्यवसायिक खेतीमा कृषि पढेका युवा पिँढीको लगानीः सबै क्षेत्रको रोजाईमा पर्दै – Nepal Press

फूलमालाको व्यवसायिक खेतीमा कृषि पढेका युवा पिँढीको लगानीः सबै क्षेत्रको रोजाईमा पर्दै

रुपन्देही । बुटवलमा कृषि पढेका नयाँ पिँढीले फूलको व्यवसायिक खेती गरेपछि अहिले सबैको आकर्षणमा परेका छन् । पहिले बाहिरबाट धेरै आयात गर्नुपर्ने फूल तथा मालाहरु उनीहरुको उत्पादनले धेरै थेगेको मात्र छैन उनीहरुको काम देखेर धेरैले यसको खेती थालेका छन् ।

बुटवल उपमहानगरपालिका वडानम्बर १५ मा कृषि अध्यापन गराउने विद्यार्थीले सुरुवात गरेको कृषि फार्ममा अहिले मखमली र सयपत्री फूल र यसको माला तयार गरेपछि अहिले उनीहरुको चर्चा मात्रै बढेको छैन व्यवसाय नै बलियो बन्दै गएको छ ।

फोकस मल्टी एग्रो कन्र्सन एण्ड रिचर्स सेन्टरमा सञ्चालकसहित ओजेटिको लागि आएका कृषि पढ्दै गरेका विद्यार्थीहरूले समेत धमाधम फूलको माला बनाइरहेका छन् । फोकस मल्टी एग्रो कन्र्सनमा राजेश कुँवर, सञ्जय अर्याल, किरण तिमिल्सिना, सरोन भट्टराई सञ्चालक हुन्  । उनीहरू सबै एमएस्सी एग्रीकल्चर पढेका हुन् ।

तिहार फूलको पर्व र उज्यालो पर्वको रूपमा समेत चिनिन्छन् । व्यवसायिक रूपमा यो क्षेत्रमा फूलको माला उत्पादन गर्ने योजनासहित फार्ममा अहिले काम भइरहेको हो । र माला तयारी गरेर भण्डारण गरिएको छ ।

यो समूहले १५ कठ्ठा क्षेत्रफलमा अहिले व्यवसायिक सयपत्री र मखमली फूल खेती गरेपछि अहिले यो क्षेत्र नै उज्यालो भएको छ । बुटवल उपमहानगरपालिका वडानम्बर–१५ चम्कीपुरमा रहेको यो फार्ममा फूल खेतीको अलवा ड्रागन फल खेती र अन्य फलफूल पनि खेती गरिएको छ ।

फार्मका म्यानेजिङ्ग डाइरेक्टर राजेश कुँवरका अनुसार मखमली र सयपत्री फूलले तिहार कुरिरहेको छ र तयारी मालाहरु धमाधम अर्डर भइरहेको छ । १० हजार किलो फूल उत्पादन गर्ने गरी अहिले काम भइरहेको हो । फोकसमा मखमली माला तयारी गरेर राखिएको छ । गतवर्ष पनि यो फार्ममा व्यवसायिक सयपत्री फूल उत्पादन गरिएको थियो ।

निर्माण गरिएको फूलका माला स्थानीय कृषि सहकारीले निर्माण गरेको कोल्ड चेम्बरमा भण्डारण गरेर राखिएको छ । अहिले कृषि पढेर यहाँ ओजेटी गरेका विद्यार्थीले आफ्नो घर वरपर उत्पादन गरेका फूलका मालाहरु यहाँ खरिद गरेर राखिएको छ ।

कुँवरका अनुसार फार्मका सञ्चालक सबै नै कृषि अध्ययन पूरा गरेका तथा पढ्दै गरेका छन् । उनीहरूले जग्गा भाडामा लिएर व्यवसायिक फार्म सुरुवात गरेका हुन् । बुटवलमा फूल खेती गर्दै आएका उनीहरूले विभिन्न स्थानमा सयपत्री खेती तालिमसमेत दिँदै आएका छन् ।

उनीहरूले अहिले रोल्पा, अर्घाखाँची, दाङ जिल्लामा पनि फूल खेती त्यहाँको समूहमार्फत गर्दै आएका हुन् । यसको अलवा बीउ र प्राबिधिक परामर्श अर्घाखाँची, दाङ, कपिलबस्तु, धादिङ, तनहु, रोल्पा, कैलाली, गुल्मी, रामेछापलगायतका जिल्लाहरूमा दिएका छन् ।

२ लाख लगानीमा यो पटक फूलखेती गरेका उनीहरूले तिहारको बेला सबै फूल खपत भएमा आम्दानी हुने अपेक्षा गरेका छन् । अहिलेसम्म करिव ६० देखि ७० हजारसम्मको फूलको माला विक्री भइरहेकाे छ । कुँवरका अनुसार ३.५ कठ्ठा क्षेत्रफलमा ड्रागन फ्रुट, सुन कागती १.५ कठ्ठामा, कुरिलो र आम्बा गरी १ कठ्ठामा खेती भइरहेको छ ।

मुख्य समस्या भण्डारणको

उनीहरुलाई मुख्य समस्या बजार र उत्पादन गरेको फूलको भण्डारणको भएको छ । तयारी माला भण्डारण गरी राख्नको लागि कोल्ड चेम्बर, कोल्ड स्टोरको अभाव भएको कारण पनि पहिला नै उत्पादन गरेका माला राख्न समस्या भएको हो ।

उनीहरूले स्थानीय बुटवल जैविक कृषि उत्पादन सहकारी संस्थाले निर्माण गरेको कोल्ड चेम्बरमा लगेर राख्ने गरेका छन् । जुन स्थान पनि सानो छ । भाडामा लिएर उत्पादित माला राख्दा यसको लागतसमेत बढ्ने गरेको किसानको गुनासो छ । फोकसले पूर्वी नेपालमा उत्पादन गरेकोे किबी फलसमेत बुटवललगायतका स्थानमा विक्री गर्दै आएको छ ।

जसको लागि बुटवलमा कोल्ड स्टोरको अभाव छ । उत्पादन भएको फलफूल र मार्केटिङ्गको लागिसमेत ल्याइएको फलफूलको राख्नको लागि सरकारी निकायबाट एउटा कोल्ड चेम्बर वा स्टोरको माग गरिएको फार्म सञ्चालकहरू बताउँछन्  । तर यसमा ठोस सहयोग नभएको उनको भनाइ छ ।

उत्पादन भएको फूलको विक्रीका लागि विभिन्न होलसेल व्यवायीहरूले अहिले पनि बुकिङ्गको लागि माग गर्ने गरेका छन्  । तर फार्म सञ्चालकले भने आफै बुटवलमा लगेर फूलको माला विक्री गर्ने योजना बनाएका छन् । अन्य भन्दा मालामा २० रूपैयाँ सस्तो र किलोमा ५० रूपैयाँ सस्तोमा फार्मबाट नै विक्री गर्नेसमेत व्यवस्था गरिएको छ ।

सञ्चालक राजेक कुँवर भन्छन्– ‘किसानको पीडा किसानलाई नै थाहा हुन्छ, हामी यो पटक आफै बुटवलमा गएर माला विक्री गर्ने योजना बनाएका छौं, हेराैं के हुन्छ ।’

फार्मबाट ५ सयदेखि ५ सय ५० रूपैयाँ प्रतिकिलोमा सयपत्री फूल विक्री भइरहेको छ । यस्तै फोकसले कट फलावारसमेत विक्री गर्दै आएको छ । ससानो पिसमा विभिन्न सभा समारोहमा उनीहरूले कट फल्वारको माला, स्वागत गुच्चा लगायतका डेकोरेसनको लागि समेत माला उपलब्ध गराउँदै आएका छन् ।

यस्तै अर्का सञ्चालक विबेक ज्ञवाली एमएससी एजी बढ्दै छन् भने विशाल पन्थी फार्म व्यवस्थापक व्यवस्थापन विषयमा स्नातक तह अध्ययन गर्दै आएका छन् । फार्ममा ६÷७ वटा सिटिईभीटीको आईएस्सी अध्ययन गर्दै गरेका र ९ देखि १२ प्राविधिक धारतर्फ कृषि पढ्दै गरेका गरी १७ जना विद्यार्थी ओजेटिको लागि फार्ममा आवद्ध भएका छन् । यो वर्ष २८ जना विद्यार्थीले ओजेटीको लागि काम गरेका छन् ।

उता अर्घाखाँचीमा रहेको एग्रो फोरेष्टी पोलिटेक्निकल इन्ष्टिच्युट मथुरा अर्घाखाँचीमा आईएससी एजी (डिप्लोमा) तह पूरा गरेका विद्यार्थी शुभास खनालले रुपन्देहीमा व्यवसायिक सयपत्री खेती गरेका छन् । बुटवलमा ओजेटी साथै आयोग तयारीको लागि बस्दै आएका उनले पुस्तकमा सैद्धान्तिक रुपमा पढेको कुरालाई व्यवहारमा उतार्नको लागि बुटवल उपमहानगरपालिका वडानम्बर–१२ तामनगरमा व्यवसायी सयपत्री खेती गरेका हुन् ।

यो तिहारमा उत्पादन गर्ने र विक्री गर्ने गरी उनले सुरुवात गरेको फूल खेतीमा अहिले ढकमक्क सयपत्री फूल फुलेका छन् । अर्घाखाँची स्थायी घर भएका उनले आफूले अन्य कृषि पढेका वा पढ्दै गरेका विद्यार्थीहरुको लागि सिकाईको लागि भएपनि खेती गरेको बताएका छन् । मात्रै २० हजार लगानीमा उनले आफ्नै मामाको १ कठ्ठा जग्गामा खेती गरेका हुन् ।

यो बाट करिव १ लाख आम्दानी गर्ने लक्ष्य रहेको बताए । उनले भने–‘पढेर मात्रै पनि भएन, पढेको कुरा व्यवहारमा लागू गर्नको लागि भन्दै व्यवसाय सुरुवात गरेको हुँ ।’ उनले यो बर्ष व्यवसायिक रुपमा फूल खेती सफल भएमा अर्को वर्षदेखि अझ विस्तार गर्ने योजना बनाएको समेत बताएका छन् । पहिलो चरणको फूल उनले विक्री गरिसकेका छन् । जसबाट केही निश्चित आम्दानी भएको उनको भनाइ छ ।

प्लाष्टिकको माला बन्द नहुँदा मर्कामा

सरकारले प्लाष्टिकको माला र भारतबाट फूलको माला आयातमा रोक लगाएपनि खुला सिमानाका कारण त्यो रोकिएको छैन । अहिले पनि चोर बाटो हुँदै नेपालमा भारतीय विषादीयुक्त माला नेपाल भित्रिएका छन् । विषादी राखेर चम्काइएका माला संगै अहिले प्लाष्टिकका माला बजारभरी देखिन्छन् ।

विभिन्न पालिकाहरूले प्लाष्टिकको माला विक्री गर्नमा प्रतिबन्ध लगाउँदै जफतसमेत गरेको छ । तर बुटवलसहित रूपन्देहीका १६ वटै पालिकाहरूले भने प्लाष्टिकका माला बिक्री वितरणमा रोक लगाउन सकेका छैनन् । सियारीले रोक लगाएको सूचना जारी गरेपनि कार्यान्वयनमा आउन सकेको छैन ।

दाङका ४ पालिकासहित केही जिल्लाका स्थानीय पालिकाहरूले स्थानीय उत्पादन प्रवद्र्धनको लागि माला स्वदेशमा नै उत्पादित माला प्रयोग गर्न आग्रह गर्दै प्लाष्टिकका माला विक्रीमा रोक लगाएका छन् । बजारमा विक्रीका लागि राखिएका मालासमेत जफत गरी नष्ट गरेका छन्  । तर ठूला बजारका पालिकामा यो विषय कार्यान्वयनमा नजाँदा समस्या परेको व्यवसायीहरुको गुनासो छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *