तिहारमा मादलको महत्व : हराउँदै मौलिक बाजा, नयाँ पुस्तामा छैन आकर्षण – Nepal Press

तिहारमा मादलको महत्व : हराउँदै मौलिक बाजा, नयाँ पुस्तामा छैन आकर्षण

रुपन्देही । गोरखाका प्रकाश नेपाली बुटवलमा मादल बनाउने काम गरिरहेका छन् । २४ वर्षका नेपाली वैदेशिक रोजगारीका लागि कतारसम्म पुगेका थिए । तर, बैदेशिक रोजगारीले उनलाई सन्तुष्टि दिन सकेन ।

कतारमा २ वर्ष बसेर स्वदेश फर्किएका उनी अहिले बुटवलमा साथीहरुसँग मिलेर मादल बनाउने कारखाना चलाएर बसेका छन् । उनीहरु सिजनमा मादल बनाउन विभिन्न ठाउँमा समेत पग्छन् । प्रकाशको यो पुर्ख्यौली पेशा पनि हो ।

‘कतारमा कमाइ सन्तोषजनक नभएर नेपाल फर्केर आफ्नै पुर्ख्यौली सीपको काम थालेको हो’, प्रकाशले भने, ‘सधैं उता बसेर के गर्ने ? अब यसलाई अझै राम्रो बनाउँछु, दैनिक एक हजार जति कमाइ हुन्छ, यसबाट परिवार पाल्न सकिन्छ भन्ने आँट छ ।’

उनका अनुसार मादल बनाउने काठ धादिङ नौबीसेबाट ल्याइन्छ । पहिले पाइने खमारी काठ अहिले पाउन समस्या भएको उनी गुनासो गर्छन् । ‘यो काठ महँगो पर्छ’, प्रकाश भन्छन्, ‘१५ सयदेखि ६ हजारसम्ममा मादल बेच्न गरेका छौं ।’

०००

नेपाली पर्वहरुमध्ये तिहारमा बढी बजाइने बाजा हो मादल । अन्य सांस्कृतिक पर्वहरुमा समेत बजाइने मादल खासगरी तिहारमा अधिकांशले खोज्छन् । तिहार नजिकिएसँगै मादलको बिक्री बढ्छ । तिहारमा देउसीभैलो खेल्नेहरुले नयाँ मादल किन्छन् । पुराना मादल पनि मर्मत गर्ने गरिन्छ ।

तिहार मादल बनाउने र बिक्री गर्नेहरुको लागि उपयुक्त समय पनि हो । अरु समयमा भन्दा तिहारको समयमा मादलको मर्मत र बिक्री धेरै हुने प्रकाश बताउँछन् ।

तिहारको समयमा मादल बनाउन आउनेहरुको घुइँचोले प्रकाश जस्तै बुटवल उपमहानगरपालिका- २ फूलबारी चोकस्थित अस्मिता मादल पसलका विशाल रोक्कालाई भ्याइनभ्याइ छ । उनले मादल बजाउँदाबजाउँदै बनाउने काम थालेका हुन् ।

उनका अनुसार १० वटा मादल बनाउन १ हप्तासम्म समय लाग्छ । ‘ताना काट्न, रंग लगाउन, ताना बुन्न, खरी लगाउन र मादलको फिनिसिङ गर्दा एक हप्ता लाग्छ’, विशालले भने, ‘मादल बनाइसकेपछि धेरै सुकाउन हुँदैन, कम सुकाउन पनि हुँदैन । त्यसैले मादल बनाउँदा निकै ध्यान दिनुपर्छ ।’

धेरै गाह्रो र रिक्सको काम खरी लगाउँदा हुने उनको भनाइ छ । विशालले मादल बनाउन थालेको १५ वर्ष भयो । बुटवल आउनअघि उनले काठमाडौं, पोखरा, गोरखा, तनहुँलगायतका ठाउँमा मादल बनाउने काम गरेका थिए ।

उनी मादल, तवला, ढोलक, खैजडु, दमाहा, ट्याम्पो, डम्मरु, पञ्चेबाजालगायत छालाबाट बनाइने सम्पूर्ण वाद्यवादन बनाउँछन् । मादल बनाएपछि बचेको समयमा उनी दोहोरी साँझ र विभिन्न ठाउँमा आयोजना हुने मेला महोत्सवमा बाजा बजाउने काम पनि गर्छन् । उनलाई मादलसँगै ढोलक पनि बजाउन आउँछ ।

२२ वर्षीय दीपेन्द्र कुलू पनि ६ वर्षदेखि मादल बनाउने काम गर्दै आएका छन् । ‘बावुबाजेले गरेको पुर्ख्यौली काम पनि भयो, यसलाई संरक्षण गर्नुपर्छ भनेर मादल बनाउने काम गरिरहेको हुँ’, उनले भने ।

मादल बनाएर घरपरिवार पाल्न पुगिरहेको उनले बताए । जानेको पेशा मादल बनाउँदा आनन्द आउने उनको भनाइ छ ।

०००

पहिले जस्तो अहिले मादलको व्यापार नभएको जसी मादल पसलका सञ्चालक पदमनारायण मानन्धर बताउँछन् । पछिल्लो समय मादलको व्यापार घट्दो क्रममा रहेको उनको गुनासो छ ।

‘पहिले जस्तो छाला पाइँदैन । मादल बनाउन चाहिने सामग्री पनि पाइँदैन । तिहार शुरु भएपछि मात्रै व्यापार हुने गरेको छ’, मानन्धरले भने, ‘हिजोआज कुनै दिन एकदुई वटा मादल बिक्री हुन्छन्, कहिले त बोहनी पनि हुँदैन ।’

नयाँ-नयाँ प्रविधि भित्रिएकाले पनि मादलको बिक्रीमा कमी आएको उनले सुनाए । उनका अनुसार अहिले त काम गर्ने कालिगढसमेत पाउन मुस्किल छ । ‘अहिले त तिजमा पनि खासै मादलको बिक्री भएन । तिहारमा पनि डेग बजाएर नाच्न थालेकाले मादलको व्यापार कम हुँदै आएको छ’, मानन्धरले भने ।

नेपाली मौलिक बाजा संरक्षण गर्न स्थानीय सरकारले खासै ध्यान नदिएको बाजाकर्मीहरुको गुनासो छ । परम्परागत पेशा गर्दै आएकालाई स्थानीय सरकारले प्राथमिकताका साथ हेर्नसके उनीहरुको मनोबल उच्च बन्ने उनीहरु बताउँछन् ।

उनीहरुका अनुसार स्थानीय सरकारले मादललगायतका बाजाहरुको बजारीकरण गर्न सहयोग गर्ने, मादल बनाउन काठ गिड्ने, खोल्ने मेसिनलगायतका उपकरण उपलब्ध गराउन सके मौलिक बाजा र पेशाकर्मीहरुको संरक्षण हुनेछ । यसले यस पेशामा नयाँ पुस्ता आकर्षित हुने उनीहरुको भनाइ छ ।

मादल बनाउन मेहनत लाग्ने, दुःख पनि धेरै गर्नुपर्ने र भने जस्तो कमाइ पनि नहुने भएकाले नयाँ पुस्ता आकर्षिणत नभएको वाद्यवाधक दिनेश परियार बताउँछन् ।

कतैबाट यस पेशाको संरक्षणको योजना नबनेकाले पनि मादललगायतका पुरानो एवं मौलिक बाजा र पेशानकर्मी संकटमा परेको उनको भनाइ छ । ‘पुरानो पुस्ताले छोड्दै गए, नयाँ पुस्ताले यसमा मुनाफा नदेखेपछि गर्ने कुरा भएन । त्यो कारण पनि यो प्रविधि हराउने र सबै बाहिरबाट आयात हुने अवस्था आउँदैछ’, उनले भने ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर