एसएसपी लुइँटेलले अनिवार्य अवकाशअघि नै दिए राजीनामा
काठमाडौं । नेपाल प्रहरीका वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) मधुसुदन लुइँटेलले अनिवार्य अवकाशमा जानु अगाडि नै राजीनामा दिएका छन् ।
प्रहरी प्रशिक्षण प्रतिष्ठानमा सहनिर्देशक रहेका लुइँटेल मंसिर ६ गते अनिवार्य अवकाशमा जाँदै थिए । तर, उनले अवकाशको १५ दिनअघि नै राजीनामा दिएका छन् । उनको राजीनामा स्वीकृतसमेत भइसकेको गृह मन्त्रालयले जनाएको छ ।
लुइँटेलले प्रतिष्ठानका कार्यकारी निर्देशक रहेका प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) सन्दिप भण्डारीसमक्ष राजीनापत्र बुर्झाका थिए । प्रतिष्ठानले प्रहरी प्रधान कार्यालय पठाएपछि त्यहाँबाट राजीनामा स्वीकृतिका लागि गृह मन्त्रालय पठाइएको प्रहरी प्रवक्ता प्रहरी नायब महानिरीक्षक (डीआईजी) कुवेर कडायतले नेपाल प्रेसलाई जानकारी दिए ।
उनका अनुसार एसएसपी लुइँटेलले घरायसी कारण देखाउँदै राजीनामा दिएका छन् । एसएसपीबाट डीआईजीपीमा बढुवा हुन पाएको भए उनले थप एक वर्ष सेवा गर्न पाउने थिए ।
लुइँटेल २०७७ पुस २७ गते प्रहरी उपरीक्षक (एसपी)बाट एसएसपी बढुवा भएका थिए । उनले करिब तीन वर्ष एसएसपीको जिम्मेवारी सम्हालेका छन् । एसएसपी हुँदा उनले प्रहरी तालिम केन्द्र जर्गाह नवलपासी, लुम्बिनी प्रदेश प्रहरी कार्यालयमा बसेर काम गरेका थिए । प्रहरी निरीक्षक (इन्सपेक्टर)मा प्रहरी सेवा प्रवेश गरेका लुइँटेलले २८ वर्ष सेवा गरेका छन् ।
सात महिनाअघि नेपाल प्रहरीका १३ एसएसपीको डीआईजीमा बढुवा हुँदा लुइँटेल छुटेका थिए । लुइँटेलसँगै छुटेका एसएसपी चक्रबहादुर सिंह र राजेन्द्रसिंह खड्का अनिवार्य अवकाशमा गइसकेका छन् ।